
काठमाडौं । चर्चित सिरियल ‘गाह्रो छ हो’मा बेगम नेपाली ‘भटभटे माइला’ र रियाशा दाहाल ‘पुतली’को जोडी रुचाइएको थियो । विवाहपछि रियाशा अभिनयबाट टाढिइन् । रियाशालाई सिरियलमा फर्काउन पनि नेपालीले प्रयास गरे ।
दर्शकमाझ पुतलीको खोजी पनि निकै भयो । तर, रियाशाको ठाउँमा दर्शकले नयाँ कलाकार देख्न पाउनेछन् । भटभटे माइलाले रियाशाको ठाउँमा नयाँ कलाकार लिएर ‘गाह्रो छ हो’को दोस्रो सिजन दर्शकमाझ ल्याएका छन् । चरित्र चित्रण र कलाकारमा हेरफेर गर्दै ल्याइएको सिजनमा दर्शकले मुख्य पात्र भटभटे माइलाको जोडीलाई देख्न पाउनेछन् ।
दर्शकले दोस्रो सिजनमा दीया जिसीलाई उनको जोडीको रुपमा देख्न पाउनेछन् । २० भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी दीयाले ‘परिवार’ नामक सिरियलमा पनि काम गरेकी छन् । भटभटे र दीया दुबै प्युठानका पनि हुन् ।
दीयाले पछिल्लो समय सिरियलका केही एपिसोडमा भटभटे माइलाको जोडीको रुपमा अभिनय गरिरहेकी छिन् । अघिल्लो सिजनमा भटभटे माइला र पुतलीलाई विवाहित जोडीको रुपमा चित्रण गरिएको थियो । दोस्रोमा भने अविवाहित जोडीको कथा बुनिएको छ ।
यो सिरियलमा निश्चित भएपछि दीयाले मिडिया कुराकानीमा आफू कसरी जोडिएँ भन्नेबारे कुरा गरेकी छन् । परिवारलाई मनाएर आफू सिरियलमा जोडिएको उनको भनाइ छ । ‘बेगमजी पनि एकदम रमाइलो र सोझो मान्छे हुनुहुन्छ’ उनले भनिन् ।
बेगम ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार हुन् । उक्त सिरियलमा उनी भटभटे माइला’को रोलमा थिए । त्यो सिरियल छाडेर उनी ‘गाह्रो छ हो’ निर्माणमा जुटे । रियाशाको ठाउँमा भटभटे माइलाको नयाँ जोडीलाई दर्शकले कति रुचाउँछन् यो भने हेर्न बाँकी छ । यो सिरियल सोमबारदेखि एपीवान टिभी र भटभटे माइला युट्युब च्यानलमा आउँछ ।
प्रतिक्रिया 4