
१४ मंसिर, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनमा विभिन्न ९ वटा प्रस्ताव प्रस्तुत भएको छ ।
शुक्रबारबाट त्रिभुवन विश्वविद्यालयको ठूलो हलमा सुरु भएको बन्दसत्रमा १६ वटा मूल प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ । त्यसमध्ये बन्दसत्रको पहिलो दिन ९ वटा प्रस्ताव प्रस्तुत भएको हो ।
पार्टीका संयोजक मोहन वैद्यले मूल राजनीतिक दस्तवेज पेस गरे । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हुकुम सिंहका अनुसार संयोजक वैद्यको दस्तावेजमा संघर्र्ष, एकता र रूपान्तरणको विषयलाई समेटिएको छ । जनवादी केन्द्रीयता बहुमतलाई मानेर जानुपर्ने पद्धतिलाई पनि अपनाइएको उल्लेख छ ।
बन्दसत्रमा नेता सीपी गजुरेलले अन्तराष्ट्रिय परिस्थितिसम्बन्धी दस्तावेज पेस गरेका छन् । अर्का नेता राम सिंहले संगठनात्मक प्रस्ताव पेस गरे ।
नेता सन्तबहादुर नेपालीले पर्यावरणसम्बन्धी प्रस्ताव पेस गरे । नेता सन्तबहादुर नेपालीले नै विधानसम्बन्धी प्रस्ताव पेस गरे ।
हेमन्त प्रकाश वलीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास सम्बन्धी प्रस्ताव पेस गरे । नेता परी थापाले धर्म संस्कृतिबारे प्रस्ताव पेस गरे ।
नेता सिताराम तामाङले आर्थिक नीति सम्बन्धी प्रस्ताव पेस गरे । शुक्रबार नै जातीय नीति सम्बन्धी प्रस्ताव पनि पेस भएको छ । बन्द सत्र शनिबार पनि चल्नेछ । शनिबार बिहान ८ बजे नै बन्दसत्र सुरु हुने पार्टीले जनाएको छ ।
शनिबारको बन्दसत्रमा बाँकी मूल प्रस्तावहरू पेस हुनेछन् । त्यसपछि फरक दस्तावेज समेत पेस हुनेछ । त्यसउपर खण्डन गर्ने कार्य सकाएर समूहगत छलफलका लागि समूह गठन गर्ने तयारी छ ।
समूहगत छलफल सकिएपछि पुनः छलफल भएर प्रस्तावहरू पारित हुनेछन् । मंसिर १३ गतेबाट सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंसिर २३ गते सकिनेछ ।
प्रतिक्रिया 4