+
+
स्थानीय उपचुनाव :

केन्द्रका नेताहरुले गुलजार ग्रामथान, को–को आए, को–को आउँदैछन् ?

मोरङको ग्रामथानमा उपचुनाव हुन गइरहे पनि केन्द्रका नेताहरुको भिडभाड जारी छ। धेरै नेताहरु गाउँमा पुगिसकेका छन् । केही आउने क्रममा छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८१ मंसिर ९ गते २०:३३

९ मंसिर, विराटनगर। मोरङको ग्रामथान गाउँपालिकामा हुने उपचुनावका लागि उम्मेदवारहरुले घरदैलो तीव्र बनाएका छन् । सडक र चोकहरुमा पार्टीका झण्डा र ब्यानरहरु राखिएका छन् ।

उम्मेद्वारका पोष्टर र पर्चा टाँसिएका छन्। प्रचारप्रसारमा ठूला तीन दल कांग्रेस एमाले र माओवादी केन्द्र अगाडि छन् । ग्रामथान गाउँपालिका अध्यक्ष पदमा हुने उपचुनावलाई प्रतिष्ठानकै विषय बनाएकाले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु आफैं खटिएका छन् ।

मोरङ–४ मा पर्ने यो क्षेत्रबाट माओवादीका अमनलाल मोदीले दोस्रो पटक प्रतिनिधि सभा सदस्य जितेका छन् । त्यसैले मोदीले उपचुनावलाई आफ्नो प्रतिष्ठा ठानेका छन् । त्यसैले माओवादीको ठूलै पंक्ति उपचुनावमा खटिएको छ ।

पूर्वमन्त्री मोदीलाई साथ दिनेगरी प्रदेश इन्चार्ज हरिबोल गजुरेलसहित सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ, गोपी अछामी, विजयकुमार विश्वास, कुलप्रसाद साम्बा लगायत चुनावी मैदानमा छन् ।

माओवादीबाट जस्तै कांग्रेसबाट पनि शीर्ष नेताहरु मैदानमा उत्रिएका छन् । केन्द्रीय नेताहरु महेश आचार्य, मिनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, डिला संग्रौला, अमृत अर्याल, गुरु घिमिरे, भीम पराजुलीलगायत नेता ग्रामथानमा केन्द्रित भएका छन् ।

एमालेका शेरधन राई, घनश्याम खतिवडा, विनोद ढकाल, जीवन घिमिरे लगायत पनि घरदैलो अभियानमा छन् । अरु पनि केही नेताहरु आउने क्रममा रहेको पार्टीले जनाएको छ ।

उपचुनावका लागि एमालेबाट तुलसीराम विश्वास अध्यक्ष पदका उम्मेदवार छन् । कांग्रेसबाट बलराम सरदार, माओवादीबाट नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी लगायत उम्मेदवार छन् ।

यस्तै नेमकिपाबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी छन् । एमालेले टिकट नदिएपछि चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

२०७४ सालको चुनावमा एमालेका शिवनारायण माझी यो पालिकाको अध्यक्ष निर्वाचित भएका थिए । ४७२० मत पाएर उनले जित्दा निकटतम प्रतिस्पर्धी थिए, जयप्रकाश गच्छदार । गच्छदारले ४६६१ म्त पाएका थिए ।

तर पाँच वर्षपछि २०७९ को चुनावमा एमालेका तिनै माझीलाई १५१२ मतान्तरले पराजित गर्दै गच्छदार अध्यक्षमा विजयी भए । २०७४ मा तत्कालिन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका गच्छदार २०७९ मा कांग्रेसबाट उम्मेदवार थिए । तर गच्छदारको निधन भएपछि उपचुनाव हुँदैछ ।

७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । २०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए । उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २० वटा मतदान केन्द्र छन् । ग्रामथान थारु बाहुल्य क्षेत्र हो ।

आ-आफ्नै दाबी

ठूला दलका उम्मेदवारले सडक पूर्वाधार निर्माण, शिक्षाको गुणस्तर सुधार, सहज रुपमा मल विउ वितरणलाई मुख्य एजेण्डा बनाएका छन् । एमाले उम्मेदवार तुलसीराम विश्वास मतदाताको साथ राम्रो भएका कारण आफूले चुनाव जित्ने दाबी गर्छन् । उनको बुझाइमा एमालेको प्रतिस्पर्धी कांग्रेस हो ।

‘घरदैलोमा मतदाताको फिटब्याक राम्रो पाएको छु, ग्रामथानबासीबाट जति रेस्पन्स पाए नि चुनाव हुन बाँकी छ, तर आजै पनि मलाई बिजयी घोषित गर्दा फरक पर्दैन्,’उनले भने,‘ जनताको समस्या बुझेर उम्मेदवारी दिएको हो ।’

माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको दाबी गर्छन् । जनताबाट राम्रो रेस्पोन्स पाएको बताउँदै उनले भने,‘ जनताले मलाई विजयी गराउनुहुन्छ ।’ माझी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिकबाट ग्रामथान १ को अध्यक्षमा विजयी भएका थिए । जनताको प्रतिनिधि भएर एक कार्यकाल वडामा काम गरेको बताउँदै उनले निर्वाचित भएपछि पालिकाको सुधार गर्ने बताउँदै आएका छन् ।

सो क्षेत्रका सांसद तथा माओवादी नेता अमनलाल मोदी माओवादीले चुनाव जित्ने दाबी गर्छन् । स्थानीय तहमा आफ्नो दलको उम्मेदवार बिजयी भए संघबाट बजेट ल्याएर सहज रुपमा विकास गर्ने उनको दाबी छ । कांग्रेस उम्मेदवार सरदार पूर्व अध्यक्ष गच्छदारले अघि सारेका योजनालाई पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । उनले निर्वाचित भए पालिकाको विद्ययालयमा निशुल्क कपी कलम बाड्ने योजना रहेको बताए ।

‘जयप्रकाशले (पूर्वअध्यक्ष) अघि सारेका योजनाहरु पूरा गर्नका लागि मेरो उम्मेदवारी हो,’ उनले भने,‘ कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास गर्ने योजना छ ।’ ब्लड प्रेसर घरघरमै गएर जाँच्ने र औषधि वितरण गर्ने उनको एजेण्डा छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका नविनकुमार विश्वास स्थानीय तह निर्वाचनमा राष्ट्रीय स्वतन्त्र पार्टीबाट अध्यक्षको उम्मेदवार बनेका छन् । प्रतिनिधिसभा निर्वाचनमा ८८५ मत पाएका उनी पालिका अध्यक्षका लागि घरदैलो अभियानमा छन् ।

पार्टी सभापति रवि लामिछानेलाई वर्तमानसत्ता समीकरणले जवरजस्ती थुनामा राखेकोसहित आफ्ना एजेण्डाहरु प्रस्तुत गरिरहेका छन् । अन्य उम्मेदवारले पनि चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

ग्रामथानमा १६ जना उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धी तीन ठूला दल भएको ग्रामथानका पूर्व शिक्षक तथा सामाजिक अगुवा भरत गुरागाईं बताउँछन् । थारु बाहुल्य क्षेत्रमा पहाडी समुदायको मत निर्णयक हुने उनको बुझाई छ । ‘यहाँ त्रिपक्षीय प्रतिस्पर्धा छ,’ उनी भन्छन्,‘ठूला दुई दल भित्र केही असन्तुष्टि पनि देखिन्छ ।’

कांग्रेस उम्मेदवार सरदार कांग्रेसको संस्थापन इतर समूहका हुन् । उनी उम्मेदवार भएपछि संस्थापनबाट खुलेर सहयोग नभएको कांग्रेसकै नेताहरु बताउँछन् । तर नेपाली कांग्रेस मोरङ उपसभापति भक्तिनाथ माझी भने पार्टीले अघि सारेको उम्मेदवारले चुनाव जित्ने दाबी गर्छन् ।‘ अहिले एमाले माओवादी केन्द्रबीच दोस्रो हुने प्रतिस्पर्धा छ, कांग्रेस पहिलो हुन्छ,’उनले भने ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?