
युवाहरु ड्रग्स, गाँजा सेवनले कुलतमा लागेको सुन्नुभएकै होला । तर के औषधिको ककटेलको लत लागेको सुन्नुभएको छ ?
झट्ट सुन्दा अनौठो लाग्ने यस्तै घटना समाजमा आजभोलि देखिन थालेको छ । यसको लतले युवालाई बेचैन र अराजक मात्र बनाएको छैन । उनीहरुको हाड तथा नसामा पनि खराबी ल्याइरहेको छ ।
के हो साउथ एसियन कक्टेल ?
प्रायः दक्षिण एसियाली देशहरुमा बेन्जोडायिजिपिन, प्रोमेथाजिन अनि अपोइड जस्ता तीन वा तीनभन्दा बढी फरक समूहका औषधिहरु कक्टेल अर्थात् मिसाएर सुईको रुपमा गरिने गलत प्रयोगलाई साउथ एसियन कक्टेल भनिन्छ । आजभोलि थुप्रै युवाहरुले यसको गलत ढंगले प्रयोग गरेको पाइन्छ । अस्पतालमा आउने कतिपय हाड तथा नसासम्बन्धी समस्या लिएर आउने भर्खरका युवाहरुमा परीक्षण र सोधपुछको आधारमा साउथ एसियन कक्टेल औषधि प्रयोग गरेको पाइएको छ ।
साउथ एसियन कक्टेलले शरीरमा गर्ने असर ?
साउथ एसियन कक्टेल अन्तर्गत प्रयोग हुने अपोईड अर्थात् नार्कोटिक औषधि चिकित्सा क्षेत्रमा दुखाइ कम गर्न, पखाला कम गर्न, रुघाखोकी कम गर्न, जीर्ण प्रकारको खोकी कम गर्न, क्यान्सरको दुखाइ, शल्यक्रियापछि रगतको नलीको चोट पुगेर हुने दुखाइ कम गरी शरीरलाई आनन्दित महसुस गराउन प्रयोग हुन्छ ।
बेन्जोडायिजिपिन समूहका औषधिलाई निद्राको औषधि भनेर चिनिन्छ । दिमाग बढी उत्तेजित हुँदा उत्पन्न हुने विभिन्न लक्षण नियन्त्रण गर्न, निद्रा लगाउन र डर चिन्ता हटाई मनलाई शान्त बनाउन, छारेरोग, रक्सीको लत छुटाउन प्रयोग हुन्छ ।
एन्टीहिस्टामिन समूहका औषधिलाई हामी एलर्जीको औषधि पनि भन्छौं । एलर्जीका कारण हुने रुघाखोकी, शरीर चिलाउने, पाचन प्रणालीको समस्या, बस चढ़दा हुने बान्ता रोक्न प्रयोग हुन्छन् । जब यी तीन प्रकारका औषधिहरु एकसाथ प्रयोग हुन्छन्, तब औषधिका असरहरु धेरै गुणा बढ्छन् ।
एन्टीहिस्टामिन औषधि र बेन्जोडायिजिपिनको एक साथ प्रयोगले निद्रा बढी लगाउँछ । चक्कर लाग्ने, सुस्त हुने, सास फेर्न गाह्रो हुनेदेखि बेहोससम्म गराउँछ । जबकि बेन्जोडायिजिपिन र ओपोइड समूहका औषधिको एक साथ प्रयोगबाट फोक्सोको समस्या बढाउनुका साथै कहिलेकाहीं बिरामीलाई कृत्रिम श्वासप्रश्वास गराउने भेन्टिलेटरमा समेत राख्नुपर्ने अवस्थादेखि श्वासप्रश्वासमा अवरोध भई मृत्यु समेत गराउँछ ।
सन्तानले लागूऔषध प्रयोग गरेका छन् कि छैनन् कसरी थाहा पाउने ?
घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, झगडा गरेर चाहिने भन्दा बढी पैसा माग्नु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनु, आँसु आइरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागूऔषध प्रयोगर्तामा देखिन्छन् । यस्ता असामान्य लक्षण पटक-पटक देखिए पक्कै लागूऔषध लागेको शंका गरी पहिचान र त्यसको समाधानतर्फ लाग्नुपर्छ ।
यस्ता औषधिको प्रयोग भएको छ कि छैन कसरी पत्ता लाग्छ ?
– शंकास्पद लक्षण देखिए क्लिनिकल र फोरेन्सिक परीक्षण रगत, पिसाब तथा कपालको परीक्षणले पत्ता लाग्छ ।
– कपाल परीक्षण गर्दा प्रयोगकर्ताको पहिलेको र अहिलेको अवस्थाबारेमा जानकारी हुन्छ ।
– रगत परीक्षण गर्दा (२४-४८) घण्टाभित्र गरिसक्नुपर्छ ।
– पिसाब परीक्षण गर्दा एक हप्तादेखि एक महिनाभित्र गरिसक्नुपर्छ ।
नेपालमा कस्तो छ औषधि दुरुपयोगको अवस्था ?
२०७३ सालमा गृह मन्त्रालयले केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा २०७३ कात्तिक १३ देखि २०७६ मंसिर १५ सम्म गरेको लागूऔषध प्रयोगकर्ताहरुको सर्वेक्षण रिपोर्ट अनुसार नेपालमा एक लाख २१ हजार ६९२ जना पुरूष र ८ हजार ७३२ जना महिला गरी एक लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता पाइएको थियो ।
वार्षिक ५.०६ प्रतिशतका दरले प्रयोगकर्ताको संख्या वृद्धि भएको पाइन्छ । विशेषगरी २० देखि २९ वर्ष उमेर समूहका प्रयोगकर्ता बढी देखिन्छन् भने ३९.७ प्रतिशत प्रयोगकर्ता बेरोजगार पाइएको छ । त्यस्तै व्यापार गर्ने, दैनिक ज्यालादारी गर्नेमा समेत प्रयोग बढी देखिएको छ । प्रयोगकर्तामध्ये ८४.७ प्रतिशतले गाँजा तथा अफिमजन्य पदार्थ, ७३.१ प्रतिशतले आनन्ददायक निद्राजनक पदार्थको प्रयोग गरेको पाइन्छ ।
५१.१ प्रतिशत प्रयोगकर्ता एकान्त ठाउँमा बसेर लिने गरेको देखिए पनि ६७.७ प्रतिशत प्रयोगकर्ताले लागूऔषध प्राप्तिको स्रोतको रुपमा आफ्नै साथीभाइ, १४.१ प्रतिशतले घुमन्ते बिक्रेता र ८.४ प्रतिशतले औषधि पसल र अनलाइनमार्फत किन्ने गरेको देखिन्छ ।
नेपालमा दर्ता हुने आपराधिक घटनामध्ये ७.५ प्रतिशत मुद्दा लागूऔषधसँग सम्बन्धित हुन्छन् । सन् २०२२ मा पक्राउ परेका ७ हजार ४५४ मध्ये ७ हजार १५० नेपाली र ३०४ जना विदेशी थिए । कारागार व्यवस्थापन विभागका अनुसार सन् २०२२ मा जेलभित्र रहेका २२ हजार ७०२ कैदीबन्दीमध्ये ५ हजार ९११ अर्थात् २०.७३ प्रतिशत कैदी लागूऔषधसम्बन्धी मुद्दाका छन् ।
सन् २०२२ मा ७१ हजार ३१७ फाइल फेनारगन ७० हजार ५१४ फाइल बुपेनोर्फिन र ७३ हजार ११५ फाइल डायजिपाम सिल भएको थियो ।
गृहमन्त्रालयले गरेको सर्वेक्षण अनुसार लागूऔषध प्रयोगकर्तामध्ये २९ प्रतिशतले सुईको रुपमा, ३४ प्रतिशतले मुखबाट, ३५ प्रतिशतले धुम्रपानको रुपमा र २ प्रतिशतले नाकबाट सुँघेर प्रयोग गरेको देखिन्छ । यस्ता सबै औषधि भारतबाट ओसारप्रसार भएको देखिन्छ ।
दुरुपयोग रोक्न के गर्ने ?
विश्व स्वास्थ्य संगठनका अनुसार यस्ता सुईबाट प्रयोग गरिने लागूऔषध प्रयोगकर्ताहरुमा हेर्ने हो भने हरेक दुईमध्ये एक जनामा हेपाटाइटिस सी अनि प्रत्येक आठ जनामध्ये एक जनामा एचआईभी संक्रमण वा दुवैथरी संक्रमण देखिन्छ ।
दुरुपयोग रोक्न के गर्ने ?
– औषधि वितारणमा कडाइ गर्नुपर्छ ।
– चिकित्सकको पुर्जी विना यस्ता औषधि बिक्री वितरण गर्नुहुँदैन ।
– नाका, भन्सारमा कडाइ गर्ने, जसले गर्दा यस्ता औषधि देश भित्रिन पाउँदैन ।
– नेपालमा यस्ता औषधि कहाँबाट आएका छन् ? औषधि आपूर्ति, वितरण र प्रभावित समूहको पहिचान गर्ने ।
– चिकित्सकीय पुर्जी भए पनि कडाइका साथ रेकर्ड राखेर मात्र बिक्री गर्ने ।
– कोही कुलतमा फसिहालेमा छिटो भन्दा छिटो उपचार तथा पुनःस्थापना सुरु गर्ने ।
– विद्यालयका शैक्षिक कार्यक्रम, पाठ्यक्रम, धार्मिक संस्कृतिक कार्यक्रम जमघटमा जनचेतनामूलक छलफल चलाउने ।
त्यसले सामाजिक, मानसिक र शारीरिक रुपमा निम्त्याउने समस्याबारेमा छलफल गर्ने र सावधानीका उपाय सिकाउनुपर्छ ।
(डा. जया सत्याल काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल, डा. आशिष ढकाल अन्नपूर्ण न्युरो र डा. लता गौतम एग्लिया रुस्किन युनिभर्सिटी बेलायतमा कार्यरत छन् ।)
प्रतिक्रिया 4