+
+

सेयर बजार हल्लाइरहेको विशाल बजारको वित्तीय अवस्था कस्तो ?

प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६७ पैसा

कुल ३ सय ९६ सटर सञ्चालन गर्ने विशाल बजारले त्यसबाट उठाउने भाडा नै प्रमुख आम्दानी हो । सम्पूर्ण सटर पूरा अवधिभरि भाडामा लगाउँदा वार्षिक करिब २३ करोड आम्दानी हुने गर्छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ छ ।

कमल नेपाल कमल नेपाल
२०८१ मंसिर १९ गते १५:०७

१९ मंसिर, काठमाडौं । सेयर बजार बढ्दा पनि ‘पोर्टफोलियो’ घट्ने गरेको पीडा हिजोआज लगानीकर्ताले प्रशस्त भोग्न थालेका छन् । यसको एउटा प्रमुख कारण हो– विशाल बजार कम्पनीको मूल्यवृद्धि ।

मंगलबार कम्पनीको मूल्य ६.४ प्रतिशत बढ्यो । त्यसअघिका चार दिन लगातार १० प्रतिशत बढेको थियो । कम्पनीको मूल्य प्रतिकित्ता ७ हजार नाघेको छ तर वित्तीय स्थिति धेरै कमजोर छ ।

कम्पनीको सेयरमा कर्नरिङ भइरहेको छ । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले विशाल बजारको कारोबार विवरण माग गरिएको र बोर्डले अध्ययन गरेर आवश्यकबमोजिम कारबाही तथा निर्देशन गर्ने जानकारी दिए ।

कतिपयले सर्वसाधारण समूहको सेयर हिस्सा १० प्रतिशत पनि नपुगेकाले एफपीओ जारी गर्ने गलत हल्ला बजारमा फैलाएका छन् ।

मूल्य बढेको देखेर लगानीकर्ता कम्पनीमा आकर्षित भएका छन् । कम्पनीको पछिल्लो वित्तीय स्थितिबारे धेरै लगानीकर्ता अनभिज्ञ छन् । किनकि, कम्पनीले करिब ४ वर्षयता वित्तीय विवरण नै सार्वजनिक गरेको छैन ।

२०८० असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनलाइनखबरले प्राप्त गरेको छ । कम्पनीले १० वर्षदेखि साधारणसभा गरेको छैन, पाँच वर्षयता लेखा परीक्षण पनि गरेको छैन ।

कम्पनीले १४ चैत २०७० मा आर्थिक वर्ष २०६९/७० सम्मको ३३औं वार्षिक साधारणसभा सफल रूपमा सम्पन्न गरेको थियो । त्यसपछि ३४औं साधारणसभा सेयरधनीको लफडापछि रोकियो । त्यस्तै २०७५/७६ सम्मको लेखा परीक्षण सम्पन्न भएको प्रबन्ध सञ्चालक गोरख शाहीले बताए ।

अब भने एकैपटक २०७६/७७ देखि २०८०/८१ सम्मकै लेखा परीक्षण गर्ने गरी कम्पनीले तयारी गरेको उनले बताए ।

‘यो चार वर्षको अवधिकै लेखा परीक्षणका लागि महालेखा परीक्षकलाई प्रस्ताव पठाइसक्यौं,’ उनले भने, ‘तर, लेखापरीक्षक अझै तोकिएको छैन, चार वर्षकै लेखा परीक्षण गर्ने तयारीमा छौं ।’

कस्तो छ कम्पनीको पछिल्लो वित्तीय स्थिति ?

विशाल बजार कम्पनीको प्रमुख आम्दानी भनेको सटर भाडा हो । कुल ३ सय ९६ सटर सञ्चालन गर्ने कम्पनीले त्यसबाट उठाउने भाडा नै प्रमुख आम्दानी हो । सम्पूर्ण सटर पूरा अवधिभरि भाडामा लगाउँदा वार्षिक करिब २३ करोड आम्दानी हुने प्रबन्ध सञ्चालक शाही बताउँछन् ।

यतिबेला भने करिब २० सटर खाली रहेको उनले जानकारी दिए । टेन्डर मार्फत धेरै रकम दिनेलाई सटर भाडामा दिइने भएकाले भाडादर भने फरक–फरक हुने गरेको छ ।

प्राप्त २०८० असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २०७९/८० मा सटर भाडाबाट कुल १८ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।  अन्य आम्दानी (मुख्यतः बैंकबाट हुने ब्याज आम्दानी) ९ करोड ८५ लाख छ ।

कम्पनीको वार्षिक आम्दानी केही वर्षदेखि नै बढ्न सकेको छैन र निकट भविष्यमा पनि आम्दानी बढ्ने आधार देखिँदैन । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको सटर भाडा आम्दानी १८ करोड २२ लाख रुपैयाँ थियो ।

आव २०७९/८० मा कम्पनीले १४ करोड ७३ लाख खुद नाफा कमाएको छ । ४ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको यो आम्दानी अत्यन्त न्यून हो ।  प्रतिसेयर आम्दानी जम्मा ३ रुपैयाँ ६७ पैसा मात्रै छ । हालको मूल्यलाई आधार मान्ने हो भने मूल्य आम्दानी अनुपात  १ हजार ९११ गुणा हो ।

२०८० असार मसान्तसम्म कम्पनीको सञ्चित नाफा १ अर्ब १४ करोड ६१ लाख छ । ‘करिब १ अर्ब रुपैयाँ हामीले सेयरधनीलाई बाँड्न सक्ने स्थितिमा छौं,’ प्रबन्ध सञ्चालक शाहीले भने ।

कम्पनीले कसरी हल्लाइरहेको छ बजार ?

कम्पनीको मूल्य घटबढले नेप्से परिसूचक नै हलचल बनाउने क्षमता राखेको छ । पूँजीकृत रकम (सबै सेयरको कुल मूल्य) बढेका आधारमा नेप्से परिसूचक बढ्ने हो । पूँजीकृत रकम घट्दा नेप्से घट्ने हो ।

मंगलबार बजार बन्द हुँदा विशाल बजारको पूँजीकरण रकम (सबै सेयरको मूल्य) २ खर्ब ८१ अर्ब ३० करोड पुगेको छ । कुल पूँजीकरणमा यस कम्पनीको हिस्सा मात्रै ६.१ प्रतिशत हो । बजारको कुल पूँजीकरण ४६ खर्ब ४ अर्ब ३० करोड रहेकोमा विशाल बजार कम्पनीको मात्रै २ खर्ब ८१ अर्ब ३० करोड छ ।

सेयर बजारमा यस कम्पनीको कुल ४ करोड १ लाख कित्ता सेयर सूचीकृत छ । प्रतिकित्ता मूल्य ७ हजार १५ रुपैयाँ पुगेको छ । सूचीकृत सेयरमध्ये १.०४ प्रतिशत अर्थात् ४ लाख १८ हजार ९ सय ६७ कित्ता सेयर मात्रै सर्वसाधारण समूहको हो ।

यहीं सेयर मात्रै कारोबारमा आउँछ । बाँकी सरकारी सेयर कारोबारमा आउँदैन । बाँकी ९८.९६ प्रतिशत अर्थात् ३ करोड ९६ लाख ८१ हजार ३३ कित्ता सेयर सरकारी (संस्थापक) छ ।

कारोबारमा आएको थोरै सेयरको मूल्य बढ्दा पनि सबै सेयर (सरकारी सहित) को मूल्य बढेको मानिन्छ । त्यसकारण विशाल बजार कम्पनीको मूल्यले समग्र बजारको परिसूचक तलमाथि पार्ने क्षमता राख्छ ।

यसको अर्थ हालको अवस्थामा सबै कम्पनीको मूल्य स्थिर रहेर विशाल बजारको मूल्य मात्रै १० प्रतिशत बढ्यो भने नेप्से ०.६१ प्रतिशत बढ्छ ।

अहिलेको अवस्थामा नेप्से परिसूचक २७७५ हाराहारी रहेकाले त्यसको ०.६१ प्रतिशत भनेको १६.९ अंक हो । यसको अर्थ अरू सबै कम्पनीको मूल्य स्थिर रहँदा विशाल बजारको मूल्य १० प्रतिशत बढ्दा नेप्से परिसूचक १६.९ अंक बढ्छ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?