१२ मंसिर, इलाम । एनआरएनए इलाम गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर २२ गतेदेखि सञ्चालन हुने भएको छ ।
गत वर्षदेखि सुरु भएको एनआरएनए इलाम गोल्डकप प्रतियोगिताको दोस्रो संस्करण मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) सहित संकटा, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक संस्थाका सदस्य निरोज खड्गीले जानकारी दिए । प्रतियोगिताका लागि इलाम नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ भने तारा रोजु सापकोटा च्यारिटेवल ट्रष्टले दोस्रो पुरस्कारका लागि ५ लाख उपलब्ध गराएको छ ।
प्रतियोगिता सम्पन्न गर्दासम्म कुल ९० लाख खर्च हुने आयोजकले अनुमानित बजेट बनाएको संस्थाका सचिव प्रकाश घिमिरेले बताए ।
‘गतवर्ष भन्दा पुरस्कार नै दोब्बर बनाइन्, महंगी बढ्नु तथा खेलमैदान स्तरीकरण गर्न ठूलो खर्च हुनुले यस वर्षको कुल खर्च अत्याधिक वृद्धि हुने देखिन्छ,’ उनले भने ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद ११ हजार रुपैयाँले पुरस्कृत गरिने तथा म्यान अफ द म्याचलाई ७ हजार पाँचसय रुपैयाँले पुरस्कृत गरिने रेडहर्सका सचिव घिमिरेले जानकारी दिए ।
पहिलो संस्करणको उपाधि न्युरोड टिम एनआरटीले जितेको थियो । विजेताले नगद ५ लाख र उपविजेता विर्तामोड युनाइटेडले ३ लाख नगद पुरस्कार प्राप्त गरेको थियो ।
पुर्वी पहाडमा आयोजना हुने खेलकुद प्रतियोगिताहरुमा दर्शक बस्नका लागि स्थायी प्याराफिट नहुदा प्रतियोगिता खर्चिलो हुने गरेको छ ।
दीगो प्याराफिटको अभावमा प्रत्येक वर्ष बाँसको अस्थाई प्याराफिट निर्माणमा नै ठूलो खर्च हुने आयोजक संस्थाकी कोषाध्यक्ष अस्ना श्रेष्ठले बताइन् । बाँसको प्याराफिट बनाउने बाध्यता रहेको बताउदै उनले भनिन्, ‘एक प्रतियोगितामा बाँसको प्याराफिट मात्र बनाउन १२ लाख खर्च भइरहेको छ, राज्यले स्थायी प्याराफिट बनाइदिए प्रतियोगिता आयोजना खर्च कम हुने थियो ।’
१५ सय ओटा बाँसको प्रयोग गर्दामात्र इलामको ठूलो टुँडिखेलको तीन भागमा प्याराफिट बनाउन पुग्छ भने बाँकी एक भाग अग्लो स्थानमा रहेकोले त्यसलाई प्राकृतिक प्याराफिटको रुपमा प्रयोग गरिँदै आएको छ ।
प्रतिक्रिया 4