
१४ मंसिर, काठमाडौं । पाटन बहुमुखी क्याम्पसले योग्यताको आधारमा विद्यार्थी भर्ना गरेको भए रामेछापका राजकुमार खत्री नियमित कक्षामा गइरहेका हुने थिए । उनी नियमितजसो क्याम्पस त पुग्छन्, तर कक्षामा बस्न भने पाउँदैनन् ।
योग्यताका आधारमा भर्ना हुन पाएको भए यतिबेला उनी स्नातक तहको बीएससी सीएसआईटीको विद्यार्थीमा दर्ज हुन्थे । तर क्याम्पसका पदाधिकारी र विद्यार्थी संगठन मिलेर नजिकका विद्यार्थी भर्ना गरेपछि आफू भर्ना हुन नपाएको उनको गुनासो छ ।
‘पहिलो, दोस्रो, तेस्रो र चौथो लिस्टसम्म प्रक्रियाबाट भर्ना भएको छ । त्यसपछि पाँचौं लिस्ट निकालिएन । मेरिट मिचेर आफ्नो पकेटको विद्यार्थी भर्ना गरियो,’ खत्रीको आरोप छ ।
योग्यताका आधारमा भर्ना नहुँदा आफूसहित ३० जना विद्यार्थी पढ्नबाट वञ्चित भएको खत्रीले बताए । ‘मेरिटकालाई छोडेर अरु ३० जनालाई भर्ना गरिएको छ । पढ्न पाउने अधिकारबाट वञ्चित भएका छौँ,’ उनले भने, ‘मेरिटमा नपरेकाहरु पनि कक्षामा गएर पढिरहेका छन् । हामी बाहिरै छौँ ।’
त्रिभुवन विश्वविद्यालयले पाटन क्याम्पसलाई सीएसआईटीमा १ सय ४४ जनाको कोटा दिएको छ । योग्यताका आधारमा प्रक्रियाबाट १ सय १४ जना विद्यार्थीको भर्ना भए । नियमअनुसार बाँकी ३० जनाको भर्ना पनि मेरिटको पाँचौं लिस्ट निकालेर हुनुपर्ने थियो ।
चौथो लिस्टमा प्रवेश परीक्षामा उत्तीर्ण भएका १ हजार ७९८ सम्मको नाम छ । त्यसपछि पाँचौ लिस्टमा १८ सयबाट भर्ना हुनुपर्ने हो । पाँचौं लिस्टमा १ हजार ८२८ सम्म छन् । तर क्याम्पसले नियमविपरीत ३ हजार, ४ हजार र ६ हजारको क्रममा रहेकाहरूलाई क्याम्पसले भर्ना गरेको छ ।
क्याम्पसका पदाधिकारी र विद्यार्थी संगठन मिलेर योग्यताभन्दा बाहिरका विद्यार्थी भर्ना गरिएको आरोप पीडित विद्यार्थीहरूको छ । दसैं र तिहारको बीचमा क्याम्पसले योग्यताभन्दा बाहिरका विद्यार्थी भर्ना गरेको पीडित विद्यार्थीको आरोप छ ।
‘विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर भर्ना गर्नुभएको छ । भर्नाको भौचर पनि काट्नु भएको छ,’ खत्रीले भने, ‘क्याम्पसमा पनि भागबन्डा गरेर विद्यार्थी भर्ना गर्न मिल्छ ?’
आफूहरूको भर्ना नभएपछि पीडित विद्यार्थीहरू निमित्त क्याम्पस प्रमुख उषा जोशी र सीएआईटी कार्यक्रमका संयोजक दधिराम घिमिरेलाई भेटेर आफ्नो समस्या राखे । तर क्याम्पस प्रमुख र कार्यक्रम संयोजकबाट सुनुवाइ नभएको खत्रीले बताए ।
‘विद्यार्थी संगठनसँग मिलेर जानुपर्छ । यही क्याम्पस मात्र कुरेर बस्ने हो ? भनेर प्रश्न गर्नुभयो,’ खत्रीले भने, ‘हाम्रो एक वर्ष खेर जाने भयो । बारम्बार बिन्ती गर्दा पनि मान्नु भएन । निजी क्याम्पसमा पढ्न ८/९ लाख लाग्छ । निम्न वर्गका हामीले यति धेरै पैसा तिरेर प्राइभेटमा पढ्न सक्दैनौं ।’
मेरिटको नाम निकाल्नुको सट्टा क्याम्पसले उल्टै धम्क्याउने गरेको गुनासो विद्यार्थीहरूको छ । ‘कार्यक्रम संयोजक सरले मेरो पेनसमेत भाँच्दिनुभयो । हाम्रो समस्या राख्दा भिडियो खिचेको हो भनेर धम्क्याउनु भयो,’ खत्रीले भने ।
पीडित विद्यार्थीहरू तिहारअघिदेखि नै बारम्बार क्याम्पस धाइरहेका छन् । तर क्याम्पसका पदाधिकारीले जो पहिला आयो त्यसैलाई भर्ना गरेको जवाफ दिने गरेको पीडित विद्यार्थीहरू बताउँछन् ।
‘मेरिट लिस्ट निकाल्न बारम्बार क्याम्पसलाई भनिरहेका छौँ । तर क्याम्पसका पदाधिकारीहरू ‘फस्ट कम फस्ट’ भर्ना गरेको भन्नुहुन्छ । ११४ जनासम्म मेरिटको आधारमा अनि बाँकी ३० जना कसरी ‘फस्ट कम फस्ट’ भर्ना भयो ?’ खत्री प्रश्न गर्छन् ।
क्याम्पसबाट सम्बोधन नभएपछि पीडित विद्यार्थीहरू उपकुलपति कार्यालय, रेक्टर र डिन कार्यालयमा उजुरी दिएका छन् । कतिपय विद्यार्थीले पैसा खुवाएर भर्ना गरेको आशंकामा पीडित विद्यार्थीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी दिएका छन् ।
‘उपकुलपति कार्यालय, रेक्टर कार्यालयको अनुसन्धान निर्देशनालयमा र डिन कार्यालयमा निवेदन दर्ता गरेका छौँ । अख्तियारमा पनि दर्ता भएको छ,’ उनले भने, ‘धमाधम पढ्नु पर्नेबेलामा न्याय खोज्दै फनफनी घुमिरहेका छौँ ।’
विद्यार्थीहरूले सबै निकायमा निवेदन दिएपछि त्रिविले छानबिन समिति बनाएको छ । हाल छानबिन भइरहेकाले क्याम्पसका पदाधिकारीहरू यस विषयमा बोल्न चाहेनन् । ‘त्रिविले छानबिन गरिरहेको छ । छानबिन भइ रहेको विषयमा बोल्नु राम्रो होइन,’ सीएआईटी कार्यक्रमका संयोजक घिमिरेले भने ।
त्रिविको विज्ञान तथा प्रविधि संकायका सहायक डिन खगेश्वर मण्डलले पनि यो विषयमा छानबिन भइरहेको बताए । ‘विद्यार्थीहरूको गुनासो आएको छ । के भएको हो सत्य तथ्य बुझ्न छानबिन समिति बनेको छ,’ उनले भने । नियम मिचेर भर्ना गरेका ३० जना विद्यार्थीलाई क्याम्पसले सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया 4