
काठमाडौं । ड्यानी बोयल निर्देशित फिल्म ‘स्लमडग मिलियनेयर’ फिल्म सन् २००८ मा रिलिज भएको थियो । यो फिल्मले ८१ औं अस्कर अवार्डमा ८ अवार्ड जितेको थियो । ७ बाफ्टा अवार्ड यसको पोल्टामा छन् ।
यतिबेला फ्यानलाई खुसीको खबर छ । यो फिल्मको सिक्वेल बन्ने चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सुरु भएको छ । नेटफ्लिक्सका पूर्वकार्यकारी स्वाति शेट्टी र पूर्व सीएए एजेन्ट ग्रान्ट क्यासम्यानले स्थापना गरेको कम्पनी ब्रिज सेभेनले फिल्मको ‘सिक्वेल’ र टीभी राइट्स खरिद गरेको छ ।
यो अधिकार बेलायतस्थित सोलाडोरबाट खरिद गरिएको थियो, जसले फिल्म चार कम्पनीसँग मिलेर २००८ को अस्कर विजेता फिल्मको निर्माणमा लगानी गरेको थियो ।
ड्यानी बोयलले निर्देशन गरेको यो फिल्म विकास स्वरूपको पुस्तक ‘क्यू एन्ड ए’मा आधारित छ । साइमन ब्युफोयले लेखेको ‘स्लमडग मिलेनियर’ १८ वर्षीय जमालको कथा हो । यो पात्र देव पटेलले निर्वाह गरेका थिए ।
फिल्ममा मुम्बईको झुपडी बस्तीको कठिन जीवनलाई नजिकबाट देखाइएको छ । जसकारण जमालले ‘हु वान्ट्स टु बी अ मिलियनेयर’ क्विज शो जित्न आवश्यक जवाफ पाएका थिए ।
सिक्वेलमा देव पटेल, फ्रिडा पिन्टो र अन्य पुराना कलाकार हुने नहुनेबारे स्पष्ट छैन । पटेल जमालको जीवनको अर्को अध्यायको हिस्सा बन्छन् कि हुँदैनन् भन्ने कुरा रोचक हुनेछ । फ्यानले चाँडै राम्रो समाचार सुन्न पाउने जनाइएको छ ।
प्रतिक्रिया 4