+
+
स्थानीय तह उपनिर्वाचन :

भीमदत्त-६ मा उम्मेदवारहरूको अन्तिम दौडधुप

जनक विष्ट जनक विष्ट
२०८१ मंसिर १३ गते १३:१५

१३ मंसिर, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा भइरहेको उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेता-कार्यकर्ता चुनावी प्रचारप्रसारमा सक्रिय छन् भने स्वतन्त्र उम्मेदवारले पनि चुनावी एजेन्डा देखाएर मत मागिरहेका छन् ।

यसपटक दलहरू एकल प्रतिस्पर्धामा रहेकाले उपनिर्वाचनको नतिजा कसको पक्षमा आउँछ भन्ने पूर्वानुमान गर्न गाह्रो छ, तर उम्मेदवारहरु आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् ।

नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार प्रकाश चन्दले सवारी दुर्घटनामा ज्यान गुमाएका तत्कालीन वडाध्यक्षले वडावासीसँग गरेका प्रतिबद्धता पूरा गर्न आफ्नो उम्मेदवारी भएको बताइरहेका छन् । चन्दले दिवंगत अध्यक्ष महेन्द्र खड्काले सुरुवात गरेका कामलाई पूर्णता दिन र वडाको समग्र विकासका लागि उम्मेदवारी दिएकाले मतदाताले जिताउनेमा ढुक्क रहेको बताए ।

‘महेन्द्र खड्काजीले थालनी गरेका कामलाई पूर्णता दिन र उहाँले तत्कालीन समयमा मतादातासँग गरेका प्रतिबद्धता पूरा गर्न मेरो उम्मेदवारी हो,’ चन्दले अनलाइनखबरसँग भने, ‘भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास गर्ने जस्ता १२ बुँदे प्रतिबद्धता जनाएका छौं ।’ चन्दले चुनावी अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै जित सुनिश्चित रहेको बताएका छन् ।

चन्दका मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका नेकपा एमालेका बहादुर चन्दले पनि स्थानीय स्तरको विकास, निर्माणका मुद्दालाई चुनावी एजेन्डा बनाएका छन् । १५ साउनमा मात्र शिक्षकबाट अवकास पाएका चन्दले सडक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, वृद्धवृद्धाको नि:शुल्क स्वास्थ्य परीक्षण, टोलमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रतिबद्धता गर्दै मत मागिरहेको बताए ।

४५ वर्षसम्म शिक्षण पेशामा आबद्ध भएर सेवा गरेको बताउँदै चन्दले भीमदत्त–६ मा आफ्नो विजयी निश्चित भएको दाबी गरेका छन् । ‘मैले जीवनको आधा भन्दा बढी समयमा शिक्षण पेशामा बिताएको छु । मैले पढाएका विद्यार्थी र तिनका अभिभावक मेरा मतदाता हुनुहुन्छ,’ चन्दले अनलाइनखबरसँग भने, ‘त्यसकारण पनि मेरो जित्ने आधार बलियो छ । जित सुनिश्चित छ भन्दा फरक पर्दैन् होला ।’

माओवादी केन्द्रका उम्मेदवार नानाराम कोली जनताको शासकका रुपमा नभई सेवकका रुपमा काम गर्ने बताउँछन् । ढल निकास, सडक निर्माण, सडक बत्ती विस्तार, विद्युत विस्तार, निःशुल्क एम्बुलेन्स सेवा दिने प्रतिबद्धता जनाउँदै मत मागिरहेका कोलीले चुनाव जितेपछि जनताका हरेक समस्या सामाधानमा उभिने बताए । ‘शासक होइन जनताको सेवक भएर काम गर्छु भन्ने प्रतिबद्धता जनाइरहेको छु,’ कोलीले भने, ‘त्यसैले मेरो जित निश्चित छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका रामदत्त भट्ट, सुशासन प्रवद्र्धन गर्दै थिति बसाल्ने प्रतिबद्धता जनाउँदै मत मागिरहेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विद्युतलाई मुख्य चुनावी एजेन्डा बनाएका भट्टले आफूले प्राप्त गर्ने सेवासुविधा सामाजिक कार्यमै खर्चिन बताएका छन् । ‘यिनै प्रतिबद्धताअनुसार नै हामीले काम गर्ने हो । चुनाव जित्ने आधार पनि यिनै हुन्,’ भट्टले भने, ‘चुनावी हामी जित्ने पक्कापक्की हो ।’

एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले जितेन्द्रबहादुर चन्द भने बजारीकरण र कृषिकरणको नारा बोकेर मत मागिरहेका छन् । उनले लागूऔषध दुर्व्यशनी नियन्त्रणलाई पनि चुनावी प्रतिबद्धतामा राखेका छन् ।

‘हाम्रो वडाको केही भाग बजार क्षेत्रमा पर्छ भने केही भाग कृषियोग्य छ । त्यसैले यहाँको कृषि प्रवद्र्धनसँगै बजारीकरण गर्ने मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता छ,’ चन्द भन्छन्, ‘लागूऔषध दुर्व्यशनी नियन्त्रण पनि चुनौतीका रुपमा छ । युवालाई कुलतबाट जोगाउन पनि काम गर्ने योजना छ ।’

राजनीतिक दललाई चुनौती दिदै चुनावी मैदानमा होमिएका स्वन्तत्र उम्मेदवार पनि दलहरुप्रतीको वितष्णाको फाइदा उठाउँदै चुनावको नतिजा आफ्ना पक्षमा पार्न सक्रिय बनेका छन् । कुनै भीडभाड नगरी एक्लै घरदैलो अभियान चलाइरहेका स्वतन्त्र उम्मेदवार थानेश्वर लेखक ११ बुँदे चुनावी घोषणा पत्रअनुसार काम गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।

‘मैले सरसफाईलाई प्रमुख मुद्दा बनाएको छु । चुनाव जितेको दुई महिनामै वडा सरसफाई गर्ने योजना छ । विद्युत लाइनलाई व्यवस्थित बनाउनेछु । महाकाली प्रादेशिक अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा र टाढा लैजानुपरे अनुदान दिने व्यवस्था मिलाइनेछ,’ लेखकले भने, ‘तीन/तीन महिनामा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछौं ।’

लेखकले चुनाव जित्नेमा ढुक्क रहेको दाबी गरेका छन् । ‘घरदैलोमा पुग्ने बितिकै कुनै राजनीतिक दलको उम्मेदवार भएर फर्किएर गइहाल्नु भन्छन् । मैले स्वतन्त्र उम्मेदवार हुँ भन्दा मतदाताले तपाईलाई भोट हाल्छौँ भनिरहेका छन्,’ उनी भन्छन्, ‘त्यसैले चुनावको नतिजा मेरो पक्षमा निश्चित आउँछ ।’

०७९ को चुनावमा वडाध्यक्ष जितेका महेन्द्र खड्काको निधन भएपछि हुन लागेको उपचुनावमा यहाँ १० राजनीतिक दल र दुई जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?