१६ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्पोर्टस फर फ्यूचर (एसएफएफ) कार्यक्रममको सुरुवात गर्ने भएको छ ।
९ देखि १२ वर्ष उमेरसमूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यमा सफल खेलाडी बनाउने आधार तयार गर्न एसएफएफ कार्यक्रम सुरु गर्न लागिएको हो ।
जस अन्तर्गत सातै प्रदेशमा बालबालिकाको एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने राखेपले जनाएको छ । नेपाली खेलकुदको इतिहासमै पहिलोपटक एन्थ्रोपोमेट्रिक टेस्ट मार्फत खेलाडी छनौट हुन लागेको हो । आठ वर्षे योजना अनुसार स्पोर्टस फर फ्यूचर (एसएफएफ) कार्यक्रमका सुरुवात गरेको हो ।
ओलम्पिकसम्मको सहभागितालाई लक्ष्य राखी शारिरीक बनौट र क्षमताको परिक्षण मार्फत खेलाडी छनौट कार्यक्रम सुरुवात गरिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए ।
एन्थ्रोपोमेट्रिक टेस्ट कोशी प्रदेशको इलाममा मंसिर १८–१९ र विराटनगरमा मंसिर २१–२२, मधेश प्रदेशको धनुषामा मंसिर २४–२५ र वीरगन्जमा मंसिर २७–२८ गतेसम्म हुनेछ । यसैगरी बागमती प्रदेशको भक्तपुरमा मंसिर ३०–पुस १ र चितवनमा पुस ३–४ तथा गण्डकी प्रदेशको पोखरामा पुस ६–७ र म्याग्दीमा पुस ९–१० गतेसम्म हुनेछ ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा मंसिर १८–१९ र टीकापुरमा मंसिर २१–२२, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर २६–२७ र सल्यानमा मंसिर २९–३० तथा लुम्बिनी प्रदेशको बर्दियामा मंसिर २३–२४ र दाङको बेल्झुण्डीमा पुस २–३ गतेसम्म सञ्चालन हुनेछ ।
सातै प्रदेशबाट समान १०–१० उत्कृष्ट बालबालिका छनोट गरी पहिलो वर्ष सामान्य तालिममा समावेश गरिने छ ।
पहिलो वर्ष बालबालिकालाई मोटर सीपहरु जस्तै गति, बल, समन्वय, लचकता र सहनशीलतामा सुधार ल्याउने उद्देश्यसहित सामान्य शारीरिक विकासमा ध्यान दिइने छ । दोश्रो वर्ष बालबालिकाको शारीरिक संरचना, मोटर सीप विकास र व्यक्तिगत चासोको आधारमा उनीहरुलाई विशेष खेलमा खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिने तथा खेल विज्ञानको सहायतामा पोषण, मनोविज्ञान र रिकभरी रणनीति बारे प्रशिक्षण प्रदान गरिने छ ।
एक ओलम्पिक चक्र पश्चात पनि सम्बन्धित खेलको क्षमता प्रदर्शनमा सुधार नआएको खण्डमा खेलाडीलाई निरन्तरता दिइने छैन ।
राखेपले छनोट भएका बालबालिकालाई आवास, अध्ययन, दैनिक खेलकुद तालिम, पोषण र स्वास्थ्य सेवा, खेल मनोवैज्ञानिक र फिजियोथेरापिस्ट सहायता र चोटपटक रोकथाम रणनीति सम्बन्धी सेवा उपलब्ध गराउने छ ।
एन्थ्रोपोमेट्रिक टेस्टका लागि राखेपले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टोलीलाई परिचालन गर्ने छ । कोशी, मधेश, बागमती र गण्डकीमा सानका निर्देशक कृष्ण तिमिल्सिनाको नेतृत्वमा राजेन्द्ररत्न तुलाधर र शिवराज भट्ट खटिने छन् । बाँकी प्रदेशमा सुलोचना सिजख्वा, कुमारी हिरा पन्त र रितामैया प्रजापति जाने छन् ।
छनोट भएका बालबालिको अन्तिम नामवली २०८१ साल पुस २९ गते प्रकाशित गरिने र नियमित प्रशिक्षण २०८२ साल बैशाख २ गतेदेखि प्रारम्भ हुने राखेपले जनाएको छ ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले सन् २०३२ को ओलम्पिकमा पदक जित्ने रणनीतिक तयारी अनुरुप कार्यक्रम सञ्चालन गर्न लागिएको बताउँदै नेपाली खेलकुदमा वैज्ञानिक प्रशिक्षणलाई व्यहारमा उतार्नु पर्नेमा जोड दिए ।
१९औं एशियाड पछि मिसन २०२६ सुरुवात गरेको राखेपले ओलम्पिक लगत्तै नयाँ कार्यक्रम सुरुवात गरेको हो । ‘गत वर्ष पनि हामीले केही स्थानमा यो कार्यक्रम सञ्चालन गरेका थियौं । त्यही कार्यक्रमको मूल्यांकनका आहधारमा स्पोर्टस फर फ्यूचर कार्यक्रम (एसएफएफ) सुरु गरिएको हो ।’ घिसिङले भने, ‘रणनीतिक तयारी अन्तर्गत हामी अगाडि बढेका हौं । यो कार्यक्रम मार्फत छनोट भएका बालबालिकालाई खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिदै सन् २०३२ को ओलम्पिकमा पदक जित्ने हाम्रो दुर्गामी लक्ष्य हो ।’
बैज्ञानिक तरिकाबाट खेलाडी छनौट र प्रक्षिणमा जोड दिदै आएका सदस्य सचिव घिसिङले यो कार्यक्रम नेपाली खेलकुदका लागि कोशेढुंगा सावित हुने बताए ।
प्रतिक्रिया 4