
१३ मंसिर, गोरखा । गण्डकी प्रदेशभर गोरखा नगरपालिका वडा ५ एक मात्र क्षेत्र हो, जहाँ उपनिर्वाचन हुदैँ छ । वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा ९ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् ।
वडाकै भए पनि यो निर्वाचनलाई दलका मुख्य नेताहरूले नै आफ्नो राजनीतिक औचित्य र प्रतिष्ठासँग जोड्न पुगेका छन् ।
गोरखाबाट चुनाव लडेर प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उनका एक समयका सहकर्मी अनि प्रतिष्पर्धी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ध्यान यहाँको वडामा केन्द्रित छ ।
प्रचण्डलाई अझै पनि सान्दर्भिक देखाइराख्नका लागि यहाँ उनको पार्टी माओवादी केन्द्रको जितले ठूलै अर्थ राख्छ । जनयुद्धको उद्गम थलो भएकाले पनि गोरखामा हुने राजनीतिक घटनाक्रम र चुनावी नतिजा माओवादीको प्रतिष्ठासँग जोडिने गर्छ । वडा स्तरकै भए पनि यो चुनावलाई माओवादीको अस्तित्वको लडाइका रुपमा पनि हेर्न सकिन्छ ।
त्यसैले प्रचण्ड गोरखा आएर आफ्ना पार्टीका उम्मेदवार विष्णु रानालाई मतदान गरेर जिताउन आग्रह गरे । औपचारिक रुपमा घरदैलो अभियानमा सहभागी नभएपनि मर्निङ वाकको वहानामा सोही वडामा पुगेर उनले रानाको पक्षमा मतदान गर्न वडावासीलाई आग्रह गरेका थिए ।
यसै छेकमा आइपुगे नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराई पनि । हाल उनी संघीय संसदमा त छैनन्, तर उनका लागि पनि यो चुनावको जित अर्थपूर्ण छ । गृह जिल्ला त्यसमाथि हालसम्म चुनावमा हार नव्यहोरेका भट्टराईको प्रतिष्ठासँग यो चुनाव जोडिएको छ ।
दुब्लाउँदै गएको पार्टीलाई सवल बनाउँदै लैजान यो उपचुनावमा उनको पार्टीको जितले इट्टा थप्ने पार्टी पंक्तिको विश्वास छ । त्यसैले भट्टराई आफ्नो पार्टीका अध्यक्ष उम्मेदवार रुपेश मग्रांतीलाई भोट माग्दै घरदैलो अभियानमै सहभागी भए ।
यता कांग्रेसको जित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रतिष्ठासँग जोडिन आउँछ । पाण्डेको आफ्नै गृह जिल्ला त्यसमाथि पनि २०७४ सालको निर्वाचनमा कांग्रेसले जितेको वडा भएकाले पनि अहिले चुनावी नतिजाले कांग्रेसको सांगठानिक पक्षको लेखाजोखा गर्छ ।
प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित नतिजा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो उपचुनावको नतिजाले ठूलै अर्थ राख्छ । पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी भएकाले पनि हारजितले रास्वपाप्रतिको स्थानीय स्तरको बुझाइको लेखाजोखा हुन्छ । त्यसमाथि कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका विगतका गोरखावासी स्वर्णिम वाग्लेको प्रतिष्ठासँग पनि यो उपचुनाव जोडिएको छ ।
उम्मेदवार मंगलबहादुर थापाको चुनावी प्रचारपसारमा सहभागी हुन रास्वपा केन्द्रीय उपसभापति वाग्ले जिल्ला आएका थिए । घरदैलो अभियानमा समेत सहभागी हुदैँ उनले थापाको पक्षमा मतदान गर्न भन्दै मतदातालाई आग्रह गरेका थिए ।
नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको पक्षमा मत माग्न जिल्लादेखि प्रदेश स्तरका नेताहरू तल्लिन छन् । नेपाली कांग्रेसबाट भाइकाजी आले र नेकपा एमालेबाट दुर्गा माया थापा रानाले उम्मेदवारी दिएका हुन् । अन्य दलहरू पनि आफ्ना उम्मेदवारको पक्षमा मत माग्न घरदैलो अभियानमा सक्रिय छन् ।
आफ्नो प्रतिष्ठासँग जोडिएको विषय भएकाले पनि दलका मुख्य ‘लिडर’हरू आफ्नो पार्टीका उम्मेदवारलाई भोट माग्न केही दिनअघि जिल्ला धौडधुपमा व्यस्त थिए । केही नेताहरु भोट माग्दै घरदैलो अभियानमा समेत संलग्न भए ।
प्रतिक्रिया 4