+
+

अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने खालका नेपाली फिल्म बनाउनुपर्छ : राष्ट्रपति पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १९:२०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह गर्नुभएको छ ।

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रलाई पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँंग जोड्न यस अवसरमा सबै कलाप्रेमी महानुभावहरुलाई आह्वान गर्दछु । यसमा नेपाल सरकारले आवश्यक नीति, नियमसहित पर्याप्त पूर्वाधार र स्रोतसाधन जुटाउन सहयोग गर्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले ठूला ठूला विषयवस्तुभन्दा गाउँ समाजमा देखिएका स-साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जर्गाना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताए ।

पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गरे । राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाईमा पु¥याउने बताए ।

चलचित्र चेतना, शिक्षा र नवीन सोचको द्योतक भएको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ फिल्मकर्मीको ध्यान जानुपर्ने उल्लेख गरे । राष्ट्रपति पौडेलले भने, ‘चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यममात्र नभएर यो हाम्रै समाज, जीवन र जगतलाई जीवन्त ढंगले अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि हो । यसका कथा र प्रस्तुतिमा मानिसका भोगाई र समाजका यावत क्रियाकलाप प्रतिविम्वित भएको हुन्छ । तसर्थ, यो समाजको ऐना पनि हो ।’

उनले फिल्मबाट लाभ लिन जरुरी रहेको बताए । भने, ‘आधुनिक युगमा चलचित्र कुनैपनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेशमा सहजै पु¥याउने माध्यम बनेको छ । यसबाट हामीले पनि लाभ लिन जरुरी छ ।’

उनले चलचित्र र मनोरञ्जन क्षेत्रमा देखापर्ने विकृति र विसंगतिलाई नियमन गर्न नियामक निकायकारुपमा रहेको विकास बोेर्डलगायतका निकायले उचित कदम अगाडि बढाउन जरुरी रहेको बताउँदै भने, ‘यस क्षेत्रमा प्रतिभाशाली जागरुक युवाहरुलाई अवसर दिन, राम्रा चलचित्र बनाउने र राम्रो अभिनयलाई उत्प्रेरित गर्नेतर्फ विकास बोर्डको ध्यान सदैव केन्द्रित हुनुपर्छ ।’

सो क्रममा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवी सिंहलाई ३ लाख ७५ हजारसहित प्रमाणपत्र प्रदान गरे ।

उक्त अवसरमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलिँदो ट्रेन्डअनुसार नेपाली फिल्मले आफूलाई सशक्त तुल्याउनुपर्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले अब समायनुकुल र परिवर्तिन परिस्थितीअनुसार यसैवर्ष नयाँ फिल्म कानून संसदबाट पास हुनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उक्त अवसरमा फिल्म प्रदर्शनको क्रममा ज्यान गुमाएका सुरेन्द्रमान तुलाधरलाई मरणोपन्त सम्मान गरियो । उनकी श्रीमती अनितालाई ५० हजार आर्थिक सहयोग प्रदान गरियो ।

सो अवसरमा नेपाली फिल्ममा योगदान दिने ११ फिल्मकर्मीलाई सम्मान प्रदान गरियो । जसमा तैयव शाह, केशव रायमाझी, विद्या कार्की, नारायण प्रधान, नरेन्द्र महर्जन, नन्दकिशोर प्रसाद श्रीवास्तव, भोजबहादुर गुरुङ, अमूल कार्की ढली, ध्रुबकुमार श्रेष्ठ, बुद्धि तामाङ र सविता गुरुङ छन् ।

तस्वीरहरू : विवेक बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?