+
+

युट्युब ट्रेन्डिङमा सांगीतिक विविधता, पछिल्लो साता कुन-कुन गीत छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १२:४४

काठमाडौं । पछिल्लो साता युट्युबको नेपाल ट्रेन्डिङमा (संगीत खण्डतर्फ) विभिन्न स्वाद र शैलीका गीतको विविधता छ । रोचक के छ भने सुशान्त केसीको गीत ‘बार्दली’ रिलिजकै दिनदेखि ट्रेन्डिङमा छ । अहिलेसम्म यो गीतलाई हेर्नेको संख्या दुई करोड नाघेको छ, यो गीतको लोकप्रियता घटेको छैन ।

सुशान्त केसीको संगीत र स्वर रहेको यो गीत-संगीत खण्डको दोस्रो स्थानमा छ । तिहारमा रिलिज भएको यो गीत अहिले पनि टिकटकमा धेरै रुचाइने ट्रयाकमध्ये पर्छ, जसमाथि हजारौं भिडियो बनिरहेका छन् ।

पछिल्लो साता सुशान्तको गीत ‘बार्दली’लाई उछिन्दै अर्का चर्चित गायक स्वप्निल शर्मा र कम्पोजर रोहित शाक्यको गीत ‘बादलसरी’ छ । यो गीतलाई मेकरले ‘मित्रताको गान’ अर्थात ‘एन्थम अफ फ्रेन्डसिप’ भनेका छन् । गत साता रिलिज भएको यो गीतमा स्वप्निल र जोन राई फिचर्ड छन् । यस गीतलाई अहिलेसम्म झण्डै ३० लाख पटक हेरिएको छ ।

ट्रेन्डिङको तेस्रो स्थानमा उर्गेन दोङको ‘हबिबी’ छ । उर्गेनको शब्द, संगीत र गायन रहेको यो गीतमा पल शाह हबिबीको पात्रमा फिचर्ड छन् । मध्यपूर्वको अरबी शैली र नेपालको तामाङ शैलीलाई मिश्रण गरी बनाइएको गीत कर्णप्रिय अवश्य छ । अहिलेसम्म १६ लाख पटक हेरिएको गीतलाई दोङले आफ्नो शैलीमा पस्किएका छन् ।

सूचीको चौथो स्थानमा भोजपुरी गीत ‘आँचरे से बाँधल दिल’ छ । चाँद जी र कल्पना पतोवारीको स्वर समावेश गीतलाई गौरव रोशनले संगीत भरेका छन् । इमरान भाइको शब्द रहेको यो गीतले भोजपुरी संगीतका श्रोतालाई हृदयस्पर्श गर्ने पक्का छ ।

पाँचौं स्थानमा कमल बीसी माल्दाइको लोकगीत ‘भगवानलाई झुक्ने बनाउँछु’ ट्रेन्डिङ छ । रामु खड्काको संगीत, धनबहादुर सुनारको शब्द, कमल बीसी र तुलसी घर्ती मगरको स्वर समावेश छ । यो गीतलाई अहिलेसम्म १७ लाख पटक हेरिएको छ ।

बलिउड गायक योयो हनी सिंहको गीत ‘पायल सङ’ ट्रेन्डिङको छैटौं स्थानमा छ । टी-सिरिजको यो गीतमा नोरा फतेही लगायत फिचर्ड छन् ।

सातौं स्थानमा समेत बलिउड फिल्म ‘भुलभुलैया ३’ को गीत ‘अमी जे तोमार’ छ । माधुरी दीक्षित र विद्या बालन फिचर्ड यो गीत पछिल्लो समय रुचाइएकोमध्ये पर्छ ।

पछिल्लो समय चर्चामा रहेका गायक कुमा सागरको गीत ‘रुक्री म’को ट्रेन्डिङको आठौं स्थानमा छ । नेपाली परम्परागत बाजाहरूको मिश्रणमा तयार पारिएको यो गीतलाई सागरले कर्णप्रिय तुल्याएका छन् । गिटार, बादल, नागराको धुनलाई समेटिएको यो गीत सामाजिक सञ्जालमा पनि चर्चित छ ।

दुई साताअघि रिलिज भएको चिराग खड्काको गीत ‘बन्दुक’ ट्रेन्डिङको नवौं स्थानमा छ । तपाईं ‘५ः५५’लाई पछ्याउनुहुन्छ भने यो गीत नयाँ गिफ्ट हुनसक्छ । युवापुस्तामाझ चर्चित गायक खड्काले यसमा पनि हिपहपमार्फत श्रोता र दर्शकको मन छुने प्रयास गरेका छन् ।

स्पोटीफाइमा रुचाइएका नेपाली गायक योवेश थापाको नयाँ गीत ‘चंगा’ ट्रेन्डिङको दशौं स्थानमा छ । नवौं दिनअघि रिलिज भएको गीतलाई अहिलेसम्म साढे २ लाख पटक हेरिएको छ । सरल शब्द र हृदयस्पर्शी लयमार्फत थापाले विशेषगरी सम्बन्धको आयामलाई उत्खनन प्रयास गरेका छन् ।

थप ट्रेन्डिङका के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’की रोजको नयाँ गीत ‘नम्बर वन गर्ल’ देखि भारतीय फिल्म ‘पुष्पा २’ को नयाँ गीत ‘किसिक’, बादशाहको नयाँ गीत ‘मोरनी’ लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?