
काठमाडौं । भारतीय अभिनेता विक्रान्त मेसीले अभिनय करिअरबाट सन्यास लिन लागेको भन्ने हल्लाको खण्डन गरेका छन् । उनले सन्यास नभएर केही समय ब्रेक लिन लागेको प्रष्टीकरण दिएका छन् ।
भारतीय सञ्चारमाध्यम न्युज-१८ सँगको कुराकानीमा उनले मानिसले नबुझेर आफूले सन्यास लिन लागिरहेको हल्ला फैलाएकोप्रति दुःखेसो पोखे । सोमबार इन्स्टाग्राम पोस्टमार्फत उनले सन् २०२५ सम्म अभिनयबाट विश्राम लिन लागेको उल्लेख गरेका थिए ।
घोषणाको २४ घण्टाभित्र उनले यसबारे स्पष्ट पारेका छन् । उनले भने, ‘मैले भनेको कुरा मानिसले राम्ररी बुझ्न सकेनन् । म थोरै थकित छु र परिवारसँग केही दिन बिताउन चाहन्छु ।’
विक्रान्तले न्युज-१८ सँग भने– ‘म सन्यास लिइरहेको छैन । मलाई लामो विश्राम चाहिन्छ । म घरमा जाँदैछु र मेरो स्वास्थ्य पनि राम्रो छैन । मैले भनेको कुरालाई मानिसले गलत व्याख्या गरे ।’
विक्रान्तले सोमबार ब्रेकबारेको पोस्टमार्फत फिल्मकर्मी र प्रशंसकलाई स्तब्ध तुल्याएका थिए । उनले लेखेका थिए, ‘नमस्ते, पछिल्ला केही वर्ष र त्यसपछिका वर्षहरू अद्भूत छन् । निरन्तर सहयोगका लागि म तपाईंहरू सबैलाई धन्यवाद दिन्छु, तर म अगाडि बढ्दै जाँदा, मैले महसुस गरेको छु कि यो आफैंलाई सन्तुलनमा राख्ने र घर फर्कने समय हो पति, बुबा, छोरा र अभिनेताको रूपमा । २०२५ मा हामी एकअर्कालाई अन्तिम पटक भेट्नेछौं ।’
ब्रेक लिनुअघि विक्रान्तले फिल्म ‘द साबरमती रिपोर्ट’मा अभिनय गरेका थिए, जुन १५ नोभेम्बरमा रिलिज भइसकेको छ । यो फिल्म गोधरा घटना र त्यसपछिको गुजरात दंगामा आधारित छ । यसपछि आफूलाई धम्की आएको खुलासा उनले केही अन्तर्वार्तामा गरेका थिए ।
‘द साबरमती रिपोर्ट’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका क्याबिनेट सदस्यले मंगलबार हेरेका छन् । त्यसपछि मोदी र गृहमन्त्री अमित शाहले फिल्म हेर्न अन्यलाई पनि सिफारिस गरेका छन् ।
प्रतिक्रिया 4