+
+

लीलाबल्लभलाई राखेकै कोठामा रविको हिरासत

परिसर स्रोतका अनुसार उनलाई हिरासतको भीआईपी कक्षमा राखिएको छ । यसअघि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ परेका एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी उक्त कक्षमा बसेका थिए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ मंसिर १३ गते १९:२५
रविलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर ल्याउँदै प्रहरी (तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर)

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएको छ ।

बिहीबार साँझ पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं आएका रविलाई हिरासतमा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ उत्रिएका रविलाई त्यहाँबाट प्रहरीले भ्यानमा हालेर परिसर पुर्‍याएको थियो ।

रविलाई ल्याउने काठमाडौं ल्याउने भएपछि विमानस्थल र परिसर भद्रकाली परिसर वरपर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले स्कर्टिङ गर्दै भद्रकाली ल्याएर उनलाई हिरासतमा राखिएको छ ।

परिसर स्रोतका अनुसार उनलाई हिरासतको भीआईपी कक्षमा राखिएको छ । यसअघि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ परेका एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी उक्त कक्षमा बसेका थिए । प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यसअघिका मन्त्रीज्यु बसेकै कक्षमा रविलाई राखेका छौं ।’

भद्रकालीमा परिसरको नयाँ भवन बनेपछि हिरासत कक्ष पनि ठूलो छ । नयाँ भवनको हिरासत अन्य हिरासत भन्दा सफा र बस्नलाई सुविधायुक्त छ ।

भोलि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय खुलेपछि बयानका लागि पेश गरिने प्रहरीले जनाएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागपछि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको हो ।

स्वर्णलक्ष्मीको अनुसन्धानलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले तिव्रताका साथ अघि बढाएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीको फाइल प्रहरी वृत्त कालिमाटीबाट ल्याएर परिसर काठमाडौंले अनुसन्धान अघि बढाउने क्रममा २६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारी ठगी प्रकरणमा तीन चरणमा पक्राउ पुर्जी जारी भएको थियो ।

पहिलो चरणमा प्रहरी वृत्त कालिमाटीकै अनुरोधमा सञ्चालक समितिका व्यक्तिहरुविरुद्ध २१ वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।

दोस्रो चरणमा २ भदौमा पक्राउ पुर्जी जारी भयो । र, अहिले तेस्रो चरणमा २ मंसिरमा रवि लामिछाने र छविलाल जोशीसहित गरी २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । पुर्जी जारी भएकामध्ये सुनिता नेवारलाई २० कात्तिकमा र कमल लामालाई २४ कात्तिकमा परिसरको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर जीबी राईसहित उनको समूहका भने कोही पनि पक्राउ परेका छैनन् ।
स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी परेको ९ महिनापछि बल्ल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यसअघि पूर्वडीआईजी छविलाल जोशी र कुमार रम्तेललाई समेत पोखराबाट काठमाडौं ल्याएर बयान लिइएको थियो । रविविरुद्ध साहारा चितवन सहकारी ठगी प्रकरणमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

मंसिर पहिलो साता २४ जना बचतकर्ताले जाहेरी दिएपछि रविसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारी ठगी प्रकरणमा यसअघि ८ भदौमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यतिबेला जीबीसहित उनको परिवारका भुपेन्द्रबाबु, अनन्तबाबु, देवेन्द्रबाबुसहित १७ जनाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

त्यतिबेला ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो । रविसहितका व्यक्तिविरुद्ध दोस्रो चरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ ।

यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि रविमाथि पक्राउ पुर्जी जारी भएर बयान भइसकेको छ । रविसहितका व्यक्तिविरुद्ध पुरक अभियोजन लैजाने प्रहरीको तयारी छ ।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि रविमाथि अनुसन्धान जारी छ ।

रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ । सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले ३१ भदौमा बुझाएको प्रतिवेदनमा लामिछानेमाथि कारबाही सिफारिस गरेको थियो । सहकारीको रकम अपचलनमा प्रतक्ष्य रुपमा लामिछाने संलग्न नभए पछि सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्चमा उनको भूमिका देखिएको भन्दै कारबाही सिफरिस भएको थियो ।

गितेन्द्रबाबु (जीबी) राई समूहले चलाएका सहकारीहरुको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको ठहर गर्दै संसदीय छानबिन समितिले ३१ भदौमा बुझाएको प्रतिवेदनमा चार जनाको नाम नै किटेर कारबाही गर्न सिफारिस गरेको थियो ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानोपाइला सहकारीबाट ८ अर्बभन्दा बढी रकम अपचलन भएको छ । यसमध्ये ६५ करोडभन्दा बढी रकम लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रवन्ध निर्देशक भएको १४ महिना अवधिमा आएको थियो ।

संसदीय छानबिन समितिको प्रतिवेदनपछि लामिछाने २ कात्तिकमा पार्टी कार्यालय बनस्थलीबाटै पक्राउ परेका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?