
१३ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्व. नेता मदन भण्डारीले तयर गरेको आधारलाई उपनिर्वाचनको माध्यमबाट स्थापित गर्नुपर्ने बताएका छन् । मौन अवधि सुरु हुनुभन्दा अघि बिहीबार पाँगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
कीर्तिपुरले नै मदन भण्डारीलाई स्थापित गरेको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त सच्चाइलाई नबिर्सन आग्रह गरे ।
‘मदन भण्डारीजस्तो नेता जसले कम्युनिस्ट आन्दोलनको नयाँ मान्यता स्थापना गर्नुभयो । जबजको माध्यमबाट सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्नुभयो । समाजवादभित्र लोकतन्त्रको नयाँ मान्यता स्थापित गर्नुभयो,’ महासिव पोखरेलले भने, ‘त्यो नेतालाई स्थापित गर्ने क्षेत्र हो कीर्तिपुर भन्ने सच्चाईलाई मनन गर्नुपर्छ । त्यो कीर्तिपुरको ऐतिहासिकतालाई अहिलेको उपचुनावको माध्यमबाट स्थापित गर्नुपर्छ ।’
उनले सिंहदरबारमा मात्रै लोकतन्त्र आएर नहुने उल्लेख गर्दै जनताको घरदैलोसम्म लोकतन्त्र पु¥याउन एमाले खटिएको बताए ।
‘लोकतन्त्र सिंहदरबारमा आएर मात्रै हुँदैन, जनताको घरदैलोमा जानुपर्छ,’ महासचिव पोखरेलले भने, ‘कीर्तिपुरका जनता सधैँ निरंकुश राजतन्त्रको विरुद्धमा उभिए । कीर्तिपुरका जनताको भावनाको नेतृत्वको रुपमा त्यसलाई लिनुपर्छ ।’
महासचिव पोखरेलले अघि भने, ‘कीर्तिपुर देशभक्तको हो । देशको पक्षमा उभिनुपर्छ भन्ने सन्देश यो चुनावबाट दिनुपर्छ ।’
प्रतिक्रिया 4