
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको हलिउड फिल्म ‘मोना २’ शुक्रबारदेखि नेपाली हलमा समेत रिलिज भएको छ । वाल्ट डिज्नीको यो म्युजिक एड्भेन्चर फिल्मले नेपालमा ५१ शो पाएको छ, जुन सुखद हो ।
विश्व बक्सअफिसमा यसले २२५ मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण छ । जुन कमाइ ‘थ्यांक्स गिभिङ’ पर्वको बिदा याममा सर्वाधिक हुने बताइएको छ । पछिल्लो समय ‘विक्ड’ र ‘ग्लाडिएटर २’जस्ता फिल्मले उछाल कमाइ गरिरहँदा ‘मोना’को दोस्रो श्रृंखलाले हलिउडलाई लयमा फर्काउने निश्चित छ ।
बुधबार अमेरिकामा रिलिज भैसकेको फिल्मले त्यहाँ ४३.७ मिलियन डलरको ओपनिङ गरेको छ । यो कमाइ कुनै एनिमेटेड फिल्मले बुधबार कमाएको सर्वाधिक अंक हो । यसले डिज्नीकै अघिल्ला एनिमेटेड फिल्महरू ‘फ्रोजन’ र ‘फ्रोजन २’को कमाइलाई समेत उछिन्ने जनाइएको छ ।
५ दिने लामो सप्ताहन्तमा यसले ‘सुपर मारियो ब्रोज’को २०४.६ मिलियन डलरलाई समेत उछिन्ने अड्कलबाजी छ । शुक्रबारदेखि भारतमा समेत प्रदर्शनमा आएको यो फिल्मले भारतमा राम्रै एड्भान्स टिकट विक्री गरेको थियो । १०० मिनेट रनटाइमको फिल्मले नेपाली मल्टिप्लेक्समा पहिलो सप्ताहन्त सुखद कमाइ गर्ने प्रक्षेपण छ ।
अन्य कुन फिल्मलाई कति शो ?
सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ विहिबारदेखि पाँचौ सातामा प्रवेश गरेको छ । फिल्मले शुक्रबार १८१ हाराहारीमा शो पाएको छ । ‘तेल भिसा’ले ८९, ‘ह्रस्व दीर्घ’ले ५३ र ‘मोना २’ले ५१ हाराहारीमा शो पाएका छन् ।
करिब ५० करोड नजिकको दौडमा रहेको प्रक्षेपण गरिएको ‘पूर्णबहादुरको सारंगी’को शो संख्यामा अझै गिरावट छैन । जसको कारण यस सप्ताहन्तमा विजय बराल स्टारर फिल्मको सुखद कमाइ गर्ने अपेक्षा छ ।
प्रतिक्रिया 4