+

सिटीको खराब लय कायमै, टोटनहामसँग फराकिलो हार

२०८१ मंसिर  ९ गते ७:२० २०८१ मंसिर ९ गते ७:२०
सिटीको खराब लय कायमै, टोटनहामसँग फराकिलो हार

९ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा सिटीलाई उसैको मैदानमा टोटनहाम हटस्परले ४-० गोलअन्तरले हराएको हो ।

टोटनहामको जितमा जेम्स म्याडिसनले दुई गोल गरे भने पेड्रो पोरो र ब्रेनान जोनसोनले एक-एक गोल गरे । दुवै हाफमा दुई-दुई गोल भए ।

खेलको १३औं मिनेटमा म्याडिसनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५२औं मिनेटमा पोरोले गोल गर्दै टोटनहामलाई ३-० को अग्रता दिलाउँदा इन्जुरी समयमा जोनसोनले गोल गरेपछि टोटनहाम ४-० ले विजयी भयो ।

यस हारपछि सिटी १२ खेलमा २३ अंक जोड्दै दोस्रो स्थानमा यथावत् छ भने एक खेल कम खेलेको शीर्षस्थानको लिभपरपुलसँग ५ अंकको दूरी भइसकको छ । जितपछि टोटनहाम भने १९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।

जारी सिजन सिटीको यो लगातार पाँचौं हार हो । सिटीले ईएफएल कप र च्याम्पियन्स लिगमा एक-एक खेलसहित प्रिमियर लिगमा लगातार तीन हार व्यहोरेको हो ।

खराब फर्मका बीच प्रशिक्षक पेप ग्वार्डिओलाको सम्झौता भने आगामी २ वर्षका लागि नवीकरण गरिएको छ ।

आर्सनल र चेल्सीको जित

गएराति नै भएका अन्य खेलहरूमा आर्सनल र चेल्सीले पनि जित निकालेका छन् । आर्सनलले नोटिङहाम फरेस्टलाई ३-० ले हराउँदा चेल्सीले लेस्टर सिटीलाई २-१ ले हरायो ।

आर्सनलको जितमा बुकायो साका, थोमस पार्टे र इथान न्वानेरीले १-१ गोलको योगदान गरे । जितसँगै आर्सनल १२ खेलमा २२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । नोटिङहाम १९ अंकसहित सातौं स्थानमा छ ।

त्यस्तै चेल्सीको जितमा  निकोलस ज्याकसन र एन्जो फर्नान्डेजले एक-एक गोल गरे । लेस्टरका जोर्डन आयूले पेनाल्टीमार्फत गोल फर्काएपनि हार टार्न पर्याप्त रहेन ।

जितपछि चेल्सी १२ खेलमा २२ अंकसहित तेस्रो स्थानमा छ भने १० अंक मात्र जोडेको लेस्टर १६औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग टोटनहम म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय