+
+

बीआरआई लक्षित शंकर पोखरेलको प्रश्न : छिमेकी राष्ट्रबाट ऋण लिनु गलत हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १२:०७
फाइल तस्वीर

७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले छिमेकी राष्ट्रबाट ऋण लिन सकिने बताएका छन् ।

चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा सत्तारुढ दलहरूभित्र छलफल चलिरहेका बेला एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ देखि २० मंसिरसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजना अनुदानमा मात्रै लिने कि ऋणमा समेत लिने गरी कार्यान्वयन सम्झौता गर्ने भन्न विषयमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा फरक मत रहँदै आएको छ ।

कांग्रेसले अनुदानमा मात्रै परियोजना लिन सकिने मत राख्दै आएका छ भने एमालेले सहुलितपूर्ण ऋण लिने गरी सम्झौता गर्नुपर्ने मत राखेको छ । दुई दल आ–आफ्नो अडानका बीचमा पनि अगाडि बढ्ने बाटो खोजिरहेका छन् ।

यही समयमा एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालबाट छिमेकी राष्ट्रबाट ऋण लिन सकिने बताएका हुन् ।

एमाले महासचिव पोखरेलले चीनसँगको व्यापार र पारवाहन सम्झौताको पनि बचाउ गरेका छन् । उनले लेखेका छन्, ‘नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवाहन सम्झौता गर्नु गलत हो ?’

एमालेले शुक्रबार राजधानीमा जागरण सभा गर्दैछ । जागरण सभा अगाडि यसलाई समेत जोडेर एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा विभिन्न ९ वटा प्रश्न पोष्ट गरेका हुन् ।

१. नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?

२. के नेकपा(एमाले)ले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?

३. नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघिसार्नु गलत हो ?

४. नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो ?

५. नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चिनसँग व्यापार र पारवाहन सम्झौता गर्नु गलत हो ?

६. के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप बन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?

७. के नेपालले भैरहवा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअररुटको माग गर्नु गलत हो ?

८. के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारूपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?

९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?

विभिन्न ९ वटा प्रश्न गर्दै महासचिव पोखरेलले प्रश्न जायज लागे साथ दिन आग्रह गरेका छन् ।

‘यदी यसो गर्नु गलत लाग्छ भने नेकपा (एमाले) को विरोध जायज हुन सक्छ । होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ’ महासचिव पोखरेलले लेखेका छन् ।

महासचिव पोखरेल अगाडि लेख्छन्, ‘काम गर्नेलाई हौसला देऊ । कमी कमजोरी भए सुझाव देऊ । विकल्प भए विकल्प देऊ । अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरूप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?