
१७ मंसिर, काठमाडौं । आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत सबैभन्दा बढी चासोमा रहेको कीर्तिपुर नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार यहाँ नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३ सय ३४ मतसहित विजयी भएका हुन्।
कीर्तिपुरको निर्वाचनमा एमाले नेता सुरेन्द्र मानन्धरसँग गज्जबको संयोग जोडिएको छ ।
०७० को दोस्रो संविधानसभा चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई तेस्रो स्थानमा सीमित गर्दा मानन्धर दोस्रो बनेका थिए । पहिलो बनेका थिए कांग्रेसका राजेन्द्र केसी ।
११ वर्षपछि कीर्तिपुरमा एमाले मेयर उम्मेदवार बनेका उनै मानन्धरलाई माओवादीका मेयर उम्मेदवार शिवशरण महर्जनले तेस्रो बनाउँदै दोस्रो स्थानमा उक्लेका छन् ।
४ हजार ५ सय ५५ मतसहित महर्जन दोस्रो बन्दा एमालेका मानन्धरले ४ हजार ३ सय ३७ मत प्राप्त गरे ।
यो नगरपालिका यसअघि ०७९ को निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो ।
त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।
त्यतिबेला नेकपा एमालेका उम्मेदवार केशरत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।
माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले ४ हजार ९० मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया 4