१७ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार जित हासिल गरेको छ । युनाइटेडले एभर्टनलाई ४-० गोलअन्तरले हराएको हो ।
युनाइटेडको जितमा मार्कस रासफर्ड र जोसुआ जर्कजीले २-२ गोल गरे । युनाइटेडले दुवै हाफमा दुई-दुई गोल गरेको थियो ।
खेलको ३४औं मिनेटमा रासफर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा जर्कजीले गोल गरेपछि पहिलो हाफमा युनाइटेड २-० ले अगाडि रह्यो ।
दोस्रो हाफको सुरूवातमै रासफर्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा जर्कजीले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता बढाए । त्यसपछि थप गोल भएनन् र युनाइटेड ४-० ले विजयी भयो ।
जितपछि युनाइटेड १३ खेलमा १९ अंक जोडेर नवौं स्थानमा छ भने एभर्टन ११ अंकसहित १५औं स्थानमा छ ।
त्यसैगरी अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई ३-० ले हराएको छ । चेल्सीको जितमा निकोलस ज्याकसन, एन्जो फर्नान्डेस र कोल पाल्मरले एक-एक गोल गरे ।
जितपछि चेल्सीको १३ खेलबाट २५ अंक छ र तेस्रो स्थानमा छ ।
प्रतिक्रिया 4