+

टीयू मैदानमा सोहेल तनविरको जादु

२०८१ मंसिर  १७ गते २१:१४ २०८१ मंसिर १७ गते २१:१४
टीयू मैदानमा सोहेल तनविरको जादु

१७ मंसिर, काठमाडौं । सन् २००८ मे ४, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो संस्करणमा पाकिस्तानका सोहेल तनविरले राजस्थान रोएल्सबाट खेलेका थिए । जहाँ उनले चेन्नई सुपर किंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चेर ६ विकेट लिएका थिए ।

एकै खेलमा ६ विकेटको कीर्तिमान तोडिन आईफीएलमा एक दशक लागेको थियो । धेरै क्रिकेट फ्यानको लागि तनविरको त्यो कीर्तिमान अझै ताजा छ ।

त्यसको १६ वर्षपछि अर्थात २०२४ डिसेम्बर २, कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उनै भेट्रान तनविरले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु गर्दै पहिलो खेलमा ५ विकेट लिए ।

उनी एनपीएलमा ५ विकेट लिने पहिलो खेलाडी बने । ३९ वर्षको उमेरमा पनि उनको जोश उस्तै थियो । हजारौं नेपाली समर्थक अगाडि उनले आफ्नो बायाँहाते बलिङको जादु देखाए ।

सोमबार काठमान्डु गुर्खाज विरुद्ध तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । तनविरकै धारिलो बलिङ सामु संघर्ष गरेको काठमान्डुले १११ रन मात्र बनाउन सक्यो । चितवनले १७ बल अगावै ५ विकेट गुमाएर ११४ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो ।

तनविर नै खेलको प्लेअर अफ दि म्याच बने । उनले काठमान्डुको विदेशी टप अर्डर माइकल लेभिट र स्टेफेन इस्किनाजीसहित भिम शार्की, करण केसी र शाहब आलमलाई आउट गरे ।

दोस्रो ओभरमै बलिङमा आएका तनविरले आफ्नो पहिलो बलमै इस्कीनाजीलाई आउट गरेका थिए । त्यसपछि उनले चौथो ओभरमा लेभिटलाई आउट गरे । छैटौं ओभरमा भिम शार्कीलाई एलबीडब्लु धरापमा पारेका तनविरले पावरप्लेमै ३ विकेट लिएर काठमान्डुको इनिङ्स धरासयी बनाइसकेका थिए ।

त्यसपछि उनले १९औं ओभरमा बलिङ गरे । जहाँ उनले पहिलो बलमा कप्तान करण केसीलाई आउट गरे । अनी पाँचौ बलमा शाहबलाई आउट गर्दै आफ्नो ५ विकेट पूरा गरे ।

लिग सुरु हुनुअघि सबैले चितवनलाई कमजोर मानेका थिए । तर तनविर र रवि बोपारा जस्ता टी२० लिगका अनुभवी खेलाडी अनी नेपालका भेट्रान शरद भेषावकरको साथ पाएको चितवनले विजयी सुरुवात गर्‍यो । त्यसमा युवा कप्तान कुशल मल्ल, अमर सिंह राउटेला, सन्तोष कार्की, विपिल रावल जस्ता खेलाडीले पनि राम्रो खेले । अनुभवी खेलाडीहरुसाग युवा खेलाडीले सिक्ने अवसर समेत पाए ।

पहिलो खेलमै प्लेअर अफ दि म्याच प्रदर्शन गरेका तनविरले अहिलेसम्मको अनुभवले नै आफूलाई सहयोग गरेको बताए । ‘सजिलो थिएन । टी२० मा बलिङ गर्नु सधैँ नै कठिन हुन्छ । ४०० खेल खेलसकेँ । त्यो अनुभवले सहयोग गर्‍यो । कन्डिसन अनुसार कसरी बलिङ गर्ने सहयोग भयो’ उनले भने । आजको दिन आफ्नो लागि लक्की डे भएको समेत उनले बताए ।

काठमाडौं आइपुगेको छोटो समयमै खेल्नुपरे पनि उनको अनुभव नै काफी थियो । उनले टिमसँग धेरै समय बिताउन पाएका थिएनन् । तर सब कन्टिनेन्टमा खेलेको अनुभव थियो । ‘सब कन्टिनेन्समा धेरै क्रिकेट खेलेको थिएँ । तर नेपालमा खेलेको थिइँन । यहा बंगलादेश जस्तै कन्डिसन थियो । कन्डिसनमा एडजस्ट हुन मलाई धेरै समय थिएन । मैले धेरै समय पाइन । तर मेरो अनुभवले फाइदा भयो’, खेलपछि उनले भने ।

तनविरले चितवनको टिममा युवा खेलाडीहरु रहेको र टिम राम्रो रहेको बताए । यस्तै उनले आफू नेपालमा एनपीएल खेल्न मात्र नभएर क्रिकेटिङ ज्ञान सेयर गर्नका लागि पनि आएको बताए ।

‘हामी यहाँ जित्न आएको हो । तर महत्वपूर्ण कुरा नेपालका युवा खेलाडीहरुलाई ज्ञान बाँड्नु हो । त्यो मुख्य आइडिया हो । मैले २० वर्ष खेलिसकेँ । सबै पाइसकेँ । क्रिकेट खेल्नु मेरो प्यासन हो’ तनविरले भने, ‘म यहाँ मेरो क्रिकेटिङ नलेज ट्रान्सफर गर्न आएको हो । मेरो टिममा मात्र नभई म अरु टिमका लागि पनि खुल्ला छु । यदी मलाई कसैले केही सहयोग मागेमा म तयार छु ।’उनले क्रिकेट आफ्नो प्यासन भएकोले जहाँ क्रिकेट हुन्छ त्यहाँ आफू खुशी हुने बताए ।

तनविरले छिमेकी देश भारतमा आईपीएल देखि पाकिस्तानको पाकिस्तान सुपर लिग बंगलादेशको बंगलादेश प्रिमियर लिग लगायत विभिन्न प्रतियोगिता खेलिसकेका छन् । त्यसैले उनीसँग भरपूर ज्ञान र अनुभव नै छ ।

उनले खेल्ने मात्र नभई आईपीएल र पीएसएल जितेका पनि छन् । सन् २००८ मा राजस्थान रोएल्सबाट पहिलो संस्करणकै आईपीएल जितेका तनविरले सन् २००९ मा टी२० विश्वकप पनि जितेका थिए ।

आईपीएल देखि एनपीएलसम्म आइपुग्दा उनले सयौं खेल खेले । सयौँ विकेट लिए । उमेर चार दशक हुँदा पनि क्रिकेट खेलिरहेका छन् र निकै हम्बल देखिन्छन् ।

आईपीएल सुरु भएपछि भारतीय क्रिकेटमा धेरै परिवर्तन भएको र नेपालमा पनि यस्ता लिगले सहयोग गर्ने बताए । ‘मैले आईपीएलबाट खेल्न सुरु गरेँ । त्यसपछि भारतमा क्रिकेट धरै परिवर्तन भयो । आईपीएलले भारतीय क्रिकेटमा धेरै फरक ल्यायो । पाकिस्तान पीएसएल भयो । यस्तो लिगले क्रिकेटमा धेरै सहयोग गर्छ । एनपीएलले नेपाल क्रिकेट साँच्चै ग्रो गर्छ’ तनविरले भने ।

तनविरले सबैखाले गरेर टी२० क्रिकेटमा ३८८ खेल खेलेका छन् । जसमा उनले ३८९ विकेट लिएका छन् । पाकिस्तानका लागि उनले २ टेष्ट समेत खेलेका छन् भने ६२ ओडिआई र ५७ टी२०आई खेल खेलेका छन् ।

सोहेल तनविर

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय