
काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्यले राज्यले प्रदान गर्दै आएको सुविधाबाट ग्रामीण र दुर्गम भेगका अपाङ्गता भएका व्यक्ति अझै पनि वञ्चित रहेको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ८ जनामध्ये एक जनाले मात्र राज्यले प्रदान गर्दै आएको सहायक सामग्री प्राप्त गर्ने गरेको बताए ।
महासंघका महासचिव सुगम भट्टराईले अपाङ्गता भएका व्यक्तिको कानुनी क्षमताको स्वीकार्यतालाई सुनिश्चित गर्न र सहयोगमा आधारित निर्णय प्रक्रियालाई प्रवर्द्धन गर्न पहल गर्नुपर्ने बताए । अपाङ्गताको परिभाषा र वर्गीकरणलाई वैज्ञानिक र अन्तर्राष्ट्रिय मान्यता अनुसार बनाउन पहल गर्नुपर्ने पनि उनले बताए ।
हरेक वर्ष ३ डिसेम्बरमा अपाङ्ता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर एकीकृत रूपमा प्रवर्द्धन गर्न सन् १९९२ देखि यो दिवस मनाउन थालिएको हो ।
यस वर्षको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस २०२४ को मूल नारा ‘अपाङ्गता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयन र दिगो विकास लक्ष्यका अपाङ्गतासम्बन्धी सूचक प्राप्ति गराउने’ ध्येयमा आधारित छ ।
प्रतिक्रिया 4