गर्भावस्थाको नौ महिना विशेष हुन्छ । विशेष हुनुको कारण हो, ९ महिनासम्म सन्तानको पर्खाइ सकिन लाग्नु ।
यही बेला महिलामा अलि बढी डर पनि हुन्छ । किनकि जतिबेला पनि व्यथा लागेर शिशु जन्मिन सक्छ । प्रसवको समयमा हुन सक्ने पीडा त्यसपछि सन्तान वा आफैंलाई केही होला भन्ने डरले महिलालाई पिरोल्न सक्छ ।
अर्कोतर्फ प्रसव गराउने मिति तोकिएको भए पनि त्यसअघि वा पछि जुनसुकै बेला व्यथा लागेर अस्पताल जानुपर्ने हुने भएकाले यो महिना सतर्क हुने र प्रसवको लागि आवश्यक पूर्व तयारी गर्ने बेला हो ।
नौ महिनामा के के हुन्छ ?
लक्षण
– गर्भवती महिलाको औसतमा तौल ११ किलोसम्म बढ्न सक्ने ।
– पेटको आकार बढेसँगै पेट वरपर गाढा, निलो र गुलाबी धर्साहरू देखिन्छ ।
– योनीबाट तरल पदार्थ बग्नु ।
– खुट्टा सुन्निने, थकान लाग्ने, कम्मर दुख्ने, सुत्नमा कठिनाइ, ढाड दुखाइ हुने र सास फेर्न समस्या हुने ।
– बेलाबेलामा पेट कडा ढुंगा जस्तो हुने, थोरै पानी खाए पनि छिनछिनमा पिसाब लाग्ने तर थोरै पिसाब आउने जस्ता समस्या आउँछन् ।
– महिलाको चल्ने तरिकामा परिवर्तन आउने ।
– पेटभित्र शिशुको हलचल पहिलाको भन्दा अलि कम हुने हुन्छ । १२ पटक भन्दा कम हलचल भए तुरुन्त अस्पताल जानुपर्छ ।
– मन्द, छोटो व्यथा समय-समयमा लागेर हल्का दुखाइ हुने र हराउने हुन्छ । तर पाँच मिनेटको अन्तरमा व्यथा लागेर दुखाइ बढिरहेको छ भने पक्का व्यथा लागेको हुनुपर्छ । यस्तोमा अस्पताल गइहाल्नु उचित हुन्छ ।
– अचानक योनीबाट अत्यधिक पानी बगेमा पनि अस्पताल जानुपर्छ । यसरी पानी धेरै आउनु भनेको व्यथा लागेको संकेत हो ।
बच्चामा विकास
– बच्चाको आवश्यक विकास भइसक्छ ।
– कुहिनो, घुँडा र काँधको वरपर बोसो जम्न थाल्छ ।
– बच्चा १९ इन्च लम्बाइ र साढे दुई किलोदेखि साढे ३ किलो आसपासमा बढ्छ ।
– बच्चाको छाला गुलाबी र नरम हुन्छ ।
– बच्चाको टाउको तलपट्टि फर्किएको हुन्छ ।
के परीक्षण गराउने ?
नौ महिनाको समयसम्म गर्भवस्थाको ३६ साता पार भइसकेको हुन्छ । यो समयमा सातैपिच्छे स्वास्थ्य परीक्षण गराउन चिकित्सकलाई भेट्नुपर्छ ।
भेटमा तौल, रक्तचाप, मधुमेह, बच्चाको मुटुको धड्कन, शिशुको आकारको अवस्था, ब्लड काउन्ट र पिसाब परीक्षण गराउनुपर्छ । यो समयमा प्राकृतिक तरिकाले प्रसव गराउने सम्भाव्यता कति छ भनेर हेरिन्छ ।
बच्चा उल्टो, पानीको कमी, रक्तचाप र मधुमेह बढिरहेको अवस्था छ भने समयअगावै शल्यक्रिया हुनसक्छ ।
यदि सबै कुरा सामान्य छ भने मिति दिएको समय वा सो भन्दा ३-४ दिन पर कटाउनु हुँदैन । यस्तोमा व्यथा लागेन भने पनि व्यथा लगाउने सुई दिइन्छ ।
३६ सातापछि प्रसव समय, पूर्वतयारी आवश्यक
सामान्यतया ३८ देखि ४० साताभित्र प्रसव भइसक्नुपर्छ । बच्चाको तौल बढी भएमा, बच्चा उल्टो भएमा वा आमाको रक्तचाप बढेमा तुरुन्त शल्यक्रिया गर्नुपर्ने पनि हुनसक्छ ।
त्यसैले नौ महिना पुगेपछि जुनसुकै बेला व्यथा लागेर वा कुनै जटिलता देखिए प्रसव छिटो गराउनुपर्ने हुँदा पूर्वतयारी गर्नु आवश्यक छ ।
पूर्वतयारीमा कुन अस्पतालमा प्रसव गराउने, अस्पतालमा लाग्ने बजेट खर्च, आमाका लागि अस्पतालमा लाग्ने स्तनपान मैत्री लुगा, प्रसवपछि रक्तस्राव हुनसक्ने हुँदा हस्पिटल प्याड, बच्चाका लागि टाउकोदेखि खुट्टासम्म प्रयोग हुने कपडा, ओछ्याउने सफा तथा नरम ब्ल्यान्केटको व्यवस्था पहिले गर्नुपर्छ ।
यति गरेमा आकस्मिक अवस्थामा छुट्टै दौडधुप गर्नुपर्दैन ।
के खाने ?
गर्भावस्थामा यो खान हुँदैन, त्यो खान हुँदैन भनेको हामी सुन्छौ । विशेषगरी मेवा, मह खानै हुन्न पनि भनेको सुनिन्छ । यो कुराको कुनै वैज्ञानिक आधार छैन । त्यसैले यो भ्रमलाई हटाउनुपर्छ ।
गर्भावस्थामा कब्जियत हुन्छ । त्यसैले शरीरलाई हाइड्रेट राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । साथै, फाइबरयुक्त हरियो सागसब्जी, फलफूल, अन्न र गेडागुडी खानुपर्छ । पालुङ्गोको साग, स्याउ, ब्रोकाउली, मासुलगायत आइरनयुक्त खाना पनि खानुपर्छ ।
गर्भावस्थामा क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ । यसका लागि दही जस्ता दुग्धजन्य पदार्थ सेवन गर्न सकिन्छ । शरीरमा आइरन अवशोषित गर्न कागती, सुन्तला र टमाटर जस्ता भिटामिन सीयुक्त खाना पनि खानुपर्छ ।
के नखाने ?
गर्भावस्थाको नवौं महिनामा कफी, चिया, चकलेट जस्ता क्याफिनयुक्त चीज, धुम्रपान, मदिरापान गर्नु नराम्रो हो । यसले गर्भको शिशुमा प्रत्यक्ष हानि गर्छ । जंक फुड, बाहिरको खाना पनि नखानु नै उचित हुन्छ ।
के गर्ने ?
– जाडो मौसममा गर्भवती महिला न्यानो भएर बस्ने ।
– बिहान र बेलुकी घर वरपर बिस्तारै हल्का घुमफिर गर्ने, मांसपेशी तन्किने खालका व्यायाम गर्ने ।
– तनाव कम लिने ।
– निद्रा राति लागेन भने दिउँसो एकछिन सुतेर पनि पूरा गर्ने ।
– देब्रे कोल्टो परेर सुत्ने ।
– स्वस्थ र खुसी रहन प्रयास गरे बच्चालाई पनि धेरै प्रकारका मानसिक तथा शारीरिक रोगबाट बचाउन सकिन्छ ।
सावधानी
– असामान्य दुखाइ वा लक्षण देखिएमा तुरुन्त अस्पताल जाने ।
– गर्भावस्थामा रोगसँग लड्ने क्षमता हुँदा भीडभाडमा जाने वा सरसफाइमा ख्याल नगर्ने जस्ता गल्ती नगर्ने ।
– तनाव लिइयो भने डेलिभरीको समयमा समेत जटिलता हुनसक्छ । त्यसैले सकारात्मक रहने ।
– झुकेर गर्नुपर्ने काम गर्नु हुँदैन ।
– उत्तानो र घोप्टो परेर नसुत्ने ।
– छोटो तथा लामो दूरीको यात्रा सकेसम्म नगर्ने ।
– चिकित्सकको सल्लाह विना कुनै पनि औषधि सेवन नगर्ने ।
– विज्ञको निगरानी विना कुनै पनि नौलो, भारी व्यायाम र योग नगर्ने ।
– मदिरापान र धुम्रपान नगर्ने ।
– बासी, सडेगलेको र अत्यधिक चिसो खानेकुरा नखाने ।
– यात्रा गर्दा रगत जाने समस्या हुनसक्ने भएकाले सकेसम्म लामो यात्रामा निस्किनु हुँदैन ।
प्रतिक्रिया 4