+
+

ट्रंक लाइन विवादमा हाइड्रोपावरबाट बक्यौता उठाउने प्राधिकरणको पत्रप्रति सोपानको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १२:१०

१६ मंसिर, काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान) ले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा जोडिएका उद्योगीहरूको लगानी रहेको हाइड्रोपावरबाट बक्यौता उठाउने गरी गरेको पत्राचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोपानले विज्ञप्ति जारी गर्दै प्राधिकरणले पठाएको पत्र ऊर्जा उत्पादक कम्पनीहरूसँग भएको विद्युत् बिक्री सम्झौता विपरीत भएको जनाएको छ ।

‘केवल साझा सेयरधनी रहेको आधारमा एउटा कम्पनीले भुक्तानी गर्नुपर्ने बक्यौता रकमको दायित्व बिल्कुलै स्वतन्त्र अस्तित्व रहेको अर्को कम्पनीलाई बहन गराउने कार्य कम्पनी कानुनको स्थापित सिद्धान्त विपरीत हुन्छ,’ विज्ञप्तिमा छ ।

ऊर्जा कम्पनीमा सार्वसाधारण लगायत अन्य धेरै सेयरधनीहरूको लगानी हुने गरेकोले अर्कै उद्योगको बक्यौता असुलउपर गर्दा सेयरधनीको हक अधिकारमा समेत गम्भीर आघात पर्ने, प्राधिकरणको कदमले विदेशी लगानीमा समेत नकारात्मक असर गर्ने तथा आगामी १० वर्षमा १० हजार मेगावाट उत्पादनको लक्ष्यमा समेत गम्भीर असर पर्न जाने सोपानको तर्क छ ।

नेपालका धेरै जलविद्युत् कम्पनीमा विदेशी लगानी रहेको र यस्ता निर्णयले उनीहरूमा निराशा थपिनुका नेपालमा हुने वैदेशिक लगानीको माहोललाई कमजोर बनाउँदै लगानीकर्ताको विश्वासमा आँच पुर्‍याउन सक्ने खतरा रहेको सोपानको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?