
काठमाडौं । अभिनेता जितु नेपाल पछिल्लो समय फिल्म ‘ज्वाइँ साब’लाई लिएर व्यस्त थिए । यो फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार त गर्न सकेन तर यसमा जितुको अभिनयको प्रशंसा भयो ।
प्रशंसक फेरि पनि ठूलो पर्दामा जितुलाई हेर्न चाहन्थे । फ्यानको यो अपेक्षा पूरा हुने भएको छ । जितु आफ्नै निर्माण, निर्देशन र शीर्ष भूमिकासहित फिल्म लिएर आउने तयारीमा छन् । यो सोसल कमेडी ड्रामा फिल्मको छायांकन माघदेखि गर्ने तयारी छ ।
शंकर धितालसँग मिलेर जितु आफैंले पटकथा लेखिरहेका छन् । ‘अरुले निर्देशन गर्ने फिल्ममा आफूले यो भइदियोस्, त्यो भइदियोस् भन्ने लाग्छ । यसपटक आफैं निर्देशनमा होमिन लागेको हुँ’ अनलाइनखबरसँग जितुले भने, ‘यसपटक सामाजिक परिवेश र कमेडीलाई मिलाएर फिल्म बनाउन लागेका हौं ।’
शीर्ष भूमिकामा पनि उनी आफैं हुनेछन् । बाँकी कलाकार केही सातामा टुंग्याउने तयारी छ । जितुको आफ्नै कर्मभूमि क्रिएसनको ब्यानरमा फिल्म बन्नेछ । निर्माणमा अन्य ब्यानर पनि जोडिन सक्ने उनले बताए ।
‘ज्वाइँ साब’ लगत्तै जितु टिभी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’मा फर्किने चर्चा थियो । तर उनले टिभीको यात्रा तत्काललाई रोकेका छन् । यो फिल्म रिलिज भएपछि मात्र आफू टिभीमा फर्किने उनले बताए ।
‘ज्वाइँ साब’को असफलतबाट आफूले धेरै कुरा सिकेको उनको भनाइ छ । ‘मैले ६०० भाग जीरेखुर्सानी बनाएँ । दर्शकलाई अन्ततः चाहिने मनोरञ्जन रहेछ’ उनले भने ।
यसअघि जितुले बनाउने फिल्मको निर्देशन दिनेश डिसीले गर्ने योजना थियो । डिसी चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि त्यो प्रोजेक्ट अहिले रोकिएको छ । ‘त्यो फिल्म पनि पछि गर्छौं’ जितुले भने ।
प्रतिक्रिया 4