
नेकपा माओवादी केन्द्रका कीर्तिपुर नगरपालिकाका उम्मेदवार प्रा.डा. शिवशंकर महर्जनले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शुक्रबार उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा लगायतको उपस्थितमा आयोजित कार्यक्रममा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।
प्रतिबद्धता पत्रमार्फत उनले आफू भरतपुर महानगरपालिका जस्तै विकसित र समृद्ध नगरपालिका बनाउने लक्ष्य चुम्ने बताएका छन् ।
‘भरतपुर महानगरपालिका जस्तै विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र उम्मेदवारलाई जिताए मात्रै हामीले त्यो लक्ष्य चुम्न सक्छौँ,’ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा भनिएको छ ।
भरतपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेनु दाहाल मेयर छिन् । मेयर दाहालजस्तै लक्ष्य प्राप्तका लागि लाग्ने भन्दै कीर्तिपुरका मेयर उम्मेदवार महर्जनले विभिन्न १० बुँदामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
‘ज्येष्ठ नागरिक तथा एकल महिलालाई प्रति महिना प्रदान गरिने सामाजिक सुरक्षा भत वितरण तथा नवीकरण प्रक्रियालाई सजिलो र प्रभावकारी बनाइनेछ,’ उनको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘वृद्ध, अशक्तहरूलाई घरमै पुर्याउने व्यवस्था गरिनेछ।’
साथै, ८० वर्ष उमेर पुगेका नागरिकलाई जुनसुकै अस्पतालमा निःशुल्क उपचार गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4