१७ मंसिर, काठमाडौं । मार्की खेलाडीमा सोमपाल कामीलाई पाएको कर्णाली याक्स टिम एनपीएलअघि दुईपटक धेरै चर्चामा आयो । पहिलो थियो अक्सनबाट गुल्शन झा र देव खनालजस्ता युवा स्टार खेलाडीलाई अनुबन्ध गर्नु । अनि दोस्रो थियो भारतका चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गर्नु ।
दुईमध्ये दोस्रो कुराले चाहिँ नेपालदेखि अन्तर्राष्ट्रिय स्तरसम्मै व्यापक चर्चामा पायो । शिखर धवनलाई भारतमै पुगेर अनुबन्ध गर्ने कुरादेखि उनी पहिलोपटक नेपालमा खेल्न आउने कुराले क्रिकेट समर्थकहरूबीच रमझम सुरू भइसकेको थियो ।
धवनसँगै हङकङका पावर हिटर बाबर हायात, एसोसिएटका अनुभवी खेलाडी जीशान मकसुद, वेस्टइन्डिजका अनुभवी चाडविक वाल्टन पनि सोमपाल, गुल्शन, देवसँगै कर्णालीबाट खेल्ने भएपछि कर्णालीलाई उपाधिको दाबेदार मान्नेहरू निस्किँदै थिए । कतिपय खेल विश्लेषकहरूले कर्णाली याक्स सन्तुलित टिम भएको र उपाधिको प्रमुख दाबेदारका रूपमा रहने बताएका थिए ।
कर्णालीले सोमबार भएको आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको नमीठो हार व्यहोर्यो । १४२ रनको लक्ष्य जनकपुरले सहजै भेटायो । कप्तान अनिल शाहले कप्तानी पारी खेल्दै ६२ रन बनाएका थिए । सुरूवातदेखि नै अनिलले आसिफ शेखसँग मिलेर आक्रमक शटहरू गरिरहेका थिए ।
एक खेल मात्र अवलोकन गरेर कुनै पनि टिमलाई दाँज्न हुँदैन र त्यो अर्थपूर्ण पनि हुँदैन जुन कुरा सोमपालले पनि खेलपछि भनेका थिए । तर जुन् किसिमको चर्चा कर्णालीले पाएको थियो र कागजमा बलियो मानिएको थियो, त्यस हिसाबले हेर्दा कर्णालीले पहिलो खेलमा भने फितलो प्रदर्शन गर्यो, विशेषगरी विदेशी खेलाडीहरूबाट सोचेअनुरूप प्रदर्शन हुन सकेन ।
एकतर्फ पिचले बलरहरूलाई सहयोग गरिरहेको थियो भने सोमपालले ब्याटिङ नै पहिले गर्ने निर्णय गरेका थिए । यसअघि खेलिएका दुवै खेलहरूमा पहिले ब्याटिङ गर्ने टिमले जितेका थिए भने धेरै रन पनि बन्न सकिरहेको थिएन ।
सबैले खेलेको हेर्न प्रतिक्षा गरेको अनि सर्वाधिक चर्चा समेत बटुलेका खेलाडी शिखर धवन १४ रनमा आउट भए भने चाडविक वाल्टन र जिशान मकसुदले दोहोरो अंकमा रन बनाउन सकेनन् । संघर्ष गरिरहेका बाबर पनि ठुलो शट खेल्ने धुनमा क्याचआउट भए । इनिङ कप्तानले नै सम्हालेर सम्मानजनक स्कोरमा पुर्याए ।
आजको खेलमा पनि जनकपुर भने कुनैपनि समय दबाबमा देखिएको थिएन । टस हारेर पहिले बलिङको निम्तो पाएको जनकपुरले सुरूवातदेखि नै कर्णालीको विकेट लिएको थियो ।
देव खनाललाई सस्तैमा गुमाएको कर्णालीले स्टार खेलाडी शिखर धवनलाई पनि १४ रनमा गुमायो । चाडविक वाल्टनले पनि धेरै समय टिकेर खेल्न सकेनन् । बाबर हायातले गुल्शन झासँग मिलेर केही समय इनिङ सम्हाले पनि उनी पनि आधाआधी बल डट खेलेर आउट भए ।
गुल्शनले केही ठुलो शट खेलेका थिए भने अन्त्यतिर कप्तान सोमपाल कामी र अर्जुन घर्तीले मिलेर टिमको स्कोर १४१ पुर्याएका थिए । यस क्रममा उनीहरूले हर्श थाकर र जिमी नीशमलाई टार्गेट गरेका थिए ।
जनकपुरका बलरहरू आज पनि किफायती नै देखिएका थिए । ललित राजवंशीले आज पनि पहिलो ओभरमा विकेट निकालेका थिए भने थाकरले धवनको विकेट निकालेपछि कर्णाली दबाबमा आएको थियो ।
त्यसपछि पनि निरन्तर विकेट गुमाइरहेपछि कर्णालीले कुनै पनि समय खेलमा हावी हुन सकेन । अन्त्यमा १४१ सम्म भने बनाउन सक्यो । खेलपछि सोमपालले १६०-१७० रन बनाउने लक्ष्य रहेपनि त्यो हुन नसकेको बताए ।
१४१ रन डिफेन्ड गर्ने क्रममा कर्णालीले सुरूवातदेखि नै कसिलो बलिङ गर्नुपर्ने थियो तर पहिलो ओभरमा नै नन्दन यादवले १६ रन खर्चिए । जनकपुरका आसिफ शेख र अनिल शाहले ८४ रनको ओपनिङ साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए ।
विदेशीबाट सोचेको जस्तो प्रदर्शन नभएको भन्ने प्रश्नमा सोमपालले पहिलो खेलबाटै कुनै पनि टिम र खेलाडीलाई जज गर्न नहुने बताए। आगामी खेलमा पिचलाई राम्रोसँग बुझ्दै गएर राम्रो खेल्ने उनको भनाइ थियो । उनले जनकपुरको बलर र दुई ओपनरहरूको पनि प्रशंसा गरेका थिए ।
योसँगै लगातार दोस्रो जित निकालेको जनकपुरले प्लेअफमा स्थान बनाउन सुरूवातदेखि नै दाबेदारी प्रस्तुत गरेको छ । अन्य टिमको ब्याटिङ फितलो देखिएपनि जनकपुर भने फरक पिचमा खेलेको जस्तो अनुभूति हुने गरेर प्रदर्शन गरिरहेको छ । लाहिरु मिलान्थाले ठुला शटहरू खेलिरहेका छन् भने कप्तान अनिलले आक्रामक सुरूवात दिलाइरहेका छन् ।
यही लय कायमै रहे जनकपुरले सहजै प्लेअफ यात्रा तय गर्ने देखिन्छ । कर्णालीले भने विदेशी खेलाडीबाट भरपर्दो साथ पाउन सकेमा र दबाब नलिइकन बलिङ गरेमा कागजमा देखिएजस्तै गरेर आगामी दिनमा बलियो प्रदर्शन गर्दै कमब्याक गर्न सक्छ ।
जनकपुरले अब आफ्नो तेस्रो खेलमा बिहिबार पोखरा एभेन्जर्ससँग खेल्ने छ । त्यस्तै कर्णालीले भने आजको पहिलो खेलमा चितवन राइनोजसँग पराजित टोली काठमाण्डु गुर्खाजसँग बुधबार खेल्ने छ ।
प्रतिक्रिया 4