+
+

यार्सागुम्बा भन्दै यौनजन्य नक्कली औषधि उत्पादन गरेको आरोपमा ३ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १८:५१

१३ मंसिर, काठमाडौं । यार्सागुम्बा भन्दै यौनजन्य नक्कली औषधि उत्पादन गर्ने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका–२ का ३४ वर्षीय सुजन गौतम, काभ्रेको नमोबुद्ध नगरपालिका–२ का २७ वर्षीय सुजन खड्का र ओखलढुंगाको सिद्धिरचण नगरपालिका–७ का ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे छन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । गौतम र खड्कालाई भक्तपुरको गट्ठाघर र घिमिरेलाई ललितपुरको लुभुबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।

उनीहरूले यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्ध, सिलाजित जस्ता जडिबुटी तयारी पारी बनाइएको यौन क्षमता बढाउने, शक्ति बढाउने स्वास्थ्यमै प्रतिकूल हुने सामानहरू बेचेको पाइएको बोगटीले बताए ।

उनीहरूले हिमाली जडिबुटी भनेर शिखर यार्सा पावर, हिमाली यार्सा प्लस, यार्सा गुम्बा गोल्ड, यार्सा किङ लगायत नाममा सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर भ्रम सिर्जना गर्दै २ हजार देखि २५ सय प्रति बट्टाको दरले बेचेर ठगी गरेको सीआईबीको दाबी छ ।

यो समूहले गट्ठाघरमा सुरेन्द्र श्रेष्ठको घर भाडामा लिएर स्टोर सञ्चालन गरेको थियो भने लुभुमा बायो फुड्स प्रालिको नाममा फ्याक्ट्री सञ्चालन गरेको थियो ।

उनीहरूबाट औषधिजन्य भनिएका नक्कली सामानहरू पनि ठूलो मात्रामा बरामद गरिएको छ ।

२६ लाख ७५ हजार बराबरको यार्सा प्लस, ११ लाख ६५ हजार बराबरको यार्सा किङ, २ लाख बराबरको प्रोटेस्ट केयरलगायत सामानहरू बरामद गरेको छ । ६५ लाख भन्दा बढीको सामान बरामद गरिएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?