
१४ मंसिर, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा तत्कालीन १० वर्षे जनयुद्धको समीक्षा हुने भएको छ ।
महाधिवेशन अन्तर्गत शुक्रबारबाट शुरु भएको बन्दसत्रमा पार्टीका संयोजक मोहन वैद्यले मूल राजनीतिक दस्तवेज पेस गर्दै जनयुद्धको समयमा केही कमीकमजोरी भएको स्वीकार गरे । त्यसको समीक्षा विगतमा पनि गरिएको उनले बताएका छन् ।
तर, जनयुद्धको समयमा भएका गलत कार्य र अराजकताको विषयमा बृहत समीक्षा आवश्यक रहेको भनेर नेताहरूले फरक प्रस्ताव लैजाने तयारी गरेका छन् ।
नेताहरूका अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टीमा दुई धार छन् । एउटा पूर्वमाओवादी र अर्को पूर्वमसाल पृष्ठभूमिका नेता कार्यकर्ताहरू । यी दुई पृष्ठभूमिका नेता कार्यकर्ताहरू रहेको पार्टीमा जनयुद्धको थप समीक्षा आवश्यक रहेको भनेर नेताहरूले फरक प्रस्तावको तयारी गरेका हुन् ।
स्रोतका अनुसार जनयुद्धको समीक्षा तयारी पूर्वमसाल पृष्ठभूमिका नेताहरूले गरेका हुन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हुकुम सिंहका अनुसार जनयुद्धमा भएको कमीकमजोरीबारे समीक्षा गरिनुपर्ने प्रस्तावका पक्षमा कसैको विमत्ति छैन ।
तर पूर्व माओवादी पृष्ठभूमिका नेताहरू विगतमा समीक्षा भइसकेको तर्क गरिरहेका छन् भने पूर्व मसाल पृष्ठभूमिका नेता कार्यकर्ताहरू फेरि समीक्षा गरेर अगाडि बढ्नुपर्ने पक्षमा छन् । नेता सिंह भन्छन्, ‘पार्टी एकता हुँदा यो विषयलाई महाधिवेशनमा लगेर टुंगो लगाउने भन्ने भएको थियो । त्यसअनुसार छलफल हुन लागेको हो । यसमा धेरै कोणबाट बहस खासै हुँदैन ।’
मोहन वैद्य किरण २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्त्र युद्धको एक प्रमुख नेता हुन् । जनयुद्ध सुरु गर्ने निर्णय गर्दा माओवादीमा १९ सदस्यीय केन्द्रीय समिति थियो । जसको एक प्रमुख नेता हुन्, वैद्य ।
शान्ति प्रक्रिया पछाडि पनि २०६९ सालसम्म वैद्य पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई सहितको माओवादीमै थिए ।
२०६९ साल तत्कालीन एकीकृत माओवादीबाट अलग भएर वैद्यले नयाँ पार्टी बनाए । त्यसयता साना कम्युनिस्ट पार्टीहरूसँग एकता समेत गर्दै वैद्य नेतृत्व पार्टी अगाडि बढिरहेको छ । यही क्रममा पूर्वमसाल पृष्ठभूमिका नेताहरूको पार्टीसँग एकता गरेपछि वैद्य नेतृत्वको पार्टीमा फेरि जनयुद्धको समीक्षा हुन लागेको हो । यससम्बन्धी फरक प्रस्ताव शनिबारको बन्दसत्रमा प्रस्तुत हुने तय भएको छ ।
महाधिवेशनमा विभिन्न १६ वटा मूल प्रस्ताव पेस हुनेछ । त्यसमध्ये बन्द सत्रको पहिलो दिन शुक्रबार ९ वटा मूल प्रस्ताव पेस भएको थियो । त्यसपछि फरक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
सबै प्रस्तावहरू उपर छलफल गर्नका लागि समूह गठन गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया 4