
काठमाडौं । दर्शकको चाप बढेपछि मण्डला नाटकघरले ‘ढुकढुकी ७२ मेगाहर्ज’को शो थपेको छ । दैनिक हाउसफुल हुँदा दर्शकले टिकट नपाउने परिस्थिति आएपछि ७ शो थपिएको निर्देशक केदार श्रेष्ठले जनाए ।
अब यो नाटक आइतबारसम्म मञ्चन हुनेछ । नाटकलाई शनिबारसम्म मञ्चन गरिएका २३ शोमा २५ सय दर्शकले हेरिसकेको निर्देशक श्रेष्ठले बताए । ‘विशेषगरी युवा दर्शकको संख्या बढी देखिन्छ । ५०० जति पहिलोपटक नाटकघरमा आएका दर्शक पनि भेटिए’ उनले भने, ‘नियमित नाटकप्रेमी पनि छन् ।’
कात्तिक २४ गतेदेखि मञ्चन सुरु भएको नाटक अभिनेता कार्म शाक्य बिरामी हुँदा २ शो जति रोकियो । त्यसयता नियमित मञ्चन छ । सन्तान चाहनाको उत्कट उत्साह सँगालेका दम्पतीको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, बाध्यता, विवशता, विकल्प र विश्वासको कथामा नाटक आधारित छ । नाटकले घटनाभन्दा पनि त्यसबाट सिर्जित प्रभाव र प्रेमको कथा भन्छ ।
कार्म र मेनुका प्रधानले नाटकमा अभिनय गरेका छन् । नाटकको निर्माण दयाहाङ राईले गरेका हुन् । नाटकलाई लिएर सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको मण्डलाले जनाएको छ । मण्डलाले घोषणा गरेका १४ नाटकमध्ये यो तेस्रो नाटक हो । यसपछि नाजिर हुसेनले निर्देशन गर्ने नाटक ‘हरि हजुरबा’ मञ्चन तयारीमा छ ।
प्रतिक्रिया 4