+
+

मंसिर २३ मा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुने अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १६:५४

१६ मंसिर, काठमाडौं । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन अनिश्चित बनेको छ ।

२३ र २४ मंसिरमा स्थगित राष्ट्रिय सम्मेलन गर्नेगरी नयाँ नेतृत्व चयन नगरी १९ असोजमा गित गरिएको थियो । बाढीपहिरो र दशैंलाई कारण देखाउँदै अध्यक्षमण्डलले राष्ट्रिय सम्मेलन रोकेको थियो ।

पूर्वनिर्धारित समय अनुसार राष्ट्रिय सम्मेलनका लागि अब एक साता बाँकी छ । राष्ट्रिय सम्मेलन गर्नका लागि पार्टी र संगठनले तयारी नगरेको विद्यार्थी नेताहरूले बताएका छन् । हालसम्म प्रतिनिधिहरूलाई खबर पठाइएको छैन ।

उमेर हद लागू गर्ने/नगर्ने विवादले निर्वाचन नहुँदै सम्मेलन रोकिन पुगेको थियो । निवर्तमान अध्यक्ष पञ्चा सिंहले तोकिएको समयमा राष्ट्रिय सम्मेलन गराउने पहल भइरहेको जानकारी गराइन् ।

सोमबार बैठक बसेर सम्मेलनका बारेमा निर्णयमा पुगिने सिंहले बताइन् । अखिल क्रान्तिकारीका निवर्तमान एक पदाधिकारीले भने २३ र २४ मंसिरमा राष्ट्रिय सम्मेलन हुने सम्भावना नै नरहेको दाबी गर्छन् ।

‘अहिले पार्टी चुनावमा लागेको छ । मतपरिणाम आउन पनि २/४ दिन लाग्ला,’ उनी भन्छन्, ‘अहिलेसम्म तयारी छैन । सम्मेलन हुने देखिन्न ।’

सम्मेलनको माग गर्दै अखिल क्रान्तिकारीका नेताहरू केन्द्रीय कार्यालयमा मंसिर ४ मा आमरण अनसन समेत बसेका थिए ।

निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगाना आमरण अनसन बसेका थिए । तीन विद्यार्थी नेताहरू आमरण अनसनमा बसेपनि उनीहरूको माग सम्बोधन नभई अनशन स्थगित भएको थियो ।

उनीहरूलाई महासचिव देव गुरुङले तीन दिनपछि अनसन तोडाएका थिए । पूर्व उपाध्यक्ष क्षितिज सापकोटाले पूर्व निर्धारित समयमा सम्मेलन हुनेमा अन्योल रहेको बताए । पार्टीका एवं विद्यार्थी पूर्व नेताहरू उपनिर्वाचनमा खटिएकाले संगठनको सम्मेलनको तयारीलाई तीव्रता दिन नसकिएको सापकोटाले बताए ।

१० असोजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशनमा विवाद भएपछि बीचैमा स्थगित भएको थियो ।

राष्ट्रिय सम्मेलन टुंगिन नसक्नुमा उमेर हद कारण बनेको थियो । उमेर हदको पक्ष र विपक्षमा मतदान गर्ने र उमेरका लागि २८, ३० र ३२ मध्ये एक रोज्ने गरी मतदान गराउने निर्णय भएपनि मतदान प्रक्रिया भने सुरु हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?