+
+

त्रिभुवन विमानस्थलमा कसरी भइरहेको छ क्षमता विस्तार ? (भिडियो सहित)

२३ कात्तिकदेखि राति १० देखि बिहान ८ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द गरी निर्माणका काम धमाधम भइरहेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ मंसिर १८ गते १९:४५

१८ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर विभिन्न पूर्वाधार निर्माणका काम भइरहेको छ । २३ कात्तिकदेखि राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल पूर्णरूपमा बन्द गरी निर्माणका काम धमाधम भइरहेको छ ।

त्रिभुवन विमानस्थल विस्तार गुरुयोजना अन्तर्गत हाल अहिले एक धावनमार्ग र समानान्तर आधा लम्बाइको ‘ट्याक्सी वे’ छ । सोही ट्याक्सी वेलाई जोड्ने पाँच वटा एक्जिट ट्याक्सी वे छन् ।

गुरुयोजना अनुसार अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई भविष्यमा आन्तरिक टर्मिनल भवनमा परिणत गर्ने र अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि नयाँ भवन बनाइने छ ।

यसैलाई आधार मानेर नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्य पूर्वाधारका काम गरिरहेको छ । पहिलो प्याकेजमा उत्तर (बौद्ध) तर्फ अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी वे र एक्जिट ट्याक्सी वेहरू निर्माण भइरहेका छन् ।

अन्तर्राष्ट्रिय एप्रोनमा अब १८ वटासम्म जहाज पार्किङ गर्न सकिन्छ । उत्तरतर्फको समानान्तर ट्याक्सी वे र दुइटा कनेक्टिङ ट्याक्सी वे आयोजना अन्तर्गत बनिरहेका छन् ।

दोस्रो प्याकेज अन्तर्गत दक्षिण (कोटेश्वर) तर्फ समानान्तर ट्याक्सी वे बनिरहेको छ । यो आइकाओ मापदण्ड अनुसार बनिरहेको छ । धावनमार्गको केन्द्र रेखा (सेन्टर लाइन) बाट नयाँ समानान्तर ट्याक्सी वेको दूरी १७२.५ मिटर छ ।

अहिले सबै जहाज ट्याक्सी वे ‘इको’ बाट धावनमार्ग प्रवेश गरेर ‘टेक अफ’ (उड्न) का लागि प्रस्थान गर्छन् । त्यसका लागि करिब ४/५ मिनेटको समय लाग्ने गरेको छ ।

नयाँ समानान्तर ट्याक्सी वे निर्माण भइसकेपछि सबै जहाज समानान्तर ट्याक्सी वेमा लाइनमा रहन्छन् । अहिले ४/५ मिनेट लाग्ने गरेको समयमा अरू त्यति नै जहाज उडान (टेक अफ) र अवतरण (ल्यान्ड) गर्न सक्ने गरी क्षमता विस्तार हुन्छ ।

त्यसैगरी अर्को प्याकेज अन्तर्गत ह्यांगर एप्रोन र ट्याक्सी वे निर्माण हुँदैछ । भविष्यमा अन्तर्राष्ट्रिय टर्मिनल बन्ने स्थानमा अहिले अन्य संरचना छन् । जसमा नेपाल एयरलाइन्सर नेपाली सेनाको ह्यांगर छ । त्यसको ठ्याक्कै पारिपट्टि (पूर्वतर्फ) ह्यांगर र एप्रोन बनिरहेका छन् ।

ती संरचना बनिसकेपछि अहिले नेपाल एयरलाइन्स र नेपाली सेनाका पूर्वाधार सोही स्थानमा सार्ने तयारी छ । त्यसपछि टर्मिनल भवनका लागि स्थान खाली हुनेछ । विमानस्थलभित्रको पूर्वाधार संवेदनशीलता आधारमा विभिन्न क्षेत्रमा छुट्याइएको हुन्छ ।

विभिन्न तीन प्याकेज अन्तर्गत नयाँ ट्याक्सी वे निर्माण गरी धावनमार्गमै जोड्न थालिएको हो । पूर्वतर्फ समेत यस्तै ट्याक्सी वे निर्माण हुँदैछन् । उत्तरतर्फ समेत धावनमार्ग र ट्याक्सी वे निर्माण हुँदैछ ।

ट्याक्सी वे बनाउने क्रममा २/३ मिटरसम्म गहिरो खाल्डो खनिन्छ । त्यसमा तोकिएको मापदण्ड अनुसार निर्माण सामग्री राखेर भर्ने काम हुन्छ । २०/२० सेन्टिमिटरको तह (लेयर) मा सामग्री राखेर खाल्डो भर्दै जानुपर्छ ।

तीन मिटरको खाल्डो एकै रातमा भर्न सम्भव हुन्न । १० घण्टा समयमा आधा मिटर खाल्डोमात्र पुर्न सकिन्छ । बाँकी साढे २ मिटरको खाल्डोमा भोलिपल्ट बिहान जहाज उड्ने समयमा अस्थायी रूपमा पुर्नुपर्छ । जस्ताको तस्तै बनाइएपछि मात्र धावनमार्ग सञ्चालनमा ल्याउन मिल्छ ।

पाँच महिना धावनमार्ग नजिकबाट ७५ मिटरभित्रको स्थानका लागिमात्र हो । काठमाडौं विमानस्थलभित्र निर्माण कार्य एक वर्षदेखि नै निरन्तर भइरहेको छ । दुई वर्षको समयमा सबै काम सक्नुपर्ने लक्ष्य छ ।

    

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?