+
+

प्रचण्डले भने- उपनिर्वाचनमा प्राप्त जनमत उत्साहजनक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १४:४६

१८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन् । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट उत्साहजनक सफलता हासिल गरेको उनको भनाइ छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रुपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’

उनकै शब्दमा विभिन्न स्थानमा अवाञ्छित गठबन्धन बनेका थिए । ती गठबन्धनलाई पनि चिर्न पार्टी सफल भएको प्रचण्डको निष्कर्ष छ । यसबाट माओवादी केन्द्रले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि हुने प्रचण्डको ठहर छ ।

उनले आगामी दिनमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिनेछ,’ प्रचण्डले विज्ञप्तिमा लेखेका छन्, ‘यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?