
९ मंसिर, काठमाडौं । मंसिर महिनामा उमेरहदका कारण दुई अतिरिक्त महानिरीक्षक (एआईजी) अनिवार्य अवकाशमा जाँदैछन् ।
एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी केदार ढकाल र भीम ढकाल अनिवार्य अवकाशमा जान लागेका हुन् । केदार ढकाल २२ मंसिरदेखि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाने प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले जनाएको छ ।
त्यसको करिब एक सातापछि २८ मंसिरमा अर्का एआईजी भीम ढकाल पनि अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावली २०७१ अनुसार प्रहरीको ३० वर्षे सेवा अवधि भए पनि उनीहरू एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अकाशमा जाने भएका हुन् ।
उनीहरूपछि एआईजी किरण बज्राचार्य पनि यही १४ पुसमा उमेरहदकै कारण अनिवार्य अवकाशमा जाँदैछिन् । उनीहरू सबै हालका आईजी वसन्तबहादुर कुँवरका ब्याची हुन् । उनीहरू २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
यता अवकाशमा जानु दुई साता अघि मात्रै सरकारले डीआईजी केदार ढकाललाई एआईजीमा बढुवा गरेको थियो । यसअघि पनि डीआईजी किरण राणालाई अवकाशमा जाने दुई दिनअघि १३ कात्तिकमा एआईजी बढुवा गरिएको थियो । एआईजीको फुली लगाएकी उनी १५ कात्तिकमा अवकाशमा गएकी थिइन् ।
प्रतिक्रिया 4