+
+
स्थानीय तह उपनिर्वाचन :

‘माओवादीको पकड तोड्न एमालेले रुखमा मत हाल्नेछन्’

मतदाता र कार्यकर्ताको चाहना रुकुम पूर्वमा माओवादीको एकाधिकार, नातावाद तथा बेथितिविरुद्ध वैकल्पिक शक्तिहरू एकताबद्ध भएर आउनुपर्छ भन्ने छ । र, त्यसको नेतृत्व एमाले–कांग्रेसले गर्नुपर्छ भन्ने आएकाले गठबन्धन गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १७:२०

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष जित्न नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीले गठबन्धन गरेको छ । अझ रोचक त एमाले नेतृ केशकुमारी तुलाचन कांग्रेसको रुख चिन्हबाट उम्मेदवार बनेकी छन् ।

जसरी पनि माओवादीलाई हराउने नीतिका साथ सत्तारुढ दलहरूबीच यहाँ गठबन्धन भएको बुझ्न सकिन्छ । उपाध्यक्ष पदकी उम्मेदवार तुलाचन पनि माओवादीको पकड तोड्नकै निम्ति आफूले रुख चिन्हमा लड्न तयार भएको बताउँछन् ।

उनी भन्छिन्, ‘माओवादीलाई आफ्नो एकाधिकार जोगाइराख्ने दबाब छ भने हामी रुकुम पूर्वमा चल्दै आएको एकाधिकार तोड्दै जनताको पीरमर्का बुझ्ने जनप्रतिनिधि निर्वाचित गराउन चाहन्छौं ।’

तिनै तुलाचनसँग अनलाइनखबरकर्मी टोपराज शर्माले गरेको कुराकानीको संम्पादित अंशः

तपाई एमालेको नेता, तर कांग्रेसको चुनाव चिन्हबाट लड्दै हुनुहुन्छ । यसबारे प्रष्ट्याइदिनु न ?

यो विषयमा अल्मलिनुपर्ने कारण छैन । गठबन्धन गर्ने भनेपछि एकअर्काको अपनत्व र अस्तित्व रहने मान्यता हुन्छ ।

यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल गर्ने सहमति भयो । सोही सहमति अनुसार उमेदवार एमालेबाट हुँदा चिन्ह कांग्रेसको रहनेगरी छलफल भयो । त्यसो गर्नुको कारण समान अपनत्व होस् भन्ने हो ।

अब एमालेलाई माया गर्ने कार्यकर्ताले उमेदवारलाई हेरेर भोट हाल्छन् र कांग्रेसलाई माया गर्नेले तथा रुख चिन्ह मन पराउनेले आफ्नै चिन्हमा मतदान गर्छन् भन्ने नै हो ।

रह्यो केन्द्रको निर्देशनको कुरा, यो गठबन्धन हामीले केन्द्रको निर्देशनमा गरेका होइनौं । जिल्लाको आवश्यकता र वस्तुस्थितिलाई मध्यनजर गरेर आवश्यकताको आधारमा गरिएको हो ।

यहाँका मतदाता र कार्यकर्ताको चाहना रुकुम पूर्वमा माओवादीको एकाधिकार, नातावाद तथा बेथितिविरुद्ध वैकल्पिक शक्तिहरू एकताबद्ध भएर आउनुपर्छ भन्ने छ । र, त्यसको नेतृत्व एमाले–कांग्रेसले गर्नुपर्छ भन्ने आएकाले गठबन्धन गरिएको हो ।

तपाईका चुनावी एजेण्डा ?

एमाले र कांग्रेसबीच तालमेल भएर म साझा उम्मेदवार भएकाले दुवै पार्टीले साझा प्रतिबद्धतापत्र जारी गरेका छौं, त्यो नै मेरो एजेण्डा हुन् ।

जसमा उपभोक्ता समितिका काम प्रक्रिया र भुक्तानी प्रक्रियालाई छिटो छरितो गर्न पहल गर्ने, गाउँपालिकालाई भ्रष्टाचारमुक्त र नमूना बनाउने मुख्य एजेण्डा हुन् । गाउँपालिकामा रहेका करार कर्मचारीलाई समयमै तलब खुवाउने, पालिकालाई अपांगमैत्री, किसानमैत्री बनाउने, अनुगमनमा जोड दिने, बजेट तर्जुमा गर्दा सबै वडा, बस्ती र लक्षित समूहलाई समान र न्यायोचित वितरणमा ध्यान दिनेछु ।

पालिकाबाट सम्भव नहुने ठूला योजनाको बजेट व्यवस्थापन गर्न प्रदेश र संघीय सरकार समक्ष पहल गर्नेछु । पर्यटन विकास, विद्यालयहरूमा करार शिक्षक व्यवस्था, खेलमैदान, पानीको व्यवस्थापन जस्ता काममा जोड दिनेछु ।

मोराबाड उत्तरगङ्गा खोलामा १ मेघाबाट विद्युत उत्पादन र जनतालाई शेयर बितरण, भौगोलिक विकटता र जनताको असुविधालाई ध्यान दिई प्रशासनिक इकाइहरू १२ नं. वडामा स्थापनाको पहल गर्नेछु । कृषि, जटिबुटी, पशुपालन व्यावसायिकीकरणमा जोड दिने र सडकको पहुँच बढाउने हाम्रा एजेण्डा हुन् ।

तपाईंको जितका आधार ?

यसपटक कांग्रेस र एमाले चुनावी तालमेल गरी चुनावी तालमेलका साथ प्रतिष्पर्धामा रहेका कारण उपाध्यक्ष पदको निर्वाचन निकै रोचक र प्रतिष्पर्धात्मक रहेको आंकलन गरेका छौं ।

विगतका २ वटै स्थानीय चुनावबाट माओवादीले अध्यक्ष, उपाध्यक्ष सहित कार्यपालिकामा बहुमत ल्याएको थियो । तर, माओवादीबाट निर्वाचित जनप्रतिनिधिले जनभावना अनुरूप काम गर्न सकेन । पालिकामा भ्रष्टाचारजन्य क्रियाकलापले प्रश्रय पाएकाले यसपटक माओवादी जनताको रोजाइमा छैन । घरदैलो अभियानमा हामीले जनता फरक सरकार र जनप्रतिनिधिको प्रतिक्षा रहेको पाएका छौं ।

त्यसैले यसपटक माओवादीलाई आफ्नो एकाधिकार जोगाई राख्ने दबाब छ भने हामी रुकुम पूर्वमा चल्दै आएको एकाधिकार तोड्दै जनताको पीर मर्का बुझ्ने जनप्रतिनिधि निर्वाचित गराउन चाहन्छौं । हामीले उपाध्यक्ष जित्ने आधारहरूमा दुवै पार्टीको चुस्त र व्यवस्थित संगठन मुख्य आधार हो ।

माओवादीले जितिरहेकाले जनता जनप्रतिनिधि फेर्न चाहन्छन् ?

‘समृद्ध पुथा, उत्कृष्ट पुथा’ बनाउने भिजन गठबन्धनसँग छ । अर्कातिर पालिकामा हालसम्म भएका बेथिति, बेरुजु तथा मनपरितन्त्र रोक्न जरुरी रहेको जनताको चाहना छ ।

पालिका अध्यक्ष माओवादीका भएकाले उपाध्यक्ष फरक पार्टीबाट आउँदा बेथिति रोकिन्छ । माओवादीको मनपरीतन्त्र रोक्नकै निम्ति कांग्रेस र जनता समाजवादी पार्टीले मलाई समर्थन गरेको हो ।

व्यक्तिगत कुरा गर्दा मेरो जन्म घर र कर्म घर पनि यही हो । मैले २५ वर्षभन्दा बढी यहींका विद्यालयहरूमा पढाएको छु । त्यसकारण जनतासँग म भिजेको व्यक्ति हुँ । संघ र प्रदेश सरकारबाट यहाँ चाहिने आवश्यक बजेट व्यवस्था गर्न सक्छु । यिनै कारण हामीले चुनाव जित्छौं भन्ने लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?