
१३ मंसिर, जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका वडानम्बर २ का बस्ती विभिन्न राजनीतिक दलका चुनावी पर्चा र झण्डाले रंगिएका छन् । टेङर, मोहनपुर र महतो टोलका घरका भित्ता र सडक किनारका खम्बाहरुमा रंगीचंगी पर्चा, पम्प्लेट र झण्डाहरु देखिन्छन् । यसबाट यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढेको अनुमान लगाउन सकिन्छ ।
९ भदौमा वडाध्यक्ष मुकेशकुमार यादव शंकास्पद अवस्थामा मृत फेला परेपछि यस वडामा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि स्वतन्त्रसमेत गरी जम्मा १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रबाट मृतक यादवकी श्रीमती आइतीकुमारी यादव उम्मेदवार छिन् ।
नेकपा एमालेबाट सकिबुल खाँ, नेपाली कांग्रेसबाट मोहम्मद जानिफ खाँ, जसपा नेपालबाट मो.नजामुदिन खाँ, रास्वपाबाट खुरसैद खाँ, राप्रपा नेपालबाट मो.मनान खाँ, राजपाबाट राजेशकुमार यादव उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवारहरुमा अशोककुमार यादव, गंगाप्रसाद यादव, धिरेन्द्रप्रसाद यादव, नजामुद्दिन खान, विमलेन्द्रकुमार यादव, मुकेश्वर ठाकुर, मोहम्मद अरमान रजा, मोहम्मद इमामुद्दिन खान, राकेशकुमार यादव, राजदेव यादव, रामअवतार यादव र विजयकुमार यादव छन् ।
उम्मेदवारहरु १८ जना भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले, माओवादी र जसपाबीच हुने अनुमान छ । कांग्रेस, एमाले, जसपा, राप्रपा, रास्वपा र केही स्वतन्त्र उम्मेदवारहरु समेत मुस्लिम समुदायका भएकाले उनीहरुमा मत बाडिँदा हिन्दु समुदायकी माओवादी उम्मेदवार आइती कुमारीले बाजी मार्न सक्ने आँकलन छ । त्यतिमात्र होइन, हालै श्रीमान र सासु गुमाएकाले पनि उनलाई स्थानीयको सहानुभूति मतसमेत प्राप्त हुने सम्भावना छ ।
कांग्रेस–एमालेलाई सहानुभूति मतको डर

२०७९ सालमा निर्वाचित वडाध्यक्ष मुकेशको मृत्युपछि उनकी आमा (माओवादी उम्मेदवार आइतीकुमारीकी सासु) समुन्द्री देवी यादवको पनि तीन साता अघि हृदयाघातबाट मृत्यु भएको थियो । घरमा एकपछि अर्को दुखान्त घटनाले माओवादी उम्मेदवार आइती कुमारीको परिवारप्रति वडाबासीको सहानभूति छ ।
त्यसैले उनलाई माओवादी केन्द्रबाट उम्मेदवार बन्नबाट रोक्न कांग्रेस र जसपाका केही नेताहरुले जोडबलसमेत गरेका थिए । आइती स्वतन्त्रबाट चुनाव लडे सहयोग गर्ने आश्वासन समेत उनीहरुले दिएका थिए । तर उनी माओवादी केन्द्रबाटै उम्मेदवार बनेपछि अरु दलहरुले पनि आ–आफ्नो उम्मेदवार उठाएको स्थानीय बताउँछन् । कतिपले भने शोकमा रहेको व्यक्तिलाई माओवादीले जबर्जस्ती उम्मेदवार बनाएको आरोप समेत लगाउने गर्दछन् ।
तर अनलाइनखबरसँग कुरा गर्दै उनले शोकलाई शक्तिमा बदल्दै श्रीमानका अधुरा काम पूरा गर्न स्वतस्फूर्त उम्मेदवारी दिएको बताइन् । ‘मेरो श्रीमान समाज सेवाको लागि निःस्वार्थ खटिनुहुन्थ्यो । तर आधा कार्यकालमै षड्यन्त्रपूर्ण हत्या भयो,’ आइतीले भनिन्, ‘त्यसैले श्रीमानको बाँकी काम र सपना पूरा गर्न वडाध्यक्षमा उठेकी हुँ ।’ जनताको जोडबलमा चुनावमा उम्मेदवारी दिएको बताउँदै उनले भनिन्, ‘पार्टीले मलाई जबरजस्ती उम्मदेवार बनाएको कुरामा सत्यता छैन ।’
श्रीमानले आधा कार्यकालमै शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधारको प्रयास गरेको, जनताको काममा निःस्वार्थ खटेको र दलितका लागि दलान लगायतका काम गरेको भन्दै उनले अब बाँकी काम आफूले पूरा गर्ने बताइन् ।
२०७९ को नतिजा
यस वडामा २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका मुकेश यादव ४३३ मत ल्याएर निर्वाचित भएका थिए । यादवले कांग्रेस उम्मेदवार मोहम्मद जानिफ खाँलाई ५८ मत अन्तरले पराजित गरेका थिए । कांग्रेसका जानिफले ३७५ मत ल्याएका थिए ।
तेस्रो स्थानमा रहेका जसपाका सकिबुल खाँले ३४२ मत र चौथो भएका एमाले उम्मेदवार कादिर हुसैनले २८७ मत पाएका थिए । लोसपाका उम्मेदवार अहमद रेजा खाँ २४ र जनमतका अशोककुमार यादवले मात्र १७ मत पाएका थिए ।

२०७९ को स्थानीय चुनावमा कांग्रेसका जानिफ खाँलाई पराजित गर्दै वडाध्यक्ष बनेका मुकेशलाई २०७४ को निर्वाचनमा खाँले नै पराजित गरी सिट सुरक्षित गरेका थिए । २०७४ को चुनावमा कांग्रेसका जानिफ खाँ ३७३ मतले निर्वाचित हुँदा मुकेश निकटतम प्रतिद्वन्दी बनेका थिए । यस चुनावमा फेरि कांग्रेसबाटै जानिफ खाँ उम्मेदवार छन् ।
बुधबार दिउँसो साढे ११ बजे कांग्रेस उम्मेदवार जानिफ खाँ मोहनपुरानस्थित आफ्नै घरमा नेता–कार्यकर्तासँग भेटघाटमा व्यस्त थिए ।
अनलाइनखबरसँग कुरा गर्दै उनले २०७४ मा जित्दा गरेको काम तथा समाजमा निरन्तर दिइरहेको योगदानले घरदैलो गर्दा चुनावी माहोल आफू अनुकूल रहेको दाबी गरे । ‘घरदैलो सकाइसकेको छु । अब घरमै यसरी आउने कार्यकर्ता शुभचिन्तकसँग भेटघाट गर्छु’ उनले भने, ‘घरदैलोमा चुनावी माहोल हाम्रो अनुकूल देखियो ।’
पञ्चायतकालदेखि नै समाजसेवा गरिरहेको बताउँदै उनले आफूले विगतमा गरेका कामको वडाबासीले राम्रो मूल्यांकन गरेको विश्वास व्यक्त गरे । ‘विगमा मैले जित्दा सडक, सिंचाइ, मन्दिर मदरसा, खानेपानी, शिक्षा स्वास्थ्यमा सक्दो काम गरेकै छु । त्यसको मूल्यांकन पनि जनताले गरिरहेका छन्,’ उनले भने ।
२०७४ मा जित्दा बाँकी रहेका कामका लागि जनताले फेरि एकपटक अवसर दिने उनको विश्वास छ । बहुदल र पञ्चायतकालमा उनले तत्कालीन बसबिट्टा गाविसका अध्यक्ष र उपाध्यक्ष जितेका थिए ।
प्रतिष्ठा जोगाउने कसरतमा एमाले
रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षको चुनाव एमालेका लागि प्रतिष्ठाको विषय बनेको छ । किनभने मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको गृहवडा हो यो ।
यसपटक एमालेबाट सकिबुल खाँ उम्मेदवार छन् । सकिबुल खाँ २०७९ को चुनावमा जसपाबाट उम्मेदवार थिए । त्यसअघि २०७४ को निर्वाचनमा उनी राजपाबाट उम्मेदवार बनेका थिए । दलबदलका कारण उनीमाथि ‘टुरिष्ट उम्मेदवार’को आरोप लाग्ने गरेको छ ।
यद्यपि बुधबार दिउँसो घरमै कार्यकर्तासँग भेटिएका सकिबुलले आफू २५ वर्ष अघिदेखि नै एमालेमै रहेको सुनाए । विगत २०७४ र २०७९ को दुई चुनावमा पार्टीले आफूसँग टिकटमा बेइमानी गर्दा बाध्य भएर अर्को दलबाट टिकट लिएर लडेको भन्दै उनले आफू एमाले नै भएको जिकिर गरे ।
‘म २५ वर्षअघि पनि नेकपा एमाले नै थिएँ । विगतका बाध्य भएर राजपा र जसपाबाट चुनाव लडें,’ उनले अनलाइनखबरसँग भने, ‘अहिले एमालेले फेरि मूल्यांकन गरेर टिकट दिएकाले चुनावी मैदानमा उत्रेको हुँ ।’
विगतका जनप्रतिनिधिले केही काम नगरेको उनको आरोप छ । एमालेले मधेश सरकारबाट योजनाहरु ल्याएर विकासमा तीव्रता दिएको र आफू जनताका लागि निरन्तर खटिरहेकाले यो चुनावको परिणाम आफ्नो पक्षमा आउने उनको आशा छ ।
जनता समाजवादी पार्टीका उम्मेदवार नजामुद्दिन खान उम्मेदवार छन् । नजामुद्दिनको चुनाव प्रचारमा पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका जसपाका नेता डा. सुरेन्द्र यादव आफैं खटिएका छन् ।
जसपा उम्मेदवार खानले स्वास्थ्य उपचार बिमा, बालबालिकाका लागि पाठ्यसामग्री निःशुल्क वितरण, सामाजिक सुरक्षा घरमै पुर्याइदिने लगायतलाई चुनावी एजेण्डा बनाएका छन् । विगतमा जनप्रतिनिधिले नगरेका काम आफूले गरेर देखाउने उनको भनाइ छ ।
प्रतिक्रिया 4