
११ मंसिर, काठमाडौं । न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा असम्बन्धित न्यायाधीशको कार्यसम्पादनबारे प्रश्न उठाएको भन्दै राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको छ ।
अधिवक्ता त्रिलोक बहादुर चन्द लगायतले उनीमाथि अवहेलनामा कारबाही गर्नुपर्ने माग राखी निवेदन दर्ता गराएका हुन् ।
गतसाता दर्ता भएको निवेदनमा सर्वोच्च अदालतमा मंगलबार प्रारम्भिक सुनुवाइ हुनुपर्ने थियो ।
२३ कात्तिकमा न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको संसदीय सुनुवाइका क्रममा सुनुवाइ समितिका सदस्य समेत रहेका ढुंगानाले गण्डकी प्रदेशसभाको विवादका क्रममा न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले गरेको आदेशमाथि प्रश्न उठाएका थिए ।
दलहरूप्रति झुकाव राख्ने व्यक्ति पनि न्यायाधीश भएमा न्यायपालिका प्रवेश गरेपछि ‘राजनीतिक चप्पल’ फुकाल्नुपर्ने भन्दै उनले उक्त आदेशमाथि प्रश्न उठाएका थिए ।
असम्बन्धित न्यायाधीशले गरेको आदेशका बारेमा प्रस्तावित न्यायाधीशलाई प्रश्न सोधेको र त्यस्ता गतिविधिले न्यायपालिकाको मर्यादामा प्रहार भएको भन्दै निवेदकहरुले अवहेलनामा कारबाही हुनुपर्ने माग राखेका हुन् ।
उक्त निवेदन मंगलबार न्यायाधीश शारंगा सुवेदीको इजलासमा पेश भएको थियो । गण्डकी प्रदेशसभाको मुद्दामा उनले समेत फैसला गरेकाले त्यसै विषयसँग सम्बन्धित विषयको अवहेलना निवेदन उनले ‘हेर्न नमिल्ने’ भयो ।
मंगलबार अपरान्हसम्म उक्त निवेदन सुनुवाइको अर्को मिति तोकिएको छैन ।
प्रतिक्रिया 4