
काठमाडौँ । र्यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतिमा तयार पारेको र्याप शैलीको गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक गरेका छन् । विहिबार विश्वज्योती सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो ।
गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्यापर हाकिम, मोडल युकी, एलिस बाहादुर सिंह लगायतले अभिनय गरेका छन् ।
गीतले त्रिकोणात्मक प्रेमलाई दर्शाउने गायक श्रेष्ठले बताए । उनले भने, ‘गीतमा चिसो हावालाई प्रेम कल्पना गरिएको छ । केही समयको अन्तरालमा ल्याएको यो गीत मलाई मध्यरातमा फुरेको थियो । हाकिम दाईसँग यसको अडियो तयार गरेपछि नेस स्टुडियो र फुजी स्टुडियोले यसको भिडियो परिकल्पना गरेका हुन् । अडियो झैँ भिडियो पनि सशक्त हुनुपर्छ भन्ने लागेर हामीले मेहनत गरेका छौँ ।’
सार्वजनिक समारोहमा उपस्थित अर्का र्यापर गिरिश खतिवडाले र्यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए । ‘यसरी र्यापर अगाडि आएर आफूलाई चिनाउँदै गीत सार्वजनिक गर्दा निकै खुसी लाग्छ । यो गीत अडियो र भिडियो पनि राम्रो बनेको छ । यस्तै कार्यक्रम गरेर यस्ता गतिविधि बढाउनुपर्छ । अहिलेको नयाँ पुस्ताले समेत र्यापलाई राम्रोसँग अगाडी बढाएको देख्दा खुसी छु’, र्यापर खतिवडाले भने ।
र्यापर हाकिमले र्यापरको भेटघाटका लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘हामीले सधै कभर भिडियो बनाएर गीत सार्वजनिक गर्ने गरेका छौँ । आर्थिक अनुकुलता नहुँदा पनि त्यस्तो भएको पाइन्छ, तर यसरी सानै भएपनि कार्यक्रम गर्दा भेटघाटसँगै आत्मियता बढ्छ । एकअर्कासँग सहकार्य गर्ने माहोल बन्छ ।’
कार्यक्रममा शुभकामना दिन र्यापर मानस घले पनि उपस्थित थिए । विवेक मगरको छायांकन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको छ । र्यापर हाकिमको ‘राक्षस’, ‘चोरीदेऊ लौन मलाई’ र ब्रिजेशको ‘रङ्ग’, ‘ओ मैचा’, ‘डल्ली’ लगायतका गीत लोकप्रिय छ ।
प्रतिक्रिया 4