
काठमाडौं । प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ विहीबार नेपालमा थ्रीडी संस्करणमा रिलिज नहुने भएको छ । वितरण कम्पनीमध्येको एक डीसीएनले सबै हललाई यसबारे जानकारी दिइसकेको छ ।
‘प्राविधिक कारणवश फिल्मलाई विहिबार थ्रीडी भर्सनमा रिलिज गर्न नसकिने अवगत गराउँछौं’ डीसीएन प्रमुख अशोक शर्माले अनलाइनखबरसँग भने । शुक्रबारदेखि थ्रीडीमै आउँछ वा आउँदैन भन्ने कुरा निधो नभैसकेको उनले बताए ।
‘भारतबाट हामीलाई कन्टेन्ट तयार हुँदैछ । शुक्रबारदेखि थ्रीडीमा आउने सम्भावना रहेको खबर छ । यसबारे आजभोलीमा टुंगो लाग्ला’ शर्माले भने । अल्लु अर्जुन स्टारर फिल्म विहिबारदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउँदैछ ।
यो फिल्म विहिबारदेखि नेपालका ४२० थ्रीडी शोसहित रिलिज तयारीमा थियो । १७१ शोसहित टुडी संस्करण पनि आउँदैछ । फिल्मले कूल शो संख्या ५९१ पाएको छ जुन अहिलेसम्मकै सर्वाधिक हो ।
थ्रीडी रिलिज रोकिँदा यसको प्रभाव फिल्मको ग्रस कलेक्सन (कूल टिकट विक्री)मा देखिनेछ । निर्धारित सबै थ्रीडी र टुडी संस्करणका शोका टिकट विक्री भैसकेका छन् । टुडीभन्दा थ्रीडीको टिकट शुल्क महंगो पर्न आउँछ ।
थ्रीडी रोकिने भएपछि हलहरुले निर्धारित थ्रीडीको शोमा टुडी संस्करण देखाउने भएका छन् । थ्रीडी शुल्क दर्शकलाई फिर्ता गर्दै टुडी देखाउने हलको तयारी छ । टुडीमा हेर्न नचाहने दर्शकलाई सबै टिकट फिर्ता गर्ने हलहरुले जनाएका छन् ।
भारतमा समेत विहिबार थ्रीडी रिलिज नहुने बलिउड विश्लेषक तरण आदर्शले उल्लेख गरेका छन् । ‘पुष्पा २’ले विहिबार नेपालमा ३ करोड रुपैयाँभन्दा धेरै ग्रस कलेक्सन गर्ने प्रक्षेपण छ । यो फिल्मलाई नेपालमा ए–एट्, डीसीएन र आरआर फिल्म्स्ले किनेर ल्याएका हुन् । लगानी उठाउन पनि फिल्मले २० करोड ग्रस कमाउनुपर्छ ।
प्रतिक्रिया 4