+
+

सभामुख घिमिरेलाई कम्बोडियमा *विशेष सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १०:१६

९ मंसिर, काठमाडौं । कम्बोडियन संसदले सभामुख देवराज घिमिरेलाई *विशेष सम्मान गरेको छ ।

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेको भन्दै सभामुख घिमिरेलाई कम्बोडियन संसदले विशेष सम्मान दिएको ‍उनको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । भ्रमणका क्रममा सभामुख घिमिरेले कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताए ।

नेपालमा सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट संघीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

सभामुख घिमिरेले कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकोमा खुसी व्यक्त गरे ।

सभामुख घिमिरेले नेपाल सरकार र कम्बोडिया सरकारबीच सम्पन्न हवाई सेवा सम्झौताले जनताबीचको सम्पर्कलाई थप वृद्धि गर्ने विश्वास पनि व्यक्त गरे ।

सभामुख घिमिरेले आइतबार बिहान प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरे ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका हुन् ।

भ्रमणका क्रममा सभामुख घिमिरेले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामुख घिमिरे मंसिर ११ गते स्वदेश फर्कने छन् ।

(*यसअघि समाचारमा विशेष  सम्मान हुनुपर्नेमा ‘गार्ड अफ अनर’ उल्लेख भएकाले सच्याइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?