+
+

सुदूरपश्चिममा उपचुनाव : कांग्रेसले पायो, माओवादीले गुमायो

उपनिर्वाचन भएका चार वडामध्ये २०७९ को स्थानीय तह निर्वाचन कांग्रेसले २, एमाले र माओवादीले एक/एक जितेका थिए । यस पटक चारवटै वडामा कांग्रेसले जित निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २१:०८

१७ मंसिर, धनगढी । सुदूरपश्चिममा भएको स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्नो नतिजा सुधारो छ । अघिल्लो पटक २ वटामात्रै वडाध्यक्ष जितेको कांग्रेसले यसपटक ४ वटामा जित निकालेको हो ।

सुदूरपश्चिमका स्थानीय तहमध्ये एक उपाध्यक्ष र चार वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको थियो । सबै ठाउँको नतिजा आइसक्दा नेकपा माओवादीले अघिल्लो पटक जितेको ठाउँमा पनि यसपटक पराजित भएको छ । नेकपा एमालेले एउटा वडाध्यक्ष गुमाएर पालिका उपाध्यक्ष पाएको छ ।

नेकपा एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा जितेको एक वडाध्यक्ष कांग्रेसले खोसेको छ तर एमालेले एक अर्को उपाध्यक्ष जितेर नतिजालाई बराबरीमा राखेको छ । अघिल्लो पटक नेपाली कांग्रेसले जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा यसपटक नेकपा एमालेले जितेको छ ।

सो पदमा एमालेकी सुलोचन कुमारी भण्डारी (बुढा) विजयी भइन् । गत स्थानीय तह निर्वाचनमा मुख्य प्रतिस्पर्धीसँग एक सय ७३ मतले पछि परेकी सुलोचना उपनिर्वाचनमा आफ्ना प्रमुख प्रतिस्पर्धीलाई दुई ६६ मतले पछि पार्दै अघिल्लो पराजय उल्ट्याइन् ।

सुलोचनाले एक हजार ७४० मत प्राप्त गर्दा प्रमुख प्रतिस्पर्धी कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार ४७४ मतमै चित्त बुझाउनु पर्‍यो । उक्त प्रतिस्पर्धामा नेकपा एकिकृत समाजवादीकी जवा शाही पाँच सय ५३ प्राप्त गरिन् । अघिल्लो निर्वाचनमा सो पदमा कांग्रेसकी मैना जोशी विजयी भएकी थिइन् ।

माओवादीको आन्तरिक विद्रोहमा सुलोचनाको सफलता
उपनिर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेद्वार जवा शाहीलाई समर्थन गर्न माओवादीले स्थानीय नेता कार्यकर्ताहरुलाई निर्देशन गरेको थियो । तर, पार्टी केन्द्र र जिल्लाको निर्देशनको अवज्ञा गर्दै माओवादीका स्थानीय नेता कार्यकर्ताहरु एमालेकी सुलोचनालाई सघाउने निर्णयमा पुगे ।

गाउँ कमिटीले आधिकारिक निर्णय गरेर सुलोचनालाई सघाउने घोषणा गरेको थियो । माओवादीभित्रको सो विद्रोहले सुलोचनाको उपनिर्वाचनमा जित निकाल्न सहज बनाइदियो ।

एमाले र माओवादीले गुमाए, कांग्रेसले पायो

उपनिर्वाचन भएका चार वडामध्ये २०७९ को स्थानीय तह निर्वाचन कांग्रेसले २, एमाले र माओवादीले एक/एक जितेका थिए । यस पटक चारवटै वडामा कांग्रेसले जित निकालेको छ ।

बझाङको सुर्मा गाउँपालिका—४ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा कांग्रेसका धीरेन्द्र पुजारा ६ सय ५७ मत पाई विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका लखिचन्द्र बोहराले चार सय ८७ मतमा चित्त बुझाउनुपर्‍यो । सो वडामा माओवादीका पुस्कर बहादुर बोहराले १७ मत पाए ।

गत निर्वाचनमा एमालेका सर्जनवहादुर बोहरा ६ सय २९ मत पाई विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका लोकबहादुर बोहराले ६ सय चार मत पाएका थिए । यो वडा कांग्रेसले एमालेबाट खोसेको छ । दार्चुलाको दुहु गाउँपालिका—५ को वडाध्यक्ष पद माओवादीले कांग्रेसबाट खोसेको छ ।

गत चुनावमा माओवादीले जितेको सो पदमा यस पटक कांग्रेसका धनसिंह कुँवरले तीन सय ७६ मतसहित विजयी भएका थिए । उनका मुख्य प्रतिस्पर्धी एमालेका मानसिं बडालले तीन सय ५८ मत पाए । माओवादी केन्द्रका बीरवहादुर कार्कीले ९८ मतमा चित्त बुझाउनु पर्‍यो । स्वतन्त्र उम्मेदवार लालवहादुर कुँवरले २५ पाए ।

गत चुनावमा माओवादीका मनोरथ भट्ट पाँच सय ८२ मत पाई विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडालले तीन सय दुई मत पाएका थिए । डोटीको पूर्वीचौकी गाउँपालिका—६ लाई फेरी पनि कांग्रेसले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

कांग्रेसका मोहन थापा चार सय ६८ मत पाई वडाध्यक्ष निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका देबहादुर थापा ३ सय १ मत पाए । रास्वपाकी जानकी कुमारी खड्का कुँवर ३१ र माओवादी केन्द्र देवीलाल थापा २६ पाए ।

गत निर्वाचनमा यस पदमा कांग्रेसका पुष्पराज जोशी पाँच सय १३ पाई विजयी भएका थिए । उनका मुख्य प्रतिस्पर्धी एमालेका देवबहादुर भण्डारीले तीन सय ८७ पाएका थिए । माओवादी केन्द्रका टंकवहादुर नेपालीले ४९ र राप्रपाका प्रकाश थापाले १ मत प्राप्त गरेका थिए ।

कञ्चनपुर भिमदत्त नगरपालिका–६ पनि कांग्रेसले जोगाएको छ । कांग्रेसका प्रकाश चन्द एक हजार १०७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेका बहादुर चन्द चार सय ८७ प्राप्त गरे ।

राप्रपा सुशील कुमार भट्टले तीन सय ६९, एकिकृत समाजवादीका जितेन्द्र बहादुर चन्दले दुई सय २५, रास्वपाका राम दत्त भट्टले दुई सय १८, स्वतन्त्र थानेश्वर लेखकले एक सय ४२ र नागरिक उत्मुक्ती पार्टीका हरिश डगौराले एक सय २७ प्राप्त गरेका छन् ।

गत चुनावमा यस वडामा आसेफ कुँवर सात सय ३२ ले विजयी भएका थिए । उनका मुख्य प्रतिस्पर्धी एकिकृत समाजवादीका कमलवहादुर विष्टले दुई सय ७५ मत पाएका थिए । उक्त चुनावमा एमालेका गगन सिंह कार्कीले एक सय ९५ र राप्रपाका राप्रपाका गोविन्दबहादुर विष्टले ६६ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?