
१४ मंसिर, काठमाडौं । दूध किसानले पछिल्लो समय बक्यौता भुक्तानीमा राहत स्वरूप केही रकम पाए पनि पूरै अहिलेसम्म पाएका छैनन् ।
स्थानीय दुग्ध सहकारी संस्थामार्फत दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीहरूले किसानको दूध खरिद गर्दै आएका छन् । कुनै समय ६ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बक्यौता भएका किसानको अहिले बक्यौता केही घटेको छ । तर, नियमित भने हुन सकेको छैन ।
‘१५ असारसम्म दूधको पैसा आइसकेको छ, त्यसपछि आएको छैन । करिब २ लाख रुपैयाँ त मेरो घरको मात्रै छ । गाउँभरिको जोड्दा डेढ करोड होला,’ काभ्रे भुम्लु गाउँपालिकाका स्थानीय किसान नारायण पराजुली भन्छन्, ‘ नियमित नआउँदा साना किसानलाई समस्या धेरै छ ।’
तर, त्यो समस्या भुम्लुको मात्र होइन । काभ्रे, मकवानपुर, चितवन, धादिङ, मोरङ, नवलपरासी जस्ता जिल्लामा किसान समस्यामा छन् ।
नियमित नहुँदा समस्या
दुग्ध उत्पादक सहकारी संस्थाका केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरले नियमित गर्न नसक्दा किसान पलायनको चिन्ता रहेको बताए ।
‘हाम्रो बजार नै सानो छ, त्योमाथि निजी ठूला डेरी उद्योग र डीडीसीले नै नियमित भुक्तानी नदिँदा किसान आत्तिएका छन्,’ कुँवर भन्छन्, ‘देशभरि रहेका दुग्ध सहकारीले संकलन गरेको दूधको बजार नहुँदा कतिपय अवस्थामा उद्योगी पनि समस्या छन् । तर, केही ठूला उद्योगले नियमित रकम तिरिदिने हो भने ठूलो राहत हुने थियो ।’
उनले किसानलाई सहकारी मार्फत उद्योग र डीडीसीसँग जोडिने भएकाले सहजीकरण गर्न सक्दो प्रयास गरिरहेको बताए ।
‘किसानको बक्यौतामा पहिलेभन्दा अहिले केही सहज भएको छ । तर, नियमित भएको छैन । दूध उत्पादन र भुक्तानीको एउटा चक्र बन्ने हो भने समस्या हुँदैन थियो तर त्यस्तो अवस्था अझै बनेको छैन,’ कुँवरले भने ।
नियमित बनाउने प्रयास
डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र अधिकारी भुक्तानी नियमित बनाउने प्रयासमा रहेको बताउँछन् । ‘अहिले बढीमा तीन महिनाको कतै बाँकी होला तर सबैतिर त्यो समस्या छैन । अहिले डीडीसीको बक्यौता भुक्तानी जम्मा ४८ करोड हो । यसलाई पनि नियमित गर्न खोज्दै छौं,’ अधिकारी भन्छन् ।
उनले अघिल्लो वर्षको भुक्तानी ‘ग्याप’ ले अहिलेसम्म दबाब परेको बताए । ‘कोभिड सुरु भएदेखि हाम्रो दूध संकलनको तुलनामा बजार कम भयो, जसले पाउडर, बटर उत्पादन धेरै भयो तर खपत भएन । यसको असर हाम्रो चालु पूँजीमा पर्दै आउँदा अहिलेसम्म त्यसकै दबाब परेको हो,’ उनी भन्छन् ।
सरकारसँग गत वैशाखमा ३० करोड र असोजमा ६० करोड रुपैयाँ लिएको ऋणसहित डीडीसीले १ अर्बभन्दा बढी रकम किसानलाई पठाएको उनको भनाइ छ ।
‘अहिले डीडीसीमा धेरै समस्या छैन जस्तो लाग्छ । तर, अब दूध खपतको सिजन घट्ने हुँदा फेरि केही समय स्टक हुन सक्छ । यो चाहिँ हाम्रो बजारले गर्दा हो । नेपालमै बजार वा विदेशमा नेपाली दूधको बजार निर्माण गर्न सक्ने हो भने समस्या हुँदैन,’ उनी भन्छन् ।
स्रोत नखुलेको दूध खरिद गर्ने बाध्यता छैन
दूध उत्पादन धेरै हुँदा डीडीसीले बजार नपाएपछि मौज्दात हुँदा किसानसँग कोटा प्रणाली लगाएर खरिद गरेको खबरपछि डीडीसीले यसको खण्डन गरेको छ ।
‘नियमित दूध उपलब्ध गराउने कार्यमा निरन्तर आबद्ध दुग्ध उत्पादक सहकारी पशु फार्मबाट दूध खरिद भइरहेको छ । स्रोत नखुलेका उद्योगी, संकलनकर्ताले आफ्नो उद्योगका लागि दूध संकलन गरी आंशिक प्रशोधन गरी त्यस्तो दूध संस्थानलाई खरिद गर्न बाध्य पार्न हुँदैन,’ डीडीसीका अर्का एक अधिकारीले भने ।
डीडीसीले संस्थानलाई नियमित दूध बिक्री गर्दै आएका दुग्ध उत्पादक सहकारी संस्था तथा फार्महरूबाट बिक्री नभए संस्थानका कार्यालयहरूमा खबर गर्न भनेको छ ।
डीडीसीले ५६ वर्षदेखि ४६ जिल्लाका दूध उत्पादक किसानबाट उत्पादित कच्चा दूध संकलन गरेर आमउपभोक्तालाई प्रशोधित दूध तथा दुग्ध पदार्थ बिक्री गर्दै आइरहेको छ ।
हाल दैनिक करिब ७ सय दुग्ध उत्पादक सहकारी संस्थाबाट नियमित दूध संकलन गर्दै आइरहेको र नियमित उपलब्ध गराउने सहकारी संस्था, फर्मबाट संकलनमा कुनै पनि बाधा नभएको दाबी गरेको छ ।
५४२ टन धुलो दूध र ६२० टन मखन मौज्दात
डीडीसीले पछिल्लो दुई वर्षदेखि समस्या भोग्नुका पछाडि धुलो दूध र मखनको अत्यधिक मौज्दात देखाएको छ ।
कात्तिक मसान्तमा करिब ५ सय ४२ टन धूलो दूध र ६ सय २० टन मखन मौज्दात रहन जाँदा भण्डारण स्थल चुनौतीका रूपमा आएको समेत जनाएको छ ।
पछिल्लो समय डीडीसीमा देखिएको समस्या समाधानका लागि खर्च कटौती, प्रविधि विस्तार तथा दीर्घकालीन कर्मचारी दायित्व व्यवस्थापन गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4