+
+

विक्रान्त मेसीले लिए अभिनयबाट ब्रेक, भन्छन्- घर जाने समय आयो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १२:३७

काठमाडौं । ‘टुवेल्थ फेल’ र ‘द साबरमती रिपोर्ट’ जस्ता फिल्मबाट छुट्टै पहिचान बनाएका भारतीय अभिनेता विक्रान्त मेसीले अचानक अभिनयबाट विश्राम लिने घोषणा गरेका छन् । गएराति सामाजिक सञ्जाल इन्स्टाग्रामबाट उनले यस्तो जनाएका हुन् ।

खबर बाहिर आएसँगै मेसीका प्रशंसक स्तब्ध छन् । पोस्टमा लेखेका छन्, ‘नमस्कार, पछिल्ला केही वर्ष र त्यसपछिका वर्षहरू मेरा लागि अद्भूत छन् । निरन्तर सहयोगका लागि म सबै जनालाई धन्यवाद दिन्छु । अघि बढिरहँदा मैले महसुस गरें कि यो आफैंलाई सन्तुलनमा राख्ने र घर फर्किने समय हो । पति, बुबा, छोरा र अभिनेताको रूपमा पनि । सन् २०२५ मा हामी अन्तिम पटक एकअर्कालाई भेट्नेछौं ।’

अभिनयबाट विश्राम लिनुको कारण भने खुलाएका छैनन् । यो घोषणाले फ्यान पक्कै निराश छन् । एक जनाले लेखेका छन्, ‘किन यस्तो गर्दै हुनुहुन्छ ? तपाईं जस्तो कलाकार कमै होलान् । हामीलाई राम्रो सिनेमा चाहिन्छ ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘अचानक ? सबै ठीक छ ?’

मेसीले सानो पर्दाबाट अभिनय करिअर थालेका थिए । उनले धरम वीर, बालिका वधू, कुबुल है जस्ता टिभी शोमा काम गरे । सानो पर्दामा आफ्नो छाप छोडेपछि उनी बलिउडतिर लागे ।

मेसीले सन् २०१३ मा फिल्म ‘लुटेरा’बाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि उनले दिल धड्कने दो, छपाक जस्ता फिल्ममा पनि काम गरे । उनले धेरै फिल्ममा काम गरे तर ‘टुवेल्थ फेल’ उनको करिअरको सबैभन्दा हिट फिल्म साबित भयो ।

यो फिल्ममा उनले आईपीएस मनोज कुमारको भूमिका निर्वाह गरेका थिए । यसमा उनको अभिनयको निकै प्रशंसा भयो । यसबाट उनले अवार्ड पनि जिते । हालै उनको फिल्म ‘द साबरमती रिपोर्ट’ रिलिज भएको थियो, जसको निकै प्रशंसा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले समेत फिल्मको प्रशंसा गरेका छन् ।

‘द साबरमती रिपोर्ट’ १५ नोभेम्बरमा रिलिज भएको थियो । यो फिल्म गोधरा घटना र त्यसपछिको गुजरात दंगामा आधारित छ । ट्रेलर रिलिज भएसँगै फिल्म विवादमा परेको थियो । एक अन्तर्वार्तामा अभिनेता मेसीले यो फिल्मको क्रममा धम्की आएको समेत खुलासा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?