+
+

विपना, पूजा र ऋचा : कुनैबेलाका हिट हिरोइनको ‘उत्साहजनक’ कमब्याक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १२:३४

काठमाडौं । पछिल्लो समय कुनैबेलाका चर्चित कलाकारको जबर्जस्त पुनरागमन भइरहेको छ । अभिनेत्री विपना थापाले झण्डै डेढ दशकपछि ‘ह्रस्व दीर्घ’बाट पुनरागमन गरिन् ।

चन्द्र पन्त निर्देशित फिल्ममा थापाले नगर प्रमुख र आमाको भूमिका निर्वाह गरेकी छन् । यो फिल्ममा उनको अभिनयको समेत प्रशंसा भइरहेको छ । कुनैबेलाकी चर्चित अभिनेत्रीको पुनरागमनले दर्शकको मन पनि जितेको देखिन्छ ।

फिल्म प्रदर्शन भइरहँदा हल भिजिटमा निस्किएकी विपनालाई दर्शकले प्रशंसा गरेका छन् । विपना फिल्ममा फर्किंदा एक दशकको पुस्तान्तरण भइसकेको छ, यद्यपि उनको क्रेजमा कमी नआएको देखिन्छ ।

‘दर्शकबाट पाएको प्रतिक्रियाले एकदमै उत्साहित छु । समग्रमा यो कमब्याकले मेरो अभिनयमा अझै ऊर्जा थपेको छ’ उनले भनिन् । विपना यतिबेला अर्को फिल्म ‘जेरी अन टप’मा समेत व्यस्त छिन् ।

पछिल्लो शुक्रबार रिलिज भएको ‘तेल भिसा’बाट कुनैबेलाका चर्चित दुई अभिनेत्रीको कमब्याक भएको छ । यो पुनरागमनमा समेत उनीहरुले प्रशंसा बटुलिरहेका छन् । यस फिल्ममा पूजा चन्द र ऋचा घिमिरे देखिएका छन्, जो कुनैबेलाका चर्चित अभिनेत्रीहरु हुन् । लामो समयको अमेरिका बसाइपछि उनीहरु अभिनयमा फर्किएका छन् ।

पूजाले फिल्ममा सासूको भूमिका निर्वाह गरेकी छन् । फिल्मको केन्द्रीय कथा उनी वरपर घुमेकाले दर्शकको नजरमा पनि छिन् । कथावस्तुको संवेदनादेखि पारिवारिक सम्बन्धको आयाममा पनि उनको अभिनय प्रशंसनीय छ ।

यो फिल्मबाट कमब्याक गरेकी ऋचाले ‘तेल भिसा’मा कानुन व्यवसायीको भूमिका निर्वाह गरेकी छन् । उनलाई क्रिमिनल लयरको रोलमा देख्न सकिन्छ । वकिलको भूमिकामा उनको अभिनय दमदार देखिन्छ । ‘तेल भिसा’ हेरेका दर्शकले उनको अभिनयलाई अवश्य रुचाउनेछन् ।

फिल्मले बक्स अफिसमा जस्तोसुकै कमाइ गरुन् तर यी अभिनेत्रीको कामले भने अवश्य दर्शकलाई हृदयस्पर्श गर्ने पक्का छ ।

कुनैबेलाका हिट अभिनेत्री पुनरागमन पछिल्लो पुस्ताका दर्शकसँग जोडिने अवसर समेत हो । लामो समयसम्म विदेशिंदा दर्शकको पुस्तान्तरणमा परेको ग्याप मेट्न पनि उनीहरुको पुनरागमन प्रभावकारी हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?