+

एचआईभी संक्रमणलाई दीर्घरोगसरह लिंदा हुन्छ  

२०८१ मंसिर  १६ गते १७:३९ २०८१ मंसिर १६ गते १७:३९
एचआईभी संक्रमणलाई दीर्घरोगसरह लिंदा हुन्छ  

करिब २१ वर्षअघिको कुरा हो । एचआईभी परीक्षण गर्न आइपुगेका एक व्यक्ति रिपोर्टमा एचआईभी पोजिटिभ देख्ने बित्तिकै ढलेका थिए । यसबाट त्यो बेला एचआईभी संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोण कस्तो थियो भन्ने देखिन्छ ।

अस्पतालमा एचआईभी पोजिटिभ बिरामी भर्ना हुँदा बिरामीका कुरुवाहरु अचम्म र जिज्ञासु मानेर हेर्ने गर्थे । कहिलेकाहीं त शय्या नै हुलले घेरिने गरेको मलाई सम्झना छ । तर अहिले एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको छ ।

हाल एचआईभी संक्रमितलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी शाखाबाट औषधि र उपचार सेवा दिइँदै आएको छ । यही एआरटी शाखाबाट पहिलोपटक नेपालमा २५ जनाबाट एचआईभी विरुद्धको औषधि वितरण गर्न सुरु गरिएको थियो । तर २५ जना भन्दा बढी आइपुगे के गर्ने भन्ने बारेमा भने त्यो बेला सबै अनभिज्ञ देखिन्थे । एचआईभी विरुद्धको औषधि वितरण गर्न सुरु गर्न थालेपछि भने एकपछि अर्को संक्रमित खुलेर आउन थालेका थिए । पछिल्लो तथ्यांकअनुसार नेपालभर एआरटी केन्द्र ९२ ठाउँमा पुगिसकेका छन् ।

अस्पताल भर्ना भएपछि संक्रमितको रोग निदान तथा उपचारका लागि हप्तौं अस्पताल बस्नुपर्ने हुनसक्छ । विशेषगरी एचआईभी संक्रमितमा क्षयरोग वा अरु संक्रमण पनि देखिए हप्तौंसम्म उपचार गर्नुपर्ने हुनसक्छ । एक दशक अगाडि एक एचआईभी संक्रमितलाई क्षयरोग पनि देखिएको थियो, जसकारण उनी लामो समय अस्पताल बस्नु परेको थियो । उपचारपछि पूर्ण निको भएर हँसिलो अनुहार लिएर उनी घर फर्केको अहिले जस्तै लाग्छ ।

वास्तवमा ती बिरामीको अवस्था अति नाजुक भएकाले बचाउन सक्नेमा झिनो आशा मात्र बाँकी थियो । त्यसैले पनि होला उनको उज्यालो अनुहारले मलाई पूर्ण सन्तुष्टि दिएको थियो । त्यस्तै केही हप्ताअघि ओपीडीमा मेरा समकक्षी अगाडि एक युवक परामर्शका लागि आइपुगेका थिए । उनको (मेरो समकक्षी) अनुहारमा एकप्रकारको चमक देखेपछि कारण सोधें । ती युवालाई बालक (एचआईभी संक्रमित) हुँदा उपचार गरेको र अहिले उच्च शिक्षा लिएर आफूलाई संरक्षण दिने संस्थामा नै सेवा दिएको रहेछ । यस अर्थमा पनि कुनै समय संक्रमित भइहाले मरिन्छ नै भन्ने लाग्ने अवस्था अहिले भने रहेन । यो एचआईभी विरुद्धको लडाइँमा ठूलो फड्को हो भन्दा फरक नपर्ला ।

यति मात्र होइन वर्षेनी नयाँ संक्रमितको संख्यामा भारी गिरावट आएको तथ्यांकले देखाउँछ । नेसनल सेन्टर फर एड्स एण्ड एसटीडी कन्ट्रोलका अनुसार सन् २००० देखि सन् २०२३ सम्म आइपुग्दा एचआईभी संक्रमित ९१ प्रतिशतले घटेको देखिन्छ । संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी सन् २००७ मा भएको देखिन्छ तर यो संख्यामा पनि सन् २०२३ सम्म आइपुग्दा भारी गिरावट आइसकेको तथ्यांकले देखाउँछ । सम्भवत: एचआईभी संक्रमणलाई पनि अरु दीर्घरोगसरह मान्दा खासै फरक पर्ने देखिंदैन । एचआईभी संक्रमणमा कमी आउनुमा असुरक्षित यौन सम्पर्क हुने बित्तिकै ‘पीईपी’ अर्थात् ‘पोस्ट एक्सपोजर प्रोफिलाक्सिस’ एचआईभी औषधिको सहज उपलब्धतालाई पनि मान्न सकिन्छ । यो औषधि एक्पोजर भएको २४ घण्टाभित्र लिंदा एकदम प्रभावकारी हुने भएपनि ७२ घण्टासम्म पनि लिन सकिन्छ । यो २८ दिनसम्म लिनुपर्छ । अर्को भनेको गर्भावस्थामा जाँच गर्दा आमामा संक्रमण देखिए जन्मिने बालकमा नदेखियोस् भन्नका लागि प्रयोग गरिने एन्टी रेट्रो भाइरल थेरापी (औषधि)लाई पनि मान्न सकिन्छ ।

एक युवक केही दिनअघि एक युवतीसँग यौन सम्पर्क हुँदा कण्डम प्रयोग गरेको तर मुखमैथुन गर्दा भने कण्डम प्रयोग नगरेकाले एचआईभीको जोखिमबारे बुझ्न आएका थिए । यौन सम्पर्क गर्दा सुरक्षित नगरिएको भन्दै चिकित्सकहाँ आउनेको संख्या पछिल्लो समय बढ्दै गएको देखिन्छ । यसमध्ये सबै जना अस्पताल नै आउँछन् र पीईपी लिन्छन् नै भन्ने पनि छैन ।

नेपालमा गरिएका विभिन्न अनुसन्धानले युवाहरुबीच असुरक्षित यौन सम्पर्क बढ्दै गइरहेको भन्ने नतिजा देखिन्छ । यसबाट एचआईभी जस्तो यौनरोग फैलिन सक्ने जोखिम र चिन्ता थपिएको छ । अहिले हामी ९१ प्रतिशतले नयाँ एचआईभी संक्रमितको संख्या घटाउन सफल भएकोमा दंग पर्दै गर्दा फेरि व्यापक असुरक्षित यौन सम्पर्कका कारण एचआईभी संक्रमण फेरि रि-इमेर्जिङ डिजिजको रुपमा नदेखिएला भन्ने आधार देखिंदैन ।

त्यसैले यौन तथा प्रजनन् सम्बन्धी विषयमा युवामाझ खुला बहस हुन जरुरी देखिन्छ । त्यस्तै रोजगारको सिलसिलामा भारत लगायत अरु देशमा जाँदै गरेकालाई पनि यौन तथा एचआईभी संक्रमण बारेमा विस्तृत जानकारी दिनु उपयुक्त र अति आवश्यक देखिन्छ । सामान्यतया रोजगारमा जानेहरुलाई सीप सम्बन्धी तालिम लिन व्यापक अनुरोध गर्ने गरेको देखिए पनि स्वस्थ र त्यसमा पनि यौन तथा एचआईभी संक्रमण सम्बन्धी जानकारी वा तालिम पनि समावेश गर्न सके आगामी दिनमा एचआईभी संक्रमणले ‘यू-टर्न’ गर्ने सम्भावना धेरै हदसम्म कम हुने देखिन्छ ।

अन्त्यमा, हाल औषधिको सहज पहुँचले गर्दा एचआईभी विगतको जस्तो डरलाग्दो संक्रमणको रुपमा लिनु पर्दैन । सन् २००० देखि २०२३ सम्मको तथ्यांक केलाउने हो भने पनि नेपालले एचआईभी संक्रमण घटाउन ठूलो सफलता पाएको देखिन्छ । तर संक्रमितप्रति समाजमा हेरिने नकारात्मक दृष्टिकोणलाई सकारात्मक बनाउन अझै पूर्ण सफल भइसकेको भने छैन । त्यस्तै समाजमा भुसको आगो सरह व्यापक बढ्दै गइरहेको असुरक्षित यौन सम्पर्कले हाल एचआईभी संक्रमण नियन्त्रणमा पाएको सफलतालाई ब्रेक नगर्ला वा चुनौती नदेला भन्न सकिंदैन ।

एचआईभी डा. शेरबहादुर पुन सरुवारोग

धेरै कमेन्ट गरिएका

डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय