+
+

नेमकिपाबाट विजयी वडाध्यक्ष भन्छन्-पुँजीवादी पार्टीका पक्षमा जनता छैनन्

‘नेमकिपाको सिद्धान्तनिष्ठ राजनीतिलाई यहाँका जनताले साथ दिइरहेका छन् । अहिलेबाट होइन, उहिलेबाट जनता हाम्रो पक्षमा हुनुहुन्छ,’ नवनिर्वाचित वडाध्यक्ष शाहीले भने, ‘२०४८ सालदेखिकै चुनावहरू पार्टीको सिद्धान्तमा उभिएर लड्दै आएका छौं । सांसदकै चुनावमा पनि दुई चार सय भोटले हार्छौं, तर लडिरहेका छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २३:४८
तिलगुफा नगरपालिका–४ को वडाध्यक्षमा निर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही

१६ मंसिर, काठमाडौं । कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाहीले जितेका छन् । आजै सम्पन्न उपचुनावमा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने यो पहिलो वडा बन्यो । पहिलो विजयी उम्मेदवार नै नेमकिपाका नेता बने ।

१४३ मत ल्याएर शाहीले वडाध्यक्ष जित्दा निकटतम् प्रतिद्वन्द्वी बनिन्, माओवादी केन्द्रका नैसोभा शाही । नैसोभाले ११५ मत ल्याइन् ।

०७९ मा वडाध्यक्ष जितेका परबहादुर शाहीकी पत्नी नैसोभालाई माओवादीले उम्मेदवार बनाएको थियो । तर सहानुभूति मतको आशामा माओवादीले बनाएको उम्मेदवारलाई नेमकिपाका खड्गराजले पराजित गरे ।

प्रमुख दलहरूकै उम्मेदवारहरू हराएर चुनाव जितेपछि खड्गराजले अनलाइनखबरसँग यस्तो नतिजा स्वभाविक भएको प्रतिक्रिया दिए । ‘मेरो जितमा अप्ठ्यारो मान्नुपर्ने केही छैन, यहाँका जनता सधैं नेमकिपाको साथमा छन्’, उनले भने ।

सिद्धान्तसिद्ध पार्टीलाई यहाँका जनताले निकै पहिलेबाट साथ दिदै आएको खड्गराज बताउँछन् । ‘नेमकिपाको सिद्धान्तनिष्ठ राजनीतिलाई यहाँका जनताले साथ दिइरहेका छन् । अहिलेबाट होइन, उहिलेबाट जनता हाम्रो पक्षमा हुनुहुन्छ,’ नवनिर्वाचित वडाध्यक्ष शाहीले भने, ‘२०४८ सालदेखिकै चुनावहरू पार्टीको सिद्धान्तमा उभिएर लड्दै आएका छौं । सांसदकै चुनावमा पनि दुई चार सय भोटले हार्छौं, तर लडिरहेका छौं ।’

तर नेमकिपाविरुद्ध संसद्‌वादी दलहरूले गठबन्धन गर्दा नेमकिपा सानो मतान्तरले हार्ने स्थिति आउने गरेको पनि उनले बताए । ‘०७४ सालको चुनावमा त मैले जितिहालेँ । तर संसद्‌वादी पुँजीवादी पार्टीहरूले हाम्राविरुद्ध अनेक हतकण्डा गर्छन् । अपवित्र गठबन्धन गर्छन्,’ शाहीले भने, ‘अस्ति पनि (०७९ को चुनाव) हाम्राविरुद्ध अपवित्र र सिद्धान्तहीन गठबन्धन भयो, र हामीले हार्नुपर्‍यो ।’

यो उपचुनावमा भने ती दलहरू नेमकिपाविरुद्ध मिल्न खोजे पनि असफल भएको उनी बताउँछन् । ‘उनीहरूको अपवित्र हतकण्डाले काम गरेन, मैले जिते । अब जनतासँग गरेको कबोल बमोजिम काम गर्नेछु’, शाहीले भने ।

खड्गराजले उपचुनावमा वडाध्यक्ष जित्दा एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत ल्याए ।
एमाले नेता टपेन्द्र शाही यहाँ नेमकिपाको बलियो पकड स्वीकार्छन् ।

‘उनीहरूको राम्रै छ, यहाँका नेतालाई नेमकिपाले सांसद नै बनाएको छ नि’, शाही भन्छन्, ‘तर हामीले यसपटक ल्याएको मत पनि सुधारिएकै रुपमा लिनुपर्छ ।’

ठूला दलहरूलाई हराएर खड्गराजले वडाध्यक्ष जितेसँगै तिलगुफामा नेमकिपाको वडाध्यक्ष संख्या ३ पुगेको छ । ०७९ कै चुनावमा ३ र ९ नम्बर वडाको अध्यक्ष नेमकिपाले जितेको थियो । ३ नम्बरमा नेमकिपाका सुर्यबहादुर शाही र ९ नम्बर वडामा नरेन्द्रबहादुर रोकाया वडाध्यक्ष छन् ।

४ नम्बरमा चाहिँ बाँकी सबै दल मिलेर नेमकिपाका दिपबहादुर शाहीलाई त्यसबेला हराएका थिए । नेमकिपा हराउन माओवादीका परबहादुर शाहीलाई कांग्रेस र एमालेको समर्थन थियो ।

‘यसपटक हामीले अलगअलग चुनाव लड्ने निर्णय लियौं । नेमकिपाले जित्यो, यो संसदीय अभ्यास हो’ एमालेका टपेन्द्र शाहीले भने ।

तिलगुफाकै नरेश कोइरालालाई नेमकिपाले ०६४ सालमा संविधान सभा सदस्य बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?