
१८ मंसिर, गोरखा । गोरखा नगरपालिका ५ को वडाध्यक्ष पदका लागि आइतवार भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विष्णु राना मगर विजयी भए । उनलाई पछ्याउँदै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भाइकाजी आलेले ४०२ मत प्राप्त गरे । यसअघि वडाध्यक्ष जितेको एमाले तेस्रो बन्न पुग्यो ।
विगतको जनाधार हेर्दा रानामगरलाई जित निकाल्न मुस्किल देखिन्थ्यो । किनकि यसअघिका दुई स्थानीय निर्वाचनको नतिजामा यो वडामा माओवादी निकै पछाडि देखिन्थ्यो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षसहित चार सदस्य कांग्रेसबाट विजयी बनेका थिए । त्यतिबेला वडाध्यक्ष जितेका रामकुमार थापाले ४४१ मत प्राप्त गर्दा एमालेकी नानुमाया थापामगर ३४३ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी बनेकी थिइन् ।
माओवादी केन्द्रकी उम्मेदवार सावित्री थापा राना भने १४१ मतसहित चौथो स्थानमा थिइन् ।
२०७९ सालको निर्वाचनमा २५ मतको झिनो अन्तरले कांग्रेस वडाध्यक्षमा पराजित बन्न पुग्यो । ४५३ मत ल्याएर एमालेका उम्मेदवार खिलबहादुर राना विजयी बन्दा कांग्रेसकी गीता थापामगर ४२८ मत ल्याएर दोस्रो बनिन् ।
उता, २७४ मत ल्याएर माओवादी केन्द्रकी सावित्री थापा राना तेस्रो बनिन् । त्यतिबेला वडाध्यक्ष गुमाए पनि चार वटै वडा सदस्य भने कांग्रेसका उम्मेदवारले जिते ।
यसरी अघिल्ला निर्वाचनमा कांग्रेसको बलियो उपस्थिति रहेको उक्त वडामा कांग्रेसले बिस्तारै मतदाता गुमाउँदै गएको देखिन्छ ।
यसअघि सम्पन्न दुवै स्थानीय तहको चुनावमा तेस्रो स्थानबाट माथि उक्लन नसकेको माओवादी केन्द्रका उम्मेदवार भने छलाङ मार्दै अहिले वडाध्यक्षमा विजयी बनेका छन्, त्यो पनि भारी मतान्तरले ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ९ पालिका जितेको गोरखा कांग्रेस २०७९ मा दुई पालिकामा खुम्चिन पुग्यो । उक्त मतपरिणामलाई हेर्ने हो भने वडा नम्बर ५ मात्र नभएर सबैतिर कांग्रेस कमजोर बन्दै गएको देखिन्छ । पार्टीभित्र हुने घात÷प्रतिघातको कारण कांग्रेस कमजोर बन्दै गएको केही नेता कार्यकर्ताको बुझाइ छ ।
‘कांग्रेसमा बढी आत्मविश्वास देखियो तर, कमजोर भनेको माओवादीले धेरै मिहिनेत गर्यो’ गोरखा कांग्रेसका सचिव किशोरजंग थापाले भने, ‘हामी संगठन बलियो छ भनेर बस्यौं ।’
यसपटक पहिलेजस्तो पार्टीभित्रै घात÷अन्तर्घात भएको भने सचिव थापा स्वीकार्दैनन् । उनले भने, ‘यसपटक स्थानीय पार्टी समितिले नै उम्मेदवार चयन गरेको हो, तर साना दल र स्वतन्त्रको मत तान्न सकिएन । यसमा हाम्रो मेहनत नपुगेको देखिन्छ ।’
निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्र बाहेकका सबै दलको धरौटी जफत भएको छ । यसबाट उम्मेदवार हेरेर मत गएको देखिन्छ ।
वडाको चुनाव भए पनि ठूला नेताहरूले यसलाई आफ्नै राजनीतिक औचित्य र जितहारको प्रतिष्ठासँग त जोडे तर, घर घरमा गएर गर्नुपर्ने मिहिनेतमा कांग्रेस चुकेको मतदाता बताउँछन् ।
सुगमको दुर्गम मानिने उक्त वडामा कांग्रेसकै पालामा पनि अपेक्षाकृत काम नभएकोले वडावासीले असन्तुष्टिको मत दिएको एक स्थानीय मतदाताले बताए ।
‘एक त नगरकै नेतृत्व कांग्रेसले गरेका बेला पनि चुनावमा उनीहरूले गरेको वाचा पूरा गर्न सकेनन्’ ती मतदाताले भने, ‘सँगै, यो चुनावमा टोलस्तरसम्म कांग्रेस जति भिज्न सक्नुपर्थ्यो त्यसमा पनि चुक्यो ।’
प्रतिक्रिया 4