+
+

एमालेले भन्यो– बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १०:५१

९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ ।

यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताए । ‘केन्द्रीय कार्यालयमा पत्र आएको छैन । पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन,’ अधिकारीले भने, ‘हामीले के गरेका छौं र जरिवाना तिर्ने ?’ सभा सकिएलगत्तै आफैं सफा गरेकाले महानगरपालिकाले सामाजिक सन्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको उनले बताए ।

‘हामीले कार्यक्रम गर्‍यौं, आफैं सफा पनि गर्‍यौं । त्यसैले पत्रको जवाफ दिइरहनु पर्दैन,’ अधिकारीले भने ।

मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले त मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सन्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?