
१२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्माणाधीन नारायण गोपाल संगीत कोषको भवनको अनुगमन गरेकी छन् । अनुगमनको क्रममा उपप्रमुख डंगोलले भवनको संरचना सबैको पहुँचयोग्य हुनुपर्ने बताइन् ।
महानगरले निर्माण गरिरहेको भवनको अनुगमनका क्रममा लिफ्ट जडानको योजना नभएको जानकारी पाएपछि उनले लिफ्ट जडान गर्न समेत निर्देशन दिइन् ।
अनुगमन समितिकी संयोजक समेत रहेकी डंगोलले भवनको भित्री संरचना लैंगिकमैत्री बनाउन समेत निर्देशन दिएकी हुन् ।
‘सार्वजनिक भौतिक संरचना सबैका लागि हुन् । अपाङ्गता भएका व्यक्ति जान नसक्ने भयो भने त्यो अधुरो हुन्छ,’ डंगोलले भनिन्, ‘भवनभित्रका शौचालय महिला र बालबालिकामैत्री हुनुपर्छ ।’
भवन निर्माणका लागि ७ चैत २०८० मा कार्यादेश दिएको दिइएको थियो । यसको निर्माण कार्य आउँदो माघ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्छ ।
भवन करिब २ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ । ४ तले भवनको भूमिगत र बाहिर गरी १० वटा चारपाङ्ग्रे र ५ वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् स्थल हुनेछ ।
इन्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवनको जमिन तला र पहिलो तला कार्यालय प्रयोजनका लागि हुनेछ । दोस्रो तलामा साउन्ड प्रुफ स्टुडियो बनाइनेछ । भवनको बाहिरी स्वरूप परम्परागत नेपाली शैलीको छ ।
भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चारपाङ्ग्रे सवारीसाधन र २० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ । त्यस क्षेत्रमा करिब १ रोपनी जग्गा छ ।
उपप्रमुख डंगोलले बुधबार नै वडा नम्बर २ स्थित गैरीधाराको सहमति मार्गको अनुगमन समेत गरेकी छन् । यस मार्गमा सडक र ढल मर्मत गर्ने काम भएको थियो । २०७९ वैशाख १५ गते सम्झौता भएको यो काम २०८० को असोज मसान्तभित्र सक्नु पर्ने थियो । यस अवधिमा काम नसकिएपछि २०८१ असोज ३० गतेसम्मका लागि म्याद थपिएको थियो । यसका लागि ३७ लाख ३१ हजार रुपैयाँ हो ।
प्रतिक्रिया 4